अछाममा टिकट खोसिएका एमालेका पूर्वउपाध्यक्ष भीम रावलको पक्षमा नाराबाजी भइरहेको छ। जिल्लाबाट सर्वसम्मत सिफारिस भएका रावलको टिकट अध्यक्ष केपी शर्मा ओलीले खोसेपछि असन्तुष्ट पक्षले आज मनोनयन दर्ताका क्रममा साँफेबगरमा नाराबाजी गरेको हो।
ठुलो संख्यामा रहेका रावलनिकट कार्यकर्ताहरुले अहिले ओलीविरुद्ध नारावाजी गरिरहेका छन्। उनीहरुले ‘केपी ओली मुर्दावाद’,भीम रावल जिन्दावाद’, ‘नेकपा एमाले जिन्दावाद’ जस्ता नारा लगाएका छन्।
सो क्रममा उनीहरुले माओवादीबाट आएर एमाले उम्मेदवार बनेकालाई कालो झण्डासमेत देखाएका थिए।
जिल्लाबाट सर्वसम्मत उम्मेदवार सिफारिस भएका रावलको टिकट अध्यक्ष ओलीले खोसेपछि अछाम एमालेमा विवाद चर्किएको छ। त्यसको विरोधमा प्रदेश र जिल्ला तहका सयौँ नेता, कार्यकर्ताले एमाले परित्याग गरेको घोषणा हिजै गरेका थिए।
अछाम जिल्ला कमिटीका सचिवालय सदस्य प्रकाश शाहले पार्टी नेतृत्वको स्वेच्छाचारी प्रवृत्तिका विरुद्ध कार्यकर्ताले विरोध प्रदर्शन गरेको बताए।