पाल्पाका ३४ घर पहिरोको जोखिममा

लगातार अविरल वर्षाका कारण पाल्पाका ३४ घर जोखिममा रहेका छन्। जिल्लाका विभिन्न स्थानमा पहिरोसँगै घरहरु चर्किएर जोखिममा रहेका हुन्।

यहाँको रिब्दीकोट गाउँपालिका, बगनासकाली गाउँपालिका, निस्दी गाउँपालिका र तिनाउ गाउँपालिकाका ३४ घरहरु जोखिममा रहेका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार रिब्दीकोटका ७ घर, निस्दीका २५ घर, बगनासकालीका र तिनाउ गाउँपालिकाका एकरएक घर जोखिममा रहेका छन्। जोखिममा रहेका घरका परिवारलाई अन्यत्र स्थानान्तरण गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

घरमा रहेका सम्पूर्ण सामानहरु समेत सारिएको छ। तत्काललाई वर्षाबाट जोखिम कम गर्नका लागि केही स्थानमा प्लाष्टिकले पानी तर्काउने काम गरिएको छ। 

निस्दी गाउँपालिका–३ च्यामु्रङस्थित भित्री कच्ची सडक खण्डमा माथिबाट पहिरो खस्दा काउली–ढुङ्गनाबेसी सडक खण्ड अवरुद्ध बन्नुको साथै यहाँका २५ घरहरु जोखिममा रहेका छन्। 

च्यामु्रङ सामुदायिक भवन, लक्ष्मी देवी माविको भवन समेत पहिरोका कारण जोखिमका रहेको प्रहरीले जनाएको छ। जोखिममा रहेका घरहरु मध्ये केही कच्ची र केही पक्की रहेका छन्। 

यस्तै रिब्दीकोट गाउँपालिका–३ हार्थोकमा ५ घर जोखिममा रहेका छन्। हार्थोकका नारायण कार्कीको २ तले २ वटा पक्की घर सोही ठाउँका विष्णु पोखरेल, इन्द्र पाण्डे, र सुरज नेपालीको पक्की घर पहिरोका कारण जोखिममा रहेको प्रहरीले जनाएको छ। 

रिब्दीकोट–४ सिलाङथोकका ७३ वर्षीय गगनबहादुर खाम्चाको २ तले घरको पछाडीबाट गाह्रो भत्किन जाँदा घर जोखिममा रहेको छ। यस्तै वडा ४ कै गायकटोलका राजकुमार सुनारको घरको गाह्रो समेत भत्किन गई जोखिममा रहेको छ। 

बगनासकाली गाउँपालिका–७ दैलातुङका बलबहादुर साठीघरेको २ तले घरको गाह्रो भत्किएको छ। यहाँ मानिस र पशुचौपायालाई अन्यत्र सारिएको छ।

यस्तै तिनाउ गाउँपालिका–६, मस्यामस्थित चिदीसमा पहिरोले घर पुरिएको छ। गोविन्दकुमारी सारुको २ तले घरमा माथिबाट पहिरो खसी घर भत्किएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घर भत्किदा दुई जना घाइते समेत भएका छन्।

घरलाई पहिरोले च्याप्दा २१ वर्षीया विष्णुमाया सारु र डेढ वर्षकी आरुषी खासु घाइते भएको प्रहरीले जनाएको छ। अविरल वर्षाका कारण माथिबाट आएको पहिरोले सारुको घर पुरेको हो। घरमा सबै सुतिरहेको अवस्थामा पहिरो जाँदा दुई जना घाइते भएका हुन्।

जिल्लाको प्रहरी टोली पहिरो गएको र जोखिम रहेका घरहरुमा पुगेको र तत्काल राहतका लागि पहल गरेको बताएको छ। यहाँका स्थानीय सरकारले जोखिममा रहेका घर र पहिरो व्यवस्थापनमा विशेष योजना बनाएर काम गर्ने बताएका छन्।

प्रकाशित मिति: : 2022-10-11 20:49:00

प्रतिकृया दिनुहोस्