राप्रपाबाहेकको गठबन्धनमा पनि झापा-५ मा ओलीलाई चुनौती, यस्तो छ तथ्यांक

File Photo
File Photo

आसन्न मसिंर ४ गते हुने तय भएको निर्वाचनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफैंलाई चुनाव जित्न चुनौती देखिएको छ।

अध्यक्ष ओलीको निर्वाचन क्षेत्र झापा-५ मा रहेका पालिकाहरुमा भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा पालिका प्रमुखमा एमाले इतरले पाएको कुल मतभन्दा एमालेले पाएको मत कम्ती रहेकाले ओलीलाई चुनाव जित्न कठिन पर्ने आंकलन सुरु भएको छ।

यो क्षेत्रअन्तर्गतका चार पालिकामध्ये एउटा गौरादह नगरपालिकाबाहेक अन्य पालिकामा एमालेले गएको निर्वाचनमा नेतृत्व गुमाइसकेको छ। दमक, गौरादह , कमल र गौरीगञ्ज गरी चारवटै पालिकाको प्रमुखमा एमालेले पाएको कूल मत ४२ हजार ७ सय ९८ छ भने यिनै पालिकामा एमाले इतरमा रहेको कांग्रेस, माओवादी र राप्रपाले पाएको मत ४७ हजार ५ सय ६६ रहेको छ।

पालिका प्रमुखमा एमाले गठबन्धनभन्दा करिब ५ हजार मतले पछाडि छ भने यो तथ्याकंमा दमकमा एमाले इतरमा कांग्रेस, माओवादी र राप्रपासमेतले पाएको मत मात्रै समावेश छ। गौरादहमा कांग्रेस, माओवादी र जसपाले मात्रै पाएको मत समावेश छ।

त्यस्तै कमलमा कांग्रेस, माओवादीसहित पाँच दलीय गठबन्धनले पाएको मत समावेश छ तर राप्रपाले पाएको मत यसमा समावेश छैन। राप्रपाले ७ सय ८२ मत पाएको थियो।

त्यसैगरी गौरादहमा राप्रपाले १ हजार ५ सय ९० मत पाएको थियो। गौरीगञ्जमा गठबन्धनरहित चुनाव भएको थियो। जहाँ कांग्रेसले ५ हजार ६ सय ८९ मत ल्याएर अध्यक्ष पदमा जितेको थियो। सो पालिकामा एमालेले ३ हजार ३ सय ३० ल्याएर दोश्रो र राप्रपा ३ हजार ३ सय ७ ल्याएर तेस्रो भएका थिए भने माओवादी केन्द्र चौथो भएको थियो।

यो क्षेत्रमा पर्ने कमल गाउँपालिकामा एमाले र गठबन्धनका उम्मेदवारबीच सबैभन्दा बढी अर्थात ३ हजार २ सय १५ मतान्तर रहेको थियो। यी पालिकाहरुमा भएको निर्वाचनको परिणामलाई केलाउँदा आसन्न निर्वाचनमा एमालेका ओली भर्सेस अन्य राप्रपासहितको गठबन्धन हुने हो भने ओली १० हजार मतले पछि पर्ने संकेत देखिन्छ। राप्रपा मात्रै अलग रहने र दमकको उपप्रमुखमा कांग्रेसले पाएको मतलाई आधार मानेर जाने हो भने एमाले र राप्रपाबाहेकको मोर्चाबन्दीमा समेत गठबन्धन माथि पर्ने तथ्याकंले देखाएको छ।

देशभर राप्रपासंग आसन्न चुनावमा एमालेले सहकार्य गर्न सक्ने आंकलन भइरहे पनि यो क्षेत्रका राप्रपाका नेताहरु भर्खरै एमालेका उम्मेदवारसंग आमनेसामने भएर चुनाव लडेका कारण कार्यकर्ता र राप्रपाका मतदाताहरु एमालेसंगको दुरीमा छन्। उनीहरु कांग्रेससहितको गठबन्धनमा प्रत्यक्ष संलग्न नरहेपनि यो क्षेत्रमा गठबन्धनका उम्मेदवारविरुद्ध एमालेसंग तालमेल गरेर जान सक्ने सम्भावना नरहेको राप्रपाका स्थानीय नेता कार्यकर्ताहरुको बुझाइ छ।

प्रकाशित मिति: : 2022-09-21 15:20:00

प्रतिकृया दिनुहोस्