आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि आज (आइतबार) प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता हुँदैछ।
आइतबार बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म सम्बन्धित मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवार आफैँ वा उम्मेदवारका प्रतिनिधि र वारेसनामाबाट पनि मनोनयनपत्र दर्ता गर्न सकिने निर्वाचन आयोगले जनाएको छ।
निर्वाचनका लागि आयाेगले मुख्य निर्वाचन अधिकृत ७७ र निर्वाचन अधिकृतको कार्यालय ८८ स्थानमा गरी १६५ निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसकेको छ।
निर्वाचनका लागि मतदाता नामावलीमा १ करोड, ७९ लाख ८८ हजार ५७० मतदाता सङ्ख्या रहेका छन्। यसमा पुरुष मतदाताको सङ्ख्या ९१ लाख ४० हजार ८०६ र महिला मतदाताको सङ्ख्या ८८ लाख ४७ हजार ५७९ रहेका छन।
निर्वाचनका लागि देशभर १० हजार ८९२ मतदानस्थल र सोअन्तर्गत २२ हजार २२७ मतदान केन्द्र कायम गरिएको छ।