प्रदेश १ मा नेकपा (माओवादी केन्द्र)ले ८ संघीय र १७ प्रदेश निर्वाचन क्षेत्र पाएको छ। प्रदेशमा २८ संघीय र ५६ प्रदेश निर्वाचन क्षेत्र छन्। गठबन्धनबाट आफ्नो भागमा परेका अधिकांश निर्वाचन क्षेत्रमा माओवादीले उम्मेदवार टुंगो लगाएको छ।
प्रतिनिधिसभाका ८ मध्ये ६ र प्रदेशसभाका १७ मध्ये १३ जना उम्मेदवारको टुंगो लगाएको छ। प्रतिनिधिसभामा माओवादीले मोरङ ४ मा अमनलाल मोदी र ५ मा शिवकुमार मण्डललाई टिकट दिएको छ। उनीहरु २०७४ को निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका थिए।
झापा २ मा हरिकुमार राना, ताप्लेजुङमा खेलप्रसाद बुढाक्षेत्री, सुनसरी १ मा मुक्साहाङ मेन्याङ्बो, भोजपुरमा निवर्तमान सांसद सुदन किराँतीलाई उम्मेदवार बनाएको छ।
खोटाङ, सोलुखुम्बु र झापा अन्य क्षेक्षमा भने टुङ्गो लाग्न बाँकी छ।
यस्तै पाँचथरको प्रदेशसभा २ बाट इन्द्रबहादुर आङ्बो, झापा ३ (ख) बाट निवर्तमान सांसद पूर्णसिंह राजवंशी, झापा ४ (क) बाट प्रदेश सरकारका कृषिमन्त्री झलकसिंह दर्लामी, झापा ५ (ख) बाट गगन पुरीले टिकट पाएका छन्।
मोरङ १ (क) बाट कुलप्रसाद साम्बा, मोरङ २ (क) बाट गणेश उप्रेती, मोरङ ६ (क) बाट जीवन आचार्य, सुनसरी २ (क) बाट इटहरीका निवर्तमान मेयर द्वारिकलाल चौधरीले टिकट पाएका छन्। चौधरी यही हप्तामात्र एमाले त्यागेर माओवादी प्रवेश गरेका थिए।
सुनसरी ३ (क) बाट प्रदेशकी उपसभामुख सरस्वती पोखरेल, धनकुटा (ख) बाट कुशुमकुमारी श्रेष्ठ र तेह्रथुम (ख) बाट दुर्गा चापागाईले टिकट पाएको माओवादी स्रोतले जनाएको छ।