झट्ट सुन्दा र बुझ्दा बुद्धिजीवी र बौद्धिक समान अर्थ दिने पर्यायवाची शब्दहरू हुन् भन्ने लाग्छ। केही हदसम्म यी दुवै शब्दहरूको समान अर्थ पनि छ। चिकित्सक, इन्जिनियर, वकिल, शिक्षक, अर्थशास्त्री, समाजशास्त्री, इतिहासविद् आदि विभिन्न विधाका जानकारहरूलाई समाजमा बुद्धिजीवी, विद्वान, विज्ञ, बौद्धिकजस्ता विशेषण प्रयोग गरिन्छ। हुन पनि बुद्धिजीवी र बौद्धिकहरू समाजका सबैभन्दा शिक्षित वर्ग हुन्। कुनै खास विधा वा विषयमा दुवैको विशेष दखल वा विज्ञता हुन्छ। तथापि, बुद्धिजीवी र बौद्धिकमा सारभूत भिन्नता पनि छ।
बुद्धिजीवी हुनु भनेको स्वतः बौद्धिक भएको अवस्था होइन। वौद्धिकता भनेको बुद्धि खियाउने, बुद्धि बेच्ने, बुद्धिको प्रयोगबाट विषयलाई सोच्ने, अवलोकन गर्ने, बुझ्ने र धारणा निर्माण गर्ने कलाभन्दा फरक एवं परको अवस्था हो। सूचना, तथ्यांक, अभिलेख र जानकारीको प्राप्ति, भन्डारण, विश्लेषण गरेर मात्र पनि बाैद्धिक भइँदैन। बौद्धिकता भनेको विचार, दर्शन र सिद्धान्तको निर्माण तथा विकास एवं त्यसको परीक्षण समेत हो।