आधा डोल्पा देखिने थुम्को यसरी भयो तीर्थस्थल (तस्वीरहरू)

Breaknlinks
Breaknlinks

डोल्पाको बैजिबाराको थुम्को। डोल्पामा बसोबास गर्ने भुम्बहरुको पवित्र धार्मिक स्थल हो यो। यहाँ प्रत्येक वर्ष भाद्र शुक्ल पूर्णिमामा विशेष पूजा हुने गर्छ।

१३औँ शताब्दीमा तिब्बतबाट लामा मेला डोल्पाको काइके गाउँपालिकास्थित बैजिबारामा आएका थिए। तिब्बतदेखि उनी भुम्बको बस्ती खोज्दै बैजीबारा पुगेकाको जनविश्वास छ।

लामा मेलाले आधा डोल्पा देखिने बैजिबाराको थुम्कोलाई रोजे अनि उनी त्यहीँ तपस्या गरी बसेका थिए। उनले तपस्या गरेको ठाउँ नै अहिलेको तीर्थस्थल हो।

लामा मेलाभन्दा पछि पनि यहाँ दर्जनौँ शक्तिशाली लामाहरुले तपस्या गरेका थिए। त्यसैले पनि लामा मेलाले तप गरेको ठाउँलाई डोल्लामा बसोबास गर्ने भुम्बहरुले धार्मिक स्थल मान्न थाले।

लामा मेलासँगै तिब्बतबाट आएका अर्का लामा थिए– नाप्पो जाम्पा। उनी लामा मेला तपस्या बसेको ठीक पारिपट्टि सहरतारामा तपस्ता बसे। नाप्पो जाम्पा काग्यु धर्म मान्थे।

तिब्बतबाट सँगै आएपछि लामा मेला  र नाप्पो जाम्बाबीच शक्ति प्रदर्शन हुन्थ्यो। यो प्रतिस्पर्धामा सधैँ लामा मेला अघि हुन्थे। लामा मेलाको शक्ति देखेर चकित हुँदै तत्कालीन जुम्ली राजा समेत तामाको पत्रमा सुनको अक्षरले लेखेर इनाम दिएको किंवदन्ती छ।

लामा मेलालाई शक्ति देखाएर नाप्पो जाम्पाले हराउन खोजे पनि सकेनन्। लामा मेलाले शक्ति देखाएको ठाउँमा अहिले विभिन्न छापहरु छन्। यसलाई काइकेमा बसोबास गर्ने मात्र हैन, डोल्पाभरिका भुम्बले तीर्थस्थलका रुपमा मान्ने गरेका छन्।

माओवादी  सशस्त्र द्वन्द्वअघिसम्म भदौ पूर्णिमाको दिन ठूलो मेला लाग्ने गर्थ्यो तर सशस्त्र द्वन्द्वपछि दर्शनार्थी आउनै छाडे। अहिले पहिलाजस्तो मेला लाग्दैन। मेला नलागे पनि पूजा भने कायमै छ। माओवादी सशस्त्र द्वन्द्व सकिएपछि फेरि भदौ पूर्णिमाका दिन यहाँ आउनेहरु बढ्न थालेका छन्।

सदाका वर्षझैँ यो साल भाद्र पूर्णिमाका दिन पनि लामा मेला तपस्या बसेको ठाउँमा पूजा गरेर तीर्थस्थलको परिक्रमा (कोरा) गरियो। यस पटकको पूजामा बैजीबारास्थित युङडुङ स्युछल गुम्बाका खेम्पो घेसे निमा कुन्क्याप रिम्पोछेसमेत सहभागी थिए। भाद्र पूर्णिमाभन्दा दुई दिनअघिदेखि गाउँको गुम्बामा पूजा गरिएको थियो।

भदौ पूर्णिमाको बिहानै गुम्बाका खेक्पोलाई बैजीबारा गाउँ र छोरीडाँडा हुँदै लामा मेला बसेको तीर्थस्थल पुगिएको थियो। तीर्थस्थलको परिक्रमा गर्दै लामा मेला तपस्या बसेको गुफामा पुगेपछि यसरी पूजा गरिएको थियो।

पूजा सकेपछि गाँउलेहरुले सामूहिक भोज खाए र रमाइलो गरे। तीर्थको परिक्रमा गरी गुम्बा पुगेपछि खेम्पोबाट वाङ थापियो।


प्रकाशित मिति: : 2021-09-03 21:21:00

प्रतिकृया दिनुहोस्