पहेँलपुर: पहेँलो फूल, पहेँलो दृष्टि, पहेँलो संसार !

BreaknLinks
BreaknLinks

प्रोफेसरले सुनाएको मिथक 
‘इतिहासमा बाँदरका दुईटा प्रजातिको फरक-फरक राज्य हुन्छ। एउटा बार्बरी प्रजातिको र अर्को गिब्बन प्रजातिको। यी दुवै प्रजातिबीच मतभेद छ र जुनसुकै बेलामा पनि युद्धका लागि तम्तयार छन्। मतभेद के छ भने बार्बरीहरु आफ्नो राज्य युरोपका जंगलबाट विस्तार गरेर गिब्बनहरुको राज्य भएको एसियाको जंगलमा कब्जा जमाउन चाहन्छन् र उनीहरुलाई अधिनस्थ बनाएर सदाकालीन राज गर्न चाहन्छन्।

यसो हुन नदिन अथवा आफ्नो अस्तित्व जोडिएको राज्यलाई बचाउन गिब्बनहरु पनि अथक प्रयासहरु गरिरहेका छन्। तर यथार्थ के हो भने गिब्बनहरु बार्बरीहरुभन्दा निकै कमजोर छन्। यस मानेमा कि बार्बरीहरु तिर चलाउन जान्दछन्। जसकारणले गिब्बनहरु सजिलैसँग मरिरहेका छन्। यद्यपि गिब्बनहरु साहसी र निडर छन्। उनीहरु बिना हतियार नै तिर लागेका रग्ताम्मे शरीर रगडेर भएपनि प्रतिरोध गरिरहेका छन् र प्रतिशोध साँधिरहेका छन्। अन्ततः यसरी उनीहरुबीच घमासान युद्ध भइरहेको छ।

युद्ध धेरै दिन चल्छ। तर सजिलै जित प्राप्त गर्ने कुरामा आशावादी भएका बार्बरीहरु यत्रो धन, जन र हतियारको क्षति भइसक्दा पनि गिब्बनहरुलाई पराजय गर्न नसक्दा भने केही हच्किन्छन् र अर्को षड्यन्त्र रच्न थाल्छन्। षड्यन्त्रअनुरुप नै केही बार्बरीहरु बार्बरी राज्यविरुद्ध उभिन्छन्। यही निउँ बनाएर उनीहरुलाई राज्य निकाला गरिन्छ। यता ती निकाला भएका बार्बरीहरुलाई आफ्नो अनुकूल प्रयोग गरेर बार्बरी राज्यविरुद्ध लडाउने योजना गिब्बनहरुले बनाउँछन्। र उनीहरुलाई सहजै आफ्नो राज्यमा शरण दिन्छन्।

ती बार्बरीहरु विस्तारै योजना मुताबिक राज्यका विभिन्न ठाँउमा गोप्य तबरले एउटा रहस्यमय फूलका ब्यर्नालाई रोप्छन्। ती ब्यर्नाहरु समयक्रममा हुर्कँदै जान्छन्। एकदिन फक्रिन्छन् र फुल्छन्। पूर्णतया फुलिसकेपछि तिनले बडो मनमोहक सुगन्ध दिन थाल्छन्। सारा गिब्बनहरु लोभिन र लठिन थाल्छन्। यसरी लोभिँदै र लठिँदै गएका गिब्बनहरु केही समयपछि विस्तारै पहेँलिँदै गएर कुहिन्छन् र अन्ततः मर्न थाल्छन्।

यसरी गिब्बन राज्यमा एकाएक अनौठो प्रकारको महामारी फैलिन्छ। ठिक यसै मौकामा बार्बरीहरुले गिब्बन राज्यमा आक्रमण गरेर सजिलैसँग राज्य हत्याउँछन्। अनि महामारीलाई पनि छिट्टै नियन्त्रणमा लिइहाल्छन्। कसरी भन्दा त त्यो रहस्यमयी फूलको डाँठ र पातमा औषधी हुन्छ तर अचम्मलाग्दो कुरा के भने त्यो औषधि बार्बरी राज परिवारले मात्र जान्दछ। भनिन्छ, त्यो फूल र औषधी उनीहरुको पुर्खालाई प्रभुले दिएका थिए रे!

यसप्रकारले त्यो रहस्यमयी फूललाई बार्बरी राज परिवारले पुस्तान्तरण गर्दै र त्यसकै सहायताले अरुमाथि षड्यन्त्र गरेर राज्य विस्तार गर्दै आएको हुन्छ। तर यसपटक भने अनौठो भइदिन्छ। विजयको केही समयपछि बार्बरी राज परिवारमै त्यस रहस्यमयी फूललाई लिएर काटाकाट चल्छ। भनौँ न समग्र राज्य नै काटाकाटमा परिणत हुन्छ। यस्तो डामाडोल परिस्थितिमा अधिनस्थ भएका राज्यहरु धमाधम स्वतन्त्र हुँदै जान्छन् र त्यो विशाल राज्यको अन्त्य भएर जान्छ। भनिन्छ, त्यो फूल पनि त्यही राज्यसँगै विलिन भएर गयो।

पारसफूल

त्यो रहस्यमयी फूल ‘क्याला-लीली’ प्रजातिको फूल हो। जसलाई ‘पारसफूल’ भनेर नामांकित गरिएको छ। यसको पात, सुइरो, डाँठ, कन्द सबैसबै कालो हुन्छ शिवाय फूल। फूल भने पहेँलो हुन्छ। यो संसारभर जुनसुकै हावा, तापक्रम र भूगोलमा सजिलै उम्रिन सक्छ। माथि प्रोफेसरले सुनाएको मिथकमा भनिएझैं यो फूल त्यसपछि संसारमा कहिँकतै पनि भेटिएको हुँदैन। तर पटना, भारतबाट लण्डनमा पढ्न गएको बोधीलाई भने उक्त फूल आफ्नो होस्टेलको पछाडि उम्रिएको अवस्थामा भेटिन्छ। एउटा लेक्चरमा आफ्नो प्रोफेसरले सुनाएको माथिको मिथकमा भएको रहस्यमय फूल र यो भेटिएको फूल एउटै हुनसक्ने ठानेर उसले सुटुक्कै त्यो फूललाई ल्याएर पटना फर्किन्छ र केही परिमाणमा आफ्नो आलिसान हवेलीमा खेती गर्छ।

परीक्षण

पारसफूल फूल्छ। तर उसलाई शंका लाग्छ, यो त्यही मिथक फूल नै हो वा होइन भनेर। उसले परीक्षण गर्ने बारेमा सोच्छ। तुरुन्त आफ्नो नोकरलाई तीन वटा बाँदरहरु खोजेर ल्याउन अह्राउँछ। बाँदरहरु ल्याइसकेपछि एउटा खोरमा हुलिन्छ र तिनलाई दिनकै पारसफूल सुँघाइन्छ। धेरै दिन बितिसक्दा पनि तिनमा कुनै असर नदेखिएपछि उसले आफ्नो नोकरमाथि अजमाउँछ। अहँ, नोकरमाथि पनि कुनै असर देखिँदैन। उ निरास र दिक्क हुन्छ। त्यसपछि रिसमा ती तीन वटा बाँदरलाई गोली हानेर हत्या गरिदिन्छ र आफ्नो प्रोफेसरलाई भेट्न लण्डन रवाना हुन्छ।

पारसमणि

पहेँलो फूलभित्र तोरीका आकारका दानाहरु हुन्छन्। जसलाई पारसमणि भनिएको छ। जब ती दानाहरु स्प्याडिक्समा चेपेर फुटाइन्छ, त्यसबाट एउटा मनमोहक सुगन्ध उत्पन्न हुन्छ। अथवा एउटा घातक टक्सिन उत्पन्न हुन्छ, जसलाई सुँघेपछि त्यो फोक्सोबाट रगतमा मिसिन्छ र त्यसले सिधै कलेजो, पित्तथैली र नलीहाडभित्रको बोनम्यारोमा आक्रमण गर्छ। माथि मिथकका गिब्बनहरु झैं जसले यसलाई सुँघ्छ, त्यो पहेँलिन्छ। जब उसको प्रोफेसरले यो सब बताउँछ, उ बल्ल बुझ्छ किन बाँदरहरुमा अथवा नोकरमा असर गरिरहेको थिएन भनेर।

केही समयपछि उ फेरि पटना फर्किन्छ। आएर उ आफ्नो हवेलीभित्र गुपचुप रुपमा भइरहेको पारसफूलको खेतीलाई अझ बढाउँछ। पारसमणि निकालेर भण्डारण गर्छ र गुपचुपमै पारसमणि लण्डन पठाउने काम गर्छ। सातौँ वर्षसम्म उसले यो प्रक्रिया बडो सावधानिपूर्वक गरिरहेको हुन्छ। तर वरपरका छिमेकीहरुलाई विस्तारै भनक लाग्दै जान्छ कि हवेलीभित्र कुनै नयाँ फूलको खेती हुँदै छ भनेर। दिनानुदिन विरोधका स्वरहरु सुनिँदै जान्छन्। धेरै माहोल बिग्रनु पहिले नै उसले सारा खेती नष्ट गर्छ। अनि यस्तो अवस्थामा अब के गर्ने? भनेर लण्डनमा रहेको आफ्नो प्रोफेसरलाई पत्र पठाउँछ।

पारस रोग

केही समयपछि प्रोफेसरले उताबाट पत्र पठाउँछ। पत्रमा प्रोफेसरले के बताउँछ भने फिल्टर चुरोटभित्र पारसमणि राख्ने र धुम्रपानको लत भएकाहरुलाई पारसमणि फुटाएर दिनकै खान दिने। अथवा एक महिनासम्म खान दिने अनि छाडिदिने। ती त्यसपछि पहेँलिँदै जान्छन्। पहेँलिएकाको आयु भने जम्माजम्मी एक सय २० दिन हुन्छ। यस अवधिमा ती पहेँलिएकाहरु निश्चितः कुहिन्छन् र मर्छन्। अर्थात त्यो पहेँलिनु नै पारस रोग हो।

पत्रमा उसले थप लेखेको हुन्छ। दोस्रो विश्वयुद्धपछि मानिसहरु निराश छन्, आक्रोशित छन्, अशान्त छन्। एकआपसमा वैरभाव छ, मनमुटाव छ, दुश्मनी छ। यस्तो अमानवीय परिस्थितिमा मानिसहरु एकअर्कासँग बदला लिन चाहन्छन्। माने हतियारले होइन, यस्तै नशालु र विशालु ड्रग्सले। शित युद्धको परिभाषा वास्तवमा यो त होइन तर यस्तै केही भएको छ भित्रभित्र। अर्थात यही पारस रोग नै पारसमणि व्यापारको लागि बलिष्ठ जग हो बोधी। पारसमणिको माग दिनको बढ्दो गतिमा छ। नयाँनयाँ कन्ट्रयाक्टरहरुसँग डिल भइरहेको छ। बस तिमी आफ्नो काममा अडिक हौ र हौसला नगुमाउ।

यसलाई पूर्णता दिँदै पत्रको अन्त्यतिर प्राफेसरले के आज्ञा दिएको हुन्छ भने सहरीया क्षेत्रभन्दा पनि जहाँ आधुनिकता, सरकार, न्याय र शिक्षा पुगिसकेको छैन अथवा जहाँ रुढिवादी र अन्धविश्वास जगडिएर बसेको छ र त्यो शताब्दीसम्म रहिरहने पक्का छ। त्यस्ता ग्रामिण र दुर पहाडिया इलाकातिर गएर पारसफूलको खेती गर्नु र पारसमणि जतिसक्दो धेरै यता लण्डन पठाउनु। नत्र सहरमा यसको खेती लगभग असम्भव नै छ। त्यो तिमीले भोगिसकेका पनि छौ। त्यसपछि उ तत्काल तानसेन, नेपाल आइपुग्छ।

पारस खेती

पटनामा एकजना नेपालीसँग उसको भेट हुनु, मित लगाउनु, मितको खानदान राज खानदान हुनु अनि उ मितको गाँउ घुम्ने बहाना बनाएर तानसेन आइपुग्नु, यो सब त्यही पारसफूलको सुरक्षित र गोप्य खेतीको निमित्त सम्भाव्यता अध्ययनका लागि हो भन्ने कुरामा कुनै आशंका छैन। ठाँउ एकदम ठिक ठहरिन्छ। तर ठाँउ ठिक ठहरिए पनि गाँउलेहरु ठिक ठहरिँदैनन्। यिनलाई कसरी मनाउने?  अथवा नमानेको अवस्थामा कसरी ठेगान लगाउने? अथवा ठेगान लगाएर पनि नमानेपछि कसरी गाउँ नै तहसनहस पारिदिने? आदि कुराहरु उसले पहिले नै सोचिसकेको हुन्छ।

समय आफ्नो अनुकूल हुँदा बित्तिकै आफ्नो मित बुबालाई कब्जामा लिन्छ। अनि षड्यन्त्र पूर्वक कसैलाई बोक्सीको आरोप लगाएर, कसैलाई नराम्रैसँग कुटपिट गरेर, कसैको घर जलाइदिएर, कसैको सर्वस्व हरण गरिदिएर अथवा भनौँ यस्ता कुनै न कुनै कुकर्मद्वारा गाउँलेहरुलाई गाउँबाट निकाला गराउने प्रयास गर्छ। केही हदसम्म सक्षम पनि हुन्छ। तर सोचे जस्तो गरेर भने मानिसहरु गाउँ छाडेर जाँदैनन्।

त्यसपछि अवस्था आफ्नो प्रतिकुल हुने छनक पाएर उसले आफ्नो मित परिवारको बडो चलाखी साथ सामूहिक नरसंहार गरिदन्छ। मित परिवार अर्थात त्यो गाउँको राज खानदान। राज खानदानकै हत्या गरिदिँदा पनि गाउँ नरित्तिएपछि उ झन् अवाक हुन्छ। त्यसपछि भुतको त्रास छर्छ। भुतको त्रासले पनि गाउँ सम्पूर्णतया नरितिएपछि उसले अन्तिम चाल चल्छ। त्यो के भने पारस रोग।

गाउँलेहरु भकाभक पारस रोग लागेर मर्न थाल्छन्। मरिसकेकाहरुले मरेर गाउँ रित्ताउँछन्। बाँचेका ती भयात्तुर गाउँलेहरुले भने मृत्युको भयले भागेर गाउँ रित्ताउछन्। अन्ततः उ यसरी आफ्नो योजनामा सफल हुन्छ। तर गाउँ रित्तिएको केही दिनमै खै किन पो उ पटना पर्किन्छ।

पारसचक्की

पटना पुगिसकेपछि प्रोफेसरको पत्र आउँछ। पत्रअनुसार उ र उसको साथी पारसमणिको बजार बनाउन पूर्वी बर्लिन गएका छन्। पश्चिम बर्लिनको कुनै गोप्य एजेन्ट हुनसक्ने सोचेर ती दुवै जनालाई त्यहाँ प्रकाउ गरिएको छ। दर्दनाक यातना दिएर उसको साथीलाई हिजो मात्र मारिएको छ। उ अहिले जेलमा छ, निरन्तर यातना दिइएको छ र केही दिनमा उसको पनि मरण निश्चितः छ।

आफू मर्ने लगभग पक्का भइसकेको भएर होला प्रोफेसरले पत्रको अन्तिममा पारसमणिको व्यापारलाई झन् व्यापक बनाउन र अगण्य पैसा कमाउन सकिने रिपाेर्ट तयार छ, बोधीलाई त्यो रिपाेर्ट लण्डनमा गएर लिनु भनेको छ।

बोधीले रिपाेर्ट ल्याएर आउँछ। रिपाेर्टको के निचोड हुन्छ भने पारस रोगबाट मरण पक्का छ। तर को नै पो सजिलै मर्न चाहन्छ र ! बाँच्नका लागि जोसुकैले हरसम्भव संघर्ष र प्रयास गर्छ। जति ठुलो रकम भएपनि खर्चिन तम्तयार हुन्छ। हो, ठिक यस मौकामा पारसचक्की बनाएर त्यस्ता तमाम पारस रोगीहरुलाई इच्छाइएको रकममा बेच्ने। अनि अचुक धन र शक्ति आर्जन गर्ने।

बोधीलाई यो आइडिया अधिक मन पर्छ। यसर्थ उ लगत्तै पारसचक्की बनाउने बारेमा सोच्न थाल्छ। तर उ विरोधाभाषमा अल्झिन्छ। मिथकमा भनिएअनुसार त पारसफूलको डाँठ र पातमै औषधि हुन्छ। यदि यसो हो भने बार्बरी राजपरिवार अथवा बार्बरी राज्य तहसनहस हुँदा किन अरु कसैले त्यो फूललाई अधिनमा लिएर औषधि बनाउन सकेनन्? यो अझै परको कुरा भयो, बार्बरी राजपरिवार बाहेकका बार्बरीहरुले पनि त कहिले पनि त्यस फूललाई र औषधीलाई कब्जामा पार्न सकेनन्, आखिर किन? त्यहाँ केही न केही चिज छ, जसले त्यो मिथक फूल सर्वदा बार्बरी राजपरिवारकै मात्र हुनसक्यो। त्यो के चिज हो? 

गम्दै जाँदा त्यसको रहस्य उसले फेला पार्छ। उ आफ्नो ल्याबमा जान्छ र एउटा प्रयोग गर्छ। कस्तो भने डाँठ र पातको मिश्रित धुलोमा औषधिको निम्ति चाहिने आफ्ना रगतका थोपाहरुलाई मिश्रण गराउँछ। र एउटा गरिब परिवारमा परिक्षण गर्छ। उ सफल हुन्छ। अर्थात उसकै रगतमा निहित रहेछ औषधि। कसरी त भन्दा होस्टेलको पछाडि जहाँ पारसफूल उम्रिएको थियो, त्यहाँ उसले केही दिन अगाडि उसको शरीरमा रगत खाएर टाँसिएको एउटा अजिवको फौजी किरालाई मिल्काइ दिएको हुन्छ। त्यही फौजी किरो कुहिएर उसमाथि उक्त पारसफूल उम्रिएको हुन्छ। अर्थात उसले यो पनि बुझ्यो, कसरी बार्बरी राजपरिवारमा मात्र सिमित भएको थियो त्यो मिथक फूल र औषधि। यो अप्रत्यासित सफलतापछि उसको अचुक पैसा कमाउने र सारा संसार आफ्नो कब्जामा राख्ने सपना लगभग पुरा भएझैँ हुन्छ।

त्यसपछि उसले महिलाहरुलाई कैद बनाउँदै, तिनबाट बच्चा जन्माउँदै, अनि ती बच्चाबाट रगत निकाल्दै, निकालेर जतिसक्दो अधिक पारसचक्की बनाउँदै बजारमा बेच्ने काम गर्छ। ती कैद गरिएका महिला र तिनबाट जन्मिएका बच्चाहरु यति धेरै हुन्छन् कि उसले एउटा छुट्टै भूमिगत संसारको निर्माण गरिदिन्छ। उता गाउँगाउँमा गएर पारसफूलको गोप्य तबरले खेती भइ नै रहेको छ। सरकारी भण्डारण गृहलाई अनेक दाउपेजमा कब्जामा लिएर पारसमणिको भण्डारण पनि भइ नै रहेको छ।

अहँ, संसारलाई कहिले पनि पत्तो हुँदैन। उसको मुनि एउटा पहेँलपुर संसार निर्माण भइसकेको छ भनेर- पारसफूलको, पारसमणिको, पारसरोगको र पारसचक्कीको।

पहेँलपुर

पहेँलपुर साम्राज्यका विभिन्न तहमा एजेन्टहरु अर्थात सिपाहीहरु छन्। तिनले उपल्लो तहबाट ट्रागेट पाउँछन्। ती आफ्नो ट्रागेटलाई एक महिनासम्म पारसमणि फिल्टर चुरोटको माध्यमबाट खुवाउँछन्। पहेलो रोगको सिकार बनाउँछन्। अनि पारसचक्की महङ्गो रकममा बेच्छन्। फेरि यो पारस रोग यस्तो रोग हो,  पारसचक्की सधै नखाएपछि एक महिना २० दिनभित्र मरिहाल्ने पक्का छ।

त्यसकारणले पारसरोगीले बाँच्नका लागि पारसचक्की लिनैपर्ने हुन्छ। पारसचक्की सस्तो भए पनि एक कुरा हुन्थ्यो। यति महङ्गो हुन्छ कि एउटा चक्कीको मात्रै लाखौं पर्ने हुन्छ। अनि मानिस कति दिनसम्म किनिरहन सक्छ र! यसर्थ उसलाई पहेँलपुर सिपाही नभइ धर नै हुँदैन। किनभने सिपाही भएपछि उसले नि:शुल्क पारसचक्की र केही सेवासुविधा पाउने व्यवस्था हुन्छ।

यत्ति भए त ठिकै हो। तर कुरा के भने तपाईं सिपाही भएपछि ट्रागेट तपाईंको बा पनि पर्न सक्छन्, तपाईंकी आमा पनि पर्न सक्छिन् अर्थात घरकै सदस्यमध्ये जो कोही पर्न सक्छन् या तपाईंकै कोही आफन्त या साथी या प्रेमी पनि पर्न सक्छन्। अथवा अपरिचित अरु नै कोही पनि पर्न सक्छ। भनौँ न एकचोटी पारस रोग लाग्यो भने पारसचक्कीको आशमा हरेक क्षण पहेँलिएर र साथै ट्रागेटको सम्भावित अनुहारबाट सदा भयात्तुर भएर एकसाथ बाँच्न विवश हुनुपर्छ- पहेँलपुरमा।

पर्दा
हामी कतै पारस रोगको सिकार त भएका छैनौँ? हामी पक्का आफ्ना र अरुकालाई पारस रोगको सिकार र सिपाही त बनाइरहेका त छैनौँ? सोचौँ।

हामी जेमा नराम्रैसँग अल्झिएका छौँ के त्यो पारसमणि होइन? अल्झिएर जुन किसिमको थकथकी महशुस गरिरहेछौं मानस र मनमा, के त्यो पारस रोग होइन? र जेमा अल्झिएका छौं त्यसमै सबलाई अल्झाउन र थकथकाउन जसरी हामी उद्धत छौँ, के यो नै हामी पहेँलपुर सिपाही हुनु होइन? सोचौं।

निकै सोचौँ। यदि हो भने अविलम्ब च्याताैं पहेँलपुर दुनियाँको पहेँलो पर्दा र त्यहाँ लगाउ मानवताको प्रेमिल पर्दा।

पखर्नु होस् एकैछिन,
भर्खरै मात्र बजारमा एउटा हल्ला फिँजिएको छ। त्यो के भने अब पारसमणि मध्यपानमा मिसाएर पनि सेवन गर्न सकिने छ। यसको मतलब भविष्यमा पानीमा अथवा यस्ता अनेक पेय पदार्थहरुमा पनि मिसाउन सकिने छ र सेवन गराउन सकिने छ।

पर्दा फेरि 
यो त अत्ति हो र भो। पर्दा च्यात्न अब पटक्कै ढिला गर्नुहुँदैन। पहेँलो पर्दा बस च्यातिहाल्नु पर्छ। च्यार्र...।

प्रकाशित मिति: : 2022-09-26 22:10:00

प्रतिकृया दिनुहोस्