तपाईंलाई कुनै आफन्तले अमेरिकाबाट लुगा, जुत्ता वा ब्याग जस्ता उपहार ल्याइदिएको छ र त्यसमा प्रसिद्ध कम्पनीको लेबल छ वा 'मेड इन यु एस ए' लेखिएको छ भन्दैमा उक्त सामान त्यो कम्पनीको आधिकारिक अर्थात ब्रान्डेड नै हो भन्ने भ्रममा नरहनुहोला। त्यो फुटपाथे पनि हुन् सक्छ। कुनै पनि ब्रान्डेड सामानमा लेबलको साथै कम्प्युटरको 'क्युआर कोड' पनि अनिवार्य हुन्छ, जसलाई स्क्यानिङ्ग गरेर त्यो सामान कहिले र कहाँ बनेको र त्यो सामानको ब्याच नम्बर कति हो भन्ने जानकारी पाइन्छ।
अमेरिकामै खरिद गरेको भए पनि त्यो सामान ब्रान्डेड नहुन सक्छ। अमेरिकाका ठुला-साना सहरमा सबैभन्दा महँगा लुगा कम्पनीहरु च्यानल, बोस, गुस्सी, डायोर, डोल्ची एन्ड गबाना र अर्मानी जस्ता कम्पनीको लोगो भएको लुगाहरु सडक किनारामा बेच्न राखिएको हुन्छ। पाठकहरुलाई जानकारी गराउन चाहन्छु कि यी माथि उल्लेखित कम्पनीका सामानहरुमा आजको मूल्यमा एक जोडी मोजाको पनि कम्तिमा तीन सय डलर पर्छ। जुन सामान पंक्तिकार जस्ता अमेरिकी सरकारले तोकेको न्युनतम ज्याला दरमा काम गर्नेहरुको कुरा छोडौँ यतैका मान्छेहरुले पनि खरिद गर्न सक्दैनन्, जसको राम्रो आय छैन।
'मेड इन यु एस ए' र 'मेड फर यु एस ए' मा पनि निकै ठुलो फरक छ। ठुला र नाम चलेका कम्पनीहरुसँग उनीहरुको नबिकेका उत्पादनहरुलाई अर्कै ब्राण्डिङ्ग गरेर बिक्री गर्ने गिब्स, मार्शल जस्ता साना व्यापारीक संस्थाहरु पनि छन्। त्यस्ता पसलहरुमा खरिद गरेको सामान कम्पनीकै ब्रान्डेड हो तर ती सामानहरु बजारमा माग नभएर वा अर्कै कारणले नबिकेर बसेका हुन्छन्।
त्यस्तै कुनै सामानमा डलर ट्री, फ्यामेली डलर वा डलर जरनल जस्ता लोगो छ भने त्यो वस्तुको मूल्य बढीमा पाँच डलर मात्र हो, जुन मूल्यले कुनै पनि नाम चलेका कम्पनीको सामान आजको समयमा खरिद गर्न पाउनु भनेको असम्भव छ। यसको साथै मेड इन भनेको अमेरिकामै बनेको र मेड फर भनेको जुन कम्पनीको लोगो छ त्यस कम्पनीको जस्तो मात्र हो।
मेड इन चाइना, भियतनाम हुँदैमा त्यो सामान नक्कली र मेड इन युस ए हुँदैमा सक्कली हुने होइन। यदि त्यो सामानमा क्युआर कोड छ भने त्यो सामान जता बने पनि सक्कली हो। एप्पल कम्पनीको आइ फोन सबै चीनमा बन्ने हो। कम लागतमा निर्माण हुने भएको कारण प्रख्यात कम्पनीहरुले आफ्नो सामान अर्ध विकसित देशहरुमा बनाउने गर्छन्। हाल लेभिज कम्पनीको जिनको लुगाहरु सबै भारतमा सिलाउने गरिन्छ। त्यस्तै चीनको विस (www.wish.com) नामक कम्पनीले बजारमा कम्तिमा एक हजार डलर पर्ने आइ फोन चालिस डलरमै बिक्री गर्छ भने त्यो सामान अमेरिकामा खरिद गर्दैमा कसरी सक्कली हुन्छ?
यो आलेख लेख्नुको मुख्य उद्देश्य पाठक वर्गलाई सत्य तथ्य जानकारी दिनको लागि र जे जोसँग सम्बन्धित छ भनेको जस्तो मात्र हो, सरोकार नभएकाहरुले उत्तेजित नहुनुहोला।