विशेष पूजा गरी मनाइयाे १२औँ बाघ वर्ष 'नेछेन रिवो वाल्भार' महोत्सव (भिडियाे)

डिल्ली पाण्डे

बैजिबारा, डोल्पा
BreaknLinks
BreaknLinks

डोल्पाको काईके गाउँपालिका–९ ५ बैजिबारास्थित पवित्र धार्मिकस्थल तीर्थमा १२औँ बाघ वर्ष 'नेछेन रिवो वाल्भार' (दालढुङ्गो) महोत्सव सम्पन्न भएको छ।

१३औँ शताब्दीमा तिब्बतबाट आएका लामा मेलाले तपस्या गरी शक्ति प्राप्त गरेको स्थानलाई काईकेभरका बोन धर्मावलम्बीहरूले पवित्र धार्मिकस्थलका रूपमा मान्दैआएका छन्। यही धार्मिकस्थलमा प्रत्येक वर्षको भदौं पूर्णिमाका दिन मेला लाग्ने गर्दछ।

डोल्पाभरिका बोन धर्मालम्बीहरू जम्मा भएर धार्मिकस्थल तीर्थको कोरा गरी लामा मेलालाई स्मरणा गरिँदै आएको छ। लामा मेलाले शक्ति प्राप्त गरेका स्थानमा विभिन्न अभिलेखहरू छन्। लामा मेलापछि पनि यहाँ धेरै लामाहरूले तपस्यामार्फत् शक्ति प्राप्त गरेका छन्।

हरेक वर्षको भदौंं पूर्णिमाका दिन लाग्ने मेलाजस्तै यो वर्ष पनि तीर्थमा भव्य महोत्सव सम्पन्न भएको छ। १२औँ बाघ वर्षको अवसरमा यो वर्षको भदौं पूर्णिमाका दिन यहाँ भव्य महोत्सव भएको हो।
यस पवित्र धार्मिकस्थलमा बाघ वर्ष महोत्सवमा बोन धर्मका विश्वकै दोस्रो लामा गुरू मेन्री पोन्लोप रिम्पाेछे, बैजिबाराकै बार्ले रिम्पाेछेका अवतारी टुल्कु (बार्ले टुल्कु)को आगमन र बोनको प्रसिद्ध मेन्री गुम्बाबाट आएका लामा तथा आनीहरू आएका कारण पनि बैजिबारा यो वर्ष भरिभराउ भएको थियो।
भदौंं १६ गतेदेखि २३ गतेसम्म बैजिबारामा रहेको स्युछल युङडुङ गुम्बामा मेन्डुप पूजाको आयोजना गरिएको थियो।

एक सातासम्म लगातार पूजापछि भदौं २५ गते ढुटिसुको प्रवचन र वाङ थाप्ने कार्य भएको थियो। बोन धर्मका विश्वकै दोस्रो ठुलो लामा पोल्लोप रिम्पोछेको हातबाट यो वर्ष डोल्पाली बोन धर्मावलम्बीहरूले वाङ थाप्न पाएका थिए। साथमा बोर्ले टुल्कु, गुम्बाका खेल्पो निमा कुन्क्याप रिम्पोछे, भारतबाट आएका लामा तथा आनीहरू थिए।
एक सातासम्म चल्ने मेन्डुप पूजालाई एकदमै शत्तिशाली पूजाका रूपमा लिइन्छ। मेन्डुप पूजामा औषधिको पूजा गरिन्छ। यो पूजालाई बौद्ध धर्ममा निक्कै अर्थपूर्ण रूपमा हेरिन्छ। यही पूजाकै लागि पोल्याण्ड, रसिया तथा अमेरिकाबाट समेत विदेशी धर्मावलम्बीहरूको सहभागिता थियो। यो पूजामा जपेको औषधि खाँदा स्वास्थ्यलाई निकै लाभ हुने जनविश्वास छ।
त्यसैगरी, 'एक सातासम्म विश्व शान्तिको कामना, मानिसहरू दुःखबाट पार लागून् र आउने जुनीमा राम्रो कर्म पाइयोस्' भन्ने कामनाका साथ गुम्बामा एक सातासम्म लगातार पूजा गरिन्छ। 

पूजा नछुटोस् भन्नका लागि पूजामा बसेका लामा तथा आनीहरू खाना खाने बेलामा गाउँलेहरूले मन्त्र पढ्दै कोरा गरेर समेत पूजालाई निरन्तरता दिने गरिन्छ। 
भदौं २५ गते बिहान नेछे वालभरको कोरा गरी फुग्मोछेमा भेला भई साङसोल र गोङ्च्योद नाङचुम पढेर बाघ वर्ष महोत्सवको मनाइएको थियो। सोही दिन छागछल खाङमा स्थापित लामा मेल्हा स्मरण र ताक्ला स्तुपाको उद्घाटन समेत गरियो।

स्तुपा उद्घाटनसँगै कारूढुब वाङको गुप्तगण पूजा समेत गरियो। त्यसैगरी, भदौं २६ गते बिहानदेखि बेलुकीसम्म युङडुङ श्युछाल गुम्बामा लामा नाच तथा सांस्कृतिक कार्यक्रम गरी महोत्सव सम्पन्न गरिएको हो।

मेन्डुप पूजा तथा महोत्सवमा डोल्पा भरिका बोन धर्मालम्बीलगायत काईके भरिका स्थानीयको सहभागिता गरेको थियो। महोत्सवको तयारीका लागि खेम्पो घेसे निमा कुन्क्याप रिम्पोछे एक वर्षदेखि जुटेका थिए।
पूजा तथा महोत्सव अवधिभर बैजिबारावासीले एक सातासम्म पालैपालो गुम्बामै बसेर काम गरेका थिए। त्यति मात्र होइन महोत्सवमा आउने पाहुना तथा स्थानीयलाई नि:शूल्क रूपमा बसुन्जेलसम्म गाउँ तथा गुम्बामा राखिएको थियो। 
बोनका विश्वकै दोस्रो ठुलो लामा पोल्नोप रिम्पोछे, बार्ले टुल्कु आएका कारण पनि महोत्सव भव्य भएको खेम्पो घेसे निमा कुन्क्यापले बताएका छन्। बैजिबारामा यति धेरै सङ्ख्यामा विदेशी पाहुना सहभागी भएको यो नै पहिलो कार्यक्रम हो।

डोल्पाको बैजिबारा जस्तो विकट गाउँमा स्वास्थ्य, शिक्षा र गाउँलेको भलाइको लागि घेसे निमा कुन्क्यापले गरेको योगदानको कदर गर्दै पोन्लोप रिम्पोछेले सम्मान समेत गरेका छन्।

धार्मिक धरोहर पोल्पोप रिम्पोछे र (बार्ले टुल्कु)को दर्शन गराउनु र गाउँमा यति धेरै ठुलो कार्याक्रम गराउनुमा खेम्पोकै हात रहेको भन्दै गाउँलेहरूले पनि उस्तै खुसी प्रकट गरेका छन्।

प्रकाशित मिति: : 2022-10-07 16:30:00

प्रतिकृया दिनुहोस्