आश्विन सङ्क्रान्ति अर्थात् बूढी पोल्ने पर्व

BreaknLinks
BreaknLinks

बाटोमा कतै टर्चलाइटहरू टल्किरहेका हुन्छन् भने कतै गाउँ नै उज्यालो गर्ने गरी दनदनी बलिरहेको आँगोका लप्का देखिन्छन्। आश्विन १ गते राति सुदूरपश्चिमको ग्रामीण भूगोलमा चारैतिरका गाउँको छेउछाउतिर देखिने दृश्य हो त्यो। त्यो दृश्यले सजिलै अनुमान गर्न सकिन्छ सुदूरपश्चिमको बूढी पोल्ने पर्वका बारे।
संस्कृति र पर्यटकीय गन्तव्यका हिसाबले सुदूरपश्चिम निकै नै समृद्ध क्षेत्रका रुपमा चिनिन्छ। जहाँ बाह्रै महिना केही न केही चाडपर्व परेकै हुन्छन्। अक्सर ठूला पर्वहरू फुर्सदको समयमा तोकिएका छन्। कामकाजको चाप नभएका फुर्सदिला महिनाहरूमा मनोरञ्जनका लागि तय गरिएका हुनुपर्छ हाम्रा कैयाैँ चाडपर्वहरू।

अहिले मनोरञ्जनका साधनहरू धेरै नै भित्र्याइसक्यो प्रविधिले। एक्लै रमाउन र समय व्यतित गर्ने गरिरहेका छन् अहिलेका मान्छे। त्यो समय अहिलेको जस्तो थिएन। केही फुर्सदिलो पनि थियो। पूर्वजका पालामा खेतीपातीको काम सकिएपछिको समयलाई उपयोग गर्न तय गरिए हाम्रा कैयौं चाडपर्वहरू।

अर्मपर्म, ऐँचोपैँचोेदेखि लिएर सामाजिक कार्यमा सरिकहुने खालका कैयाैँ कार्यहरू हुन्थे उतिबेला। हरेक क्षण जरुरत परिरहन्थ्यो छिमेकीको। त्यसैले त कहावत पनि बन्यो जिउँदाको जन्ती, मरेको मलामी। अर्थात् बिहे गर्दा जन्ती जान र मर्दा मलामी बन्नसमेत छिमेकीकै जरुरत पर्दछ।

पछिल्लो समयमा भौतिकवादी दुनियाँमा जताततै पैसाकै जरुरत देखिन्छ। पैसाले नै जन्ती र मलामीसमेत जम्मा गर्न थालेका छन् मान्छेहरू। उहिले नैतिकताकता, स्वाभिमान र इमान्दारीका पाटा निकै मजवुत थिए। सामाजिक सद्भाव र भाइचारा उस्तै थियो। माानवीय संवेदनाको पक्ष निकै नै प्रवल थियो। हाम्रा पुर्खाहरू आफ्नै मूल्य मान्यताभित्र, तिनै संस्कृतिका पाटा सजाएर अभावमा पनि आनन्दको जिन्दगी बिताउँथे।

पुर्खाका पालामा हरेक महिनाका सङ्क्रान्तिहरू एक प्रकारका पर्व जस्तै मानिन्थे। हरेक सङ्क्रान्तिमा बिहान सबेरै उठेर नुहाएर बास उठाल्ने भन्थे। बास उठाल्नु भनेको तेलमा पक्वान पकाउनु हो। यी पक्वानमा बढीजसो पुरी, सेल र चामलको पिठो मुछेर ध्यूमा पकाउने गरिन्थ्यो। जसलाई शैया भनिन्छ। यसरी पकाएको पक्वान देवता र पितृको भाग छुट्याइसकेपछि मात्र खाने गरिन्थ्यो।
प्रायजसो भाद्र अन्तिमतिर फलिसकेका हुन्थे काँक्रा। तर त्यो फल्ने क्रम सुरुवातिकै क्रम हुन्थ्यो। थिएन अहिलेको जस्तो आधुनिक पद्धति कृषि क्षेत्रमा पनि। त्यसैले गर्दा जसको बारीमा काँक्रा फलेका छन्, त्यही चोर्न जान्थे केटाकेटीहरू।  तिनै स-साना काँक्रा लगेर जाने चलन थियो बूढी पोल्न जाँदा। त्यो चलन आज पनि छ। फरक यत्ति हो हिजोआज काँक्रा जुनसुकै मौसममा पनि पाइन्छन्। काँक्राको अभाव छैन।

गाउँघरतिर अँगेनामा आगो सल्काउन होस् वा रातको समय बाहिर कतै निस्किँदा नै किन नहोस् दियालोको प्रयोग गरिन्थ्यो। थिएनन् अहिलेका जस्ता टर्च लाइटहरू। आश्विन सङ्क्रान्तिका दिन काँस, अम्रेसो, पुत्लेठी, खनय जस्ता पाँच प्रजातिका बिरुवा वा तिनका हाँगा काटेर ल्याउँछन् र चुल्ठी बनाउँछन्। ती वनस्पति ठाउँअनुसार केही फरक पनि छन्।

सबै जिल्लामा सबै गाउँमा उस्तै खालका हुँदैनन्। यसरी बनाइएको चुल्ठीले गोठका उनाकुनामा झाडो लगाएझैँ गर्छन्। जसलाई बूढी लखेट्ने पनि भनिन्छ। गोठबाट लखेट्ने बूढी भनेको रोगब्याध हो। झाडो लगाएका ती चुल्ठीमध्ये केही दोबाटोमा फाल्ने र केही बूढी बनाएको थुप्रोमा फालेर जलाउने गरिन्छ। यसरी झाडो लगाएपछि गाईबस्तुलाई रोग लाग्दैन भन्ने मान्यता सदियौंदेखि चल्दै आएको छ। पहिले त्यही घाँसले बेरेको राँको हातहातमा लिएर निस्किन्थे बूढी पोल्न। अहिले राँको बोकेर जाने चलन हराउँदै गएको छ। राँकोका विकल्प टर्चलाइट बनेका छन्।

भाद्र सङ्क्रान्ति अर्थात् ओल्के पर्वका दिन स-सानो रुख वा रुखको ठुलो हाँगा काटेर वा बासको लिङ्गो बनाएर गाउँदेखि अलिपर दोबाटोको छेउमा वा अन्यत्र कतै गाड्ने चलन छ। लिङ्गोको वरिपरि ससाना हाँगाबिगा र झारपात थुपार्ने गरिन्छ। उक्त स्थान हरेक वर्ष एउटै हुन्छ। परिवर्तन हुँदैन। उक्त लिङ्गो ठड्याएको ठाउँमा प्रत्यक दिन गोठालाहरू रुखका हाँगा काट्दै थप्ने गर्ने गर्छन्। बढी जनसंख्या भएको गाउँको बूढीको अकृति निकै ठूलो र अग्लो देखिन्छ। यसरी एक महिनासम्म थुपार्दै जान्छन् रुखका हाँगाबिगा, पातपतिङ्गर  र अन्य वनस्पति।
कथा भन्छ –द्वापर युगमा कंशले आफ्ना भन्जा भगवान कृष्णलाई मार्न पुतना नामकी राक्षसनीलाई पठाएका थिए। राक्षसनी पुतनाले आफ्नो स्तनको टुप्पोमा बिषलेपन गरी भगवान कृष्ण एक्लै भएको मौका छोपी मार्ने हेतुले दूध पिलाउन लाग्दा कृष्णले पुतनाको सारा दूध मात्र नभई अन्तमा रगतसमेत चुसेपछि पुतनाले देहत्याग गरिन्। तिनै पुतनालाई जलाउन विजयोत्सव गरियो। यही खुसीयालीमा सुदूरपश्चिमका पहाडी जिलामा बूढी पोल्ने चलन चलेको जनविश्वास रहेको छ। कतैकतै यो पर्वलाई बुन्ढुनी पर्व पनि भनिन्छ।

साँझ अँध्यारो भैसकेपछि अर्थात आकाशमा तारा देखापरेपछि मात्र हातमा राँको लिएर निस्कन्छन् गाउँका केटाकेटी, युवायुवतीहरू र बूढीको आकृतिरुपी पुतला दहन गर्ने गर्दछन्। यसरी दहन गरिसकेपछि पुरै जल्न नसकेको बीचको लिङ्गो उखालेर फाल्छन्। यसरी लिङ्गो फाल्दा कसैले फलाना गाउँका मुखिया मेरो लुतो लैजा भनेर स्वरमा स्वर मिलाउँदै कराउँछन्। लुतो लैजान भनेर  गाउँका ठूलाबडा मानिएका हैकमवादी प्रवृतिका व्यक्तिलाई सम्बोधन गरिन्छ। यसरी भन्दा आफ्नो गाउँका ठालु हैकमवादीलाई नभनेर अर्को गाउँकालाई सम्बोधन गर्ने गरेको पाइन्छ। यसलाई मनन गर्दा आफ्नै गाउँकालाई भन्न त्यति सजिलो नभएपछि त्यो आक्रोश अर्कोतिर पोख्न थालिएको हुनुपर्छ।

उसो त एक गाउँका मान्छेले अर्का गाउँकाप्रति आक्रोश व्यक्त गरे जस्तो पनि देखिन्छ। गाउँका ठालुको अतिवादी शैलीको विरोध पनि हो उक्त आवाज। फलाना ठालु, मुखिया, डिठ्ठा...लुतो लैजाऊ भनेर भन्नु थिचोमिचो, अन्याय, अत्याचार अर्थात् खराब कर्मको जिम्मा लेऊ भन्न खोजिएको जस्तो पनि देखिन्छ।

तर, अपवादका रुपमा कुनैकुनै गाउँमा फलानो गाउँको कामी मेरो लुतो लैजाऊ भनेको पनि सुनिन्छ। तर ती कामी जातिका मान्छेलाई किन भन्न थाले यो अध्ययन अनुसन्धानकै पाटो बनेको छ। बूढी पोल्दा पूर्णरुपले जल्न नसकेका वा जल्न बाँकी दाउरा घरमा लगेमा लुतो रोग लाग्छ भन्ने जनविश्वास पनि रहँदै आएको छ। बूढी पोलेको खरानी लगेर गाईलाई लगाउने चलन पनि छ।

समग्रमा भन्नुपर्दा हाम्रा चाडपर्वले दिने मुख्य सन्देशसँगै मनोरञ्जनको पाटