जुम्लाकाे सबैभन्दा ठुलाे ताल गिडीदह (फाेटाे फिचर)

जुम्लाको सबैभन्दा ठुलाे ताल गिडीदह प्रचारप्रसारका लागि आयाेजित सम्मेलन सफल भएकाे छ।

समुद्री सतहदेखि तीन हजार चार सय ८२ मिटर उचाइमा अवस्थित गिडीदह तातोपानी गाउँपालिका–४ काे पाटनमा अवस्थित छ।

पहाडै पहाडको खोँचमा रहेको ताल हिमाली भेगमा पाइने कोणधारी जंगलले ढाकिएको छ। जुन कर्णालीका सुन्दर प्राकृतिक तालहरुमध्ये एक मानिन्छ भने जुम्लाका धेरै प्राकृतिकतालहरु भन्दा ठुलाे छ।

यो तालसम्म पुग्ने सडक तथा पदमार्ग नहुँदा अपेक्षाकृत रुपमा प्रचारप्रसार हुन नसकेको तातोपानी गाउँपालिका-४ का वडाअध्यक्ष अमर राेकायाले बताए।

'सिकारी, घाेडा र भेडा पालक किसान, जडिबुटी काेर्नहरुले सदियाैं अघिदेखि ताल देखेका भएपनि आम मान्छेहरु तालकाे सुन्दरता हेर्न गएका थिएनन्,' उनले भने, 'पर्यटकीय तालसम्म पहिलोपटक स्थानीय सरकारको टोली लिएर प्रचार थालेका छाैं।'

गिडीदह प्रचारका लागि तालमै सरकारी टोली पुगेर सम्मेलन गरेको यो पहिलोपटक हो। पर्यटन प्रवर्द्धन र प्रचारप्रसारका लागि असोज ४, ५ र ६ गते पर्यटन सम्मेलन गरिएकाे हाे।

तातोपानी गाउँपालिका-४ देखि फुलचाउँले पाटनसम्म माेटरबाटाे पुगाउने र त्यहाँबाट तालसम्म ट्रेकिङ रुट पुर्याएर ताललाई पर्यटकीय स्थल बनाउने याेजना रहेकाे गाउँपालिका अध्यक्ष नन्दप्रसाद चाैलागाईंलाई बताए।

'गिडीदह हाम्राे अमूल्य सम्पत्ति हाे। यसकाे प्रचारप्रसारका लागि हामीले सकेकाे लगानी हामी गर्छाैं र नसकेकाे प्रदेश संघमा पहल गर्छाैं,' उनले भने, 'अब कुनैपनि हालतमा गिडीदहसम्म स्वदेशी र विदेशी पर्यटकहरु पुग्ने वातावरण बनाउनेछाैं।'

स्थानीय तहको दोस्रो निर्वाचनबाट नयाँ जनप्रतिनिधि आएपछि तातोपानी-४ मा अवस्थित गिडीदहमा वडाका प्रतिनिधिसहित गाउँपालिकाको समग्र टोली पुगेको हो।

प्रकाशित मिति: : 2022-09-24 16:54:00

प्रतिकृया दिनुहोस्