श्राद्ध गरौं तर बा–आमाको अपमान नगरौं!

BreaknLinks
BreaknLinks

श्रद्धा भनेको एक प्रकारले पितृहरूको सम्झना नै हो। आफ्ना पितृहरूलाई सम्झिनै पर्छ। हामी कुनैपनि जातजाति र भाषाभाषीका हौं तर पहिलो हामी मानिस हौं। मानिस भनेको यो चराचर जगतमा सबै प्राणीभन्दा चेतनशील, सुवेकशील प्राणी हो। हामी सबैका जिजु बाजेहरू अवश्य पनि थिए।

जिजु बाजेको सम्झनामा हामीहरू चिन्तित हुनुपर्छ, उनीहरूले दिएको समाजमा आ-आफ्ना पूर्वजहरूको योगदानलाई सम्झिने राम्रो कार्यलाई अंगाल्ने, नराम्रो कामको विरोध गर्ने र आफूभन्दा तलका आ-आफ्ना सन्ततीहरूलाई सिकाउने, सम्झाउने काम गर्नु हामी सबैको कर्तव्य हो र हुन्छ।

तर के हाम्रो समाजले त्यो गर्दै आएको छ त? हामी आफैँले त्यो कामलाई औपचारिकता दिएर पन्छिने गर्दछौं। कसैका पनि कुल-कुलानीले वा कुनैपनि देवी-देवताले कुनै जीवको बलि माग्दैन, मदिरा भांग-धतुरा माग्दैन। यो मानिसहरूको बीचमा कथित मानवहरूले रचेको परम्परा नै हो।

दारी कपाल खाैरिएर एकदिन पितृत्वको नाउँमा कुनै बाहुनलाई खिर खुवाएर वा दान दिएर आफ्नो जिम्मेवारी पुरा हुँन सक्दैन। श्रद्धाको नाममा भ्रमको खेती, कुरीतिको जगेर्ना गर्दै आफैँले आफ्ना छोराछोरीलाई भ्रमित गर्दै आएका हुन्छौं।

अहिले हामी आफैँलाई आफ्ना जिजु बाजेको नाम थाहा छैन। उनीहरूले गरेको काम, समाजलाई दिएको योगदान के थाहा होला? कुनै पनि व्यक्तिमा केही न केही प्रतिभा अवस्य पनि हुन्छ। कैयौंले राम्रा कामहरू पनि गरेका होलान्, कैयौं नराम्रा काम गरे होलान्। खै त उनीहरूले पोखेको प्रतिभा? मात्र श्रद्धाको नाउमा बाहुन बोलाएर एकछिन पुस्तक बढेर स्वाहा गर्दा पुग्छ त? निश्चित रूपमा पुग्दैन। यसो भन्दा मैले कसैको आस्थालाई ठेस पुर्याउन खोजेको होइन, श्रद्धा गर्न हुँदैन भनेको पनि होइन। बरू हामीहरूले उनीहरूको गुण र बैगुणलाई पनि छानेर उनीहरूले समाजलाई दिएको गुणलाई सम्हालेर राखौं, त्यसको विकास गरौं। संरक्षण गरौं र बल्ल हामीले गरेको श्रद्धा सार्थक हुन्छ।

कसैलाई दान दिएर वा शुद्ध घ्यूका पिण्ड बाटाेमा पल्टाएर श्रद्धा सार्थक हुँदैन, त्यसको लागि उनीहरूले दिएको राम्रो शिक्षालाई आर्जन गर्नुपर्ने हुन्छ।

जिवित छँदा आ-आफ्नो बाआमाको कदर नगर्ने, उनीहरूको सम्मान नगर्ने, औषधि उपचार नै नगर्ने मदिरा सेवन गरेर कुटपिटसमेत गर्ने अनि मरेपछि उनीहरूको नाममा दिएको दान एउटा समाजमा दिएको भ्रमको खेती मात्र हो।

सकिन्छ भने आ-आफ्ना बाआमालाई जिवित छँदै आफ्नो मिठो बोलीले सम्मान गरौं र स्याहारसुसार गरौँ। हाम्रा तमाम देवपितृहरूको रिकाड राखौं। आखिर हामीलाई हाम्रो पुर्खाको बारेमा अवस्य पनि जानकारी हुनैपर्छ।

अहिलेको पुस्तालाई आफ्नो जिजु बाजेको नाम थाहा छैन, बरू फिल्मी दुनियाँको बारेमा थुप्रै जानकारी छ तर आफ्नो अभिभावकको बारेमा कसैलाई थाहा छैन। यसका केही कारणहरू पनि अवस्य होलान्, त्यो छुट्टै चिरफारको विषय हो।

मेरो भनाइ त मात्र मरेपछि गरिने यो अनावश्यक खर्चले बरू जिवित छँदै स्याहारसुसार गरौं भन्ने नै हो। समाजमा थुप्रै भ्रम छर्नेहरूको कमी छैन। त्यस्ता पाखण्डीहरूसँग पनि आफूलाई जोगाउँ।

मरेपछि गरिने काम भनेको पितृहरूको सम्मान र संरक्षण नै हो। त्यो आफू सक्दो श्राद्ध गरेर उनीहरूलाई सम्झिनुपर्छ तर यो भ्रमबाट पनि मुक्त हुनुपर्छ। हामीहरूले कुनै पाखण्डी पुरोहितलाई दिएको दानदक्षिणा मरेका पितृहरूलाई मिल्छ भन्ने गलत विचारको प्रचार भने नहोस्।

