चिनियाँको ठगीधन्दाः कल सेन्टरबाट यसरी लुटिन्थे भारतीय 

उमेश थापा

काठमाडौं

पछिल्लो समय नेपालमा चिनियाँहरुले कल सेन्टरको धन्दा जमाएका छन्। चिनियाँहरुले नेपाललाई ठगी गरेर कमाउने मुलुक बनाएका छन्।

प्रहरीले बेलाबखत त्यस्तो कल सेन्टरमा छापा मार्ने गरेको छ। काठमाडौं, बुटवललगायत मुलुकको ठूला सहरमा चिनियाँले कल सेन्टर खोलेका छन्।

कल सेन्टरमार्फत उनीहरुले भारतीयलाई 'उल्लु' बनाउँदै ठग्ने गरेका थिए। यी काममा भने चिनियाँले नेपालीलाई नै खटाउने गरेका छन्। हालसालै मात्र नेपाल प्रहरीले यस्तो गिरोह नै समातेको छ।

तिनकुनेस्थित कल सेन्टरबाट  १ चिनियाँ, २ भारतीयसहित ३६ जना नेपालीलाई गत साउन महिनाकाे ९ गते पक्राउ परेका थिए। चिनियाँहरूले 'स्काई वर्ल्ड सर्भिस' नामक कम्पनी चलाइरहेकाे बताएता पनि प्रहरीले अनुसन्धानको क्रममा उक्त कम्पनीकाे दर्ता र अन्य विवरण नभएको पाएको छ।

कल सेन्टर खोलेर लक्की ड्रमार्फत पैसा परेको भनी पैसा असुल्ने गरेको पाइएकाे छ। त्यस्तै, यिनीहरुले ब्याजमा पनि पैसा लगानी गर्थे। तिनुकुनेस्थित रहेको कल सेन्टरको शाखा देशभर नै रहेको जनाइएको छ। 

एउटै कल सेन्टरमा चिनियाँको करोडौं रुपैयाँ लगानी रहेको छ। यिनीहरुले त्यहाँबाट भारतीय नागरिकलाई रकम लगानी गर्थे। एक हजारदेखि १२ हजारसम्म ऋण दिने र छोटो समयमा तिर्न लगाउने। यिनीहरुको व्यवसाय यसरी चलेको थियो। पैसा तिर्ने अवधि कम, ब्याज भने बढी। यसरी अवैध रुपमा उनीहरुले धन्दा चलाइरहेका थिए।

नेपालीको हकमा भने सुरुमा चिनियाँ कम्पनीका सञ्चालकले अनलाइनमार्फत कर्मचारी भर्तीका लागि विज्ञापन दिन्छन्। त्यसपछि ज–जसले विज्ञापनमा चासो राख्छन् उसलाई कार्यालयमा बोलाउँछन्। सामान्य लेखपढ र कम्प्युटर चलाउन सक्नेलाई प्राथमिकतामा राख्छन्। तर, जागिर के–का लागि हो त्यो खुलाउदैनन्।

सुरुमै तलब साढे १७ हजार दिने गरिएको छ। तर, बोनस र रिर्कभरी गरेर महिनाको ३० हजारसम्म आम्दानी हुने त्यही कार्यरत एक जनाले बिएल नेपाली सेवालाई जानकारी दिए।

कार्यालयको सुरक्षाका निमित्त निवर्तमान सुरक्षाकर्मीहरुलाई खटाइएको थियो। कल सेन्टरभित्र र बाहिर निकै नै कडाइ गरिने बताइन्छ। कर्मचारीहरुलाई आफ्नो कामबारे बाहिर कुरा गर्न रोक लगाइएको थियो। कसैलाई भन्न पनि पाउँदैन थिए भने जहिले पनि त्यहाँका कर्मचारीको मोबाईल फोन र सरसामान चेकजाँच हुन्थ्यो। कल सेन्टरमा कार्यरत कर्मचारीको काम भने दिनभरि पैसा दिने र पैसा उठाउने हो। 

यसरी ठगिन्थे भारतीय नागरिक 

चिनियाँहरुले पहिला सुरुमा आफ्नो देशबाट नै यस्तो एप बनाएर नेपाल छिर्छन्। उनीहरुलाई आफ्नो देशमा यस्ता काम गर्न गाह्रो हुने भएकाले उनीहरु नेपाललाई सुरक्षित मानेका हुन्।

चिनियाँहरुले पैसा भारतीय नागरिकलाई मात्र प्रवाह गर्ने बताइएकाे छ। अरु देशका नागरिकमा भने लगानी गर्न हिच्किचाउथे। यस कम्पनीको ८२ वटा एपहरु छन्। यी एपकै प्रयोग गरेर कारोबार हुन्थ्यो। सुरुमा हामीले बैंक भौचर भरेको जसरी नै फर्म भर्न लगाइन्छ।

त्यस एपबाट पैसा लिने व्यक्तिको फर्म भर्दाभर्दै नै फोटो लिइन्छ भने आफ्नो फोनमा भएको सम्पूर्ण डिटेल पनि लिन्छन्। चिनियाँहरुले भारतीय नागरिकको डिटेल पनि खोजेर राखेका हुन्छन्। त्यसो गर्दा पैसा नफस्ने चिनियाँहरुको विश्वास छ। 

कल सेन्टरमा कार्यरत कर्मचारीकाअनुसार दिनमा करोडौं रुपैंया कारोबार हुन्थ्यो। एक कर्मचारीले भने,‘ हाम्रो काम पैसा दिने र लिने हो।’ पैसा नदिएको खण्डमा ह्वाट्स एपबाट धम्की दिने ती कर्मचारी बताउँछन्। 

कति भारतीय नागरिकले पुलिस रिर्पोट पनि देखाए तर चिनियाँ कम्पनीबाट उसको फोनमा भएको कुराकानी र भिडियो उसको आफन्तकोमा पठाएर पैसा असुल्न गरेको थियो। 

जागिरमा भएका नेपालीहरुलाई यस्ताे दुख थियाे

सुरुमा जति पनि नेपाली कामदार थियो, उनीहरु आफैँलाई के काम गर्दैछौं भनेर पनि थाहा थिएन। उनीहरु अफिस त जान्थे तर काम गर्ने ठाउँ भने अवैध धन्दा गर्ने ठाँउ थियो।

कति नेपालीहरु त जागिर पाइएको कुरामा खुसी थिए भने प्राय सबै कामदार दुखी नै थिए। किनभने दिनभरि अरु व्यक्तिसँग पैसा माग्नुका साथै सम्पूर्ण डिटेल राख्नुपथ्याे। साथै अपरिचित व्यक्तिसँग संवाद गर्नुपर्ने बाध्यता। 

आफैंले पैसा दिएको ठाँउबाट पैसा नउठेको खण्डमा आफ्नाे तलब पनि काटिन्थ्यो। त्यही कार्यरत कर्मचारीका अनुसार डर देखाएर चिनियाँहरुले उनीहरूलाई राखेका थिए। 

प्रकाशित मिति: : 2022-10-13 21:00:00

प्रतिकृया दिनुहोस्