नेकपा (एमाले) नेता तथा मुगुका प्रतिनिधि सभा सदस्य उम्मेदवार राजु कार्कीले बाढी पहिराेबाट मुगुका विभिन्न ठाउँहरूमा भएकाे धन जनकाे क्षतिप्रति सरकारलाई ध्यानाकर्षण गराएका छन्।
निरन्तरकाे वर्षापछिकाे बाढी पहिराेले मुगुमा ठुलाे क्षति भएकाे र तत्काल राहत तथा उद्दारकाे पर्खाइमा मुगाली जनता रहेकाले त्यसप्रति चासाे दिन कार्कीले सरकारलाई आग्रह गरेका हुन्।
‘मुगुमा गएको पहिरोबाट थुप्रै जन धनको क्षति भएकाे छ, त्यसप्रति हामी दुखी छौँ। यो दुखदायी अवस्थामा मुगालीवासीहरु साँचिकै पीडा भएको छ,’ बिएल नेपाली सेवासँगकाे कुराकानीकाे क्रममा नेता कार्कीले भने, ‘यस्तो अवस्थामा सकारकाले चुनाव–चुनाव मात्रै नभनेर राहतको व्यवस्था पनि गर्नुहोस्।’
कार्कीले कार्यव्यस्तताले आफू काठमाडाैँमा रहँदा पनि मुगुकाे घटनाप्रति विशेष चासाे दिएकाे र सहयाेगकाे सरकारसँगै विभिन्न गैरसरकारी संस्थाहरूसँग समन्वय गरिरहेका कार्की बताए। ‘यो अवस्थामा हामीले काठमाडौँमा बसेर विभिन्न गैरसरकारी संस्थाहरु, दातृ निकायहरु र नेपाल सरकारका सम्बन्धित निकायसँग समन्व्य गरिरहेका छौँ,’ उनले भने।
आफ्नो पहलमा सरकारले ध्यानाकर्षण गरेकोले छिट्टै उद्दार तथा राहत उपलब्ध हुने भएकोले पीडित नागरिकहरूलाई धैर्य र सुरक्षित भएर बस्न उनले आग्रह गरे।
एक हप्तादेखिकाे निरन्तरकाे वर्षाका कारण मुगुकाे छायानाथ रारा नगरपालिका, खत्याड गाउँपालिका र साेरू गाउँपालिकामा ठुलाे क्षति भएकाे छ। आइतबार राति गएकाे पहिराेबाट छायानाथ रारा नगरपालिका– ११ सालिम गाउँका ८ जनाकाे मृत्यु भएकाे थियाे। मृत्यु हुनेमा साेही गाउँका गाैरीकला बाेहाेरा, चक्रवीर बाेहाेरा, सुस्मिता भग्री, भइजाली भग्री, वीरबहादुर भग्री, हाँजिरा भग्री, चक्क साउद र कृष्णा साउदकाे मृत्यु भएकाे थियाे।
त्यस्तै बाढी पहिराेका कारण ठुलाे मात्रामा धनबालीकाे क्षति भएकाे छ भने विभिन्न स्थानका दर्जनाैँ पुलहरूमा क्षति पुग्नुका साथै सडक खण्डहरू पनि अवरूद्ध भएका छन्।