उनीहरूलाई त मिल्दैन तर आ-आफ्नो मनको शान्तिको लागि असहाय गरीबहरूका बालबालिकाहरूलाई कापी, कलम दिएर, कसैको एक महिनाको फि तिरिदिएर पनि पितृहरूको सम्झना गर्न सकिन्छ। यो फाल्तुमा गरिने खर्च कुनै असहाय व्यक्तिको उपचारमा गरिन्छ भने त्यो झन धार्मिक काम हो।

यदि हाम्रो नियत कुरीतिलाई पन्छाउने छ भने हामीले गर्दै आएका थुप्रै गलत विचारलाई विस्तारै आफैले पन्छाउँदै जानुपर्छ।कामकठिन छ आजको समाजले पचाउँन सक्ने छैन तरपनि यो वास्तबिकता हो भन्ने मलाई लाग्छ।

वास्तवमै अहिलेको यो वैज्ञानिक युगमा आफ्नो अभिभावकलाई सम्झिने धेरै प्रकारका माध्यम हुन सक्छन्, कसैले आफ्ना पितृहरूको सालिक बनाएर सझिएका हुन्छन्, कसैकसैले वृक्ष रोपेर मनाएका हुन्छन्। कसैले अक्षकोष खडा गरेका हुन्छन्, विद्यालयमा उत्तीर्ण हुनेहरूलाई थप सहयोग पुराएका हुन्छन्। कसैकसैले रोगीहरूको उपचार गरेका हुन्छन्। हामीले पुरानै प्रकारको बुजुर्आ कुरीतीहरूलाई मलजल दिनुभन्दा नयाँ प्रकारले आफ्ना बाउबाजेलाई सम्झिन प्रयत्न गर्दा अझै राम्रो हुन्छ भन्ने मलाई लाग्छ।

हाम्रो विचारमा अझैपनि कुनै पण्डितलाई दान गर्ने वा पुरोहितलाई बोलाएर गरेको काजले पितृ खुसी हुन्छन् भन्ने लाग्छ। त्यही विचारले हाम्रो दिमाखमा घर जमाएको छ, हामीले दारी कपाल खाैरिने अनि एउटा बाहुनलाई बोलाएर ओपचारिकता पुरा गर्दै आएका छौं।

पुराना सबै खाले शास्त्र त खराब हुँदैनन्, तर कतिपय अहिलेको समाजमा कामै नलाग्ने र बढी खर्चिला पनि पाखण्डिहरूले बनाइ दिन्छन्।

एउटा छोराले आफ्नो बाआमाहरू जिवित छँदा उनीहरूको सेवा गर्न सकिनँ, उनीहरूको चाहना जानेर वा अन्जानमा पुरा गर्न सकिनँ, आर्थिकको अभावमा पनि पुरा गर्न सकिनँ भन्दै उनीहरू मरिसकेपछि आफ्नो घर बारी धितो राखेर भएपनि उसले काजक्रिया  गर्छ। त्यो मात्रै होइन प्रत्यक वर्षमा श्रद्धा गर्छ। उसलाई छट्टु पुरोहित भेट्टियो उसले भन्छ, 'हेर केटा आज राति सपनामा तेरो बालाई भेटाएँ मैले, त्यो विचरा खाली खुट्टा हिंड्याथ्यो। यो जाडोमा नाङ्गै थियो।' त्यो सोझो विचरा आफ्नो बाउ मरेपछिको त्यो दुःख देखेर जसरी भएपनि दान गर्नलाई ब्याजे ऋण लिएर त्यो पुरोहितलाई दान गर्छ। यो क्रम चलिरहन्छ, उसकाे सम्पत्ति नसकिँदासम्म। यस्ता पाखण्डीहरू पनि हाम्रै समाजभित्र छन्। विचरा सोझा अशिक्षितहरूलाई पूर्व जन्म स्वर्ग र नर्कका कथा सुनाएर आफूले उनीमाथि रजाइँ गर्नेहरूको पनि कमी छैन।

यो चराचर जगतमा सबै जीवजन्तुहरू निश्चित समयमा मरेर जाने हो। कुनै पनि जीवजन्तुहरूले आफ्नो मृत्युसँगै लिएर आएको हुन्छ। अजम्बरी कुनै पनि छैन, हुँदैन। हामी सबै मर्ने नै हौं तर कम्तिमा आ-आफ्ना बालबच्चाहरूलाई त सही के हो, गलत के हो सिकाएर जाउँ।

बरू समाजमा फैलिएको जातीय छुवाछुत गलत हो, हाम्रो समाज पनि शिक्षित हुनुपर्छ। मानिस-मानिसको बीचमा कुनै विभेद हुनु हुँदैन भन्नेबारे सचेत गराएर यो धर्तीबाट जाउँ। जाँदा जाँदै पनि कैयौंले राम्रो काम गरेका हुन्छन्।

मानिस मर्छ, मानिसले नै त्यो लाशलाई पोलेर खरानी पार्छ अनि त्यही खरानीसँग त्यही मानिस डराएको हुन्छ। आखिर यस्तो प्रकारको अनौठो मानव मगज हिजोको समाजले बनाइ दिएको छ।

एउटा मान्छेले छोएको पानी नखाने यस्तो मनस्थिती बनाइ दिएका छन्। के यस्तो ठीक हो त? यदि होइन जस्तो लाग्छ भने हामीले त्यसको विरोध गर्नैपर्छ। नियम कानुनलाई व्यवहारमा उतार्ने पनि यही समाज हो। जब हामीले कुरीतीलाई पन्छाउने प्रयास गर्दैनौं, त्यो बेलासम्म खरानीको डर रहिरहन्छ समाजमा।

प्रकाशित मिति: : 2022-09-22 13:58:00

प्रतिकृया दिनुहोस्