भीम रावलकाे टिकट खाेसिएपछि अछाममा खैलाबैला, सबै कमिटी राजिनामा दिने तयारीमा

फाइल तस्विर
फाइल तस्विर

नेकपा (एमाले) पूर्व उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री डा.भीम रावलको टिकट खोसिपछि उनको गृह जिल्ला अछाममा पार्टीभित्र खैलाबैला मच्चिएको छ।

अछाम क्षेत्र नं. १ बाट सर्वसम्मत सिफारिस भएका नेता रावलको टिकट खोसिएपछि एमाले अछामका पालिकादेखि जिल्ला कमिटीसम्म सामूहिक राजीनामा दिने तयारीमा जुटेका छन्।

एमाले अछामका एक जिल्ला कमिटी सदस्यकाअनुसार नेताहरुले विद्रोहको तयारी गरेका छन। उनका अनुसार एमाले क्षेत्र नम्बर १ समन्वय समिति, प्रदेश समन्वय समिति, पालिका कमिटी तथा जिल्ला कमिटी सदस्यहरुले शनिबार सामूहिक राजीनामा दिने तयारी गरेका हुन।

त्यस्तै रावलकाे टिकट खाेसिएपछि क्षेत्रीय कमिटी संयोजक प्रकाश शाहले राजीनामा दिएका छन्। शाहले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पत्र लेख्दै पदबाट राजीनामा दिएको जानकारी गराएका हुन्।

जिल्ला कमिटीबाट अछाम १ का लागि सर्वसम्मत सिफारिस भएका रावलको टिकट खोसेर एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादीबाट एमालेमा आएका आएका झपट बोहरालाई दिएका छन्।

एमाले नेता रावलले अछामबाट वि.सं. २०४८ सालदेखि नै चुनाव लड्दा आएका छन्। ०४८ सालमा चुनाव हारेका रावल ०५१ सालको मध्यावधि चुनावमा अछाम १ बाट विजयी भएका थिए। रावलले ०५६ सालको चुनावमा एमाले–माले फुटेको कारण फेरि चुनाव हारेका थिए।

त्यसपछि ०६४ को चुनावमा उनी समानुपातिकतर्फ लागेका थिए। ०७० र ०७४ को चुनावमा रावल क्षेत्र नम्बर १ बाटै दुई पटक सांसद बनेका थिए।

प्रकाशित मिति: : 2022-10-08 12:50:00

प्रतिकृया दिनुहोस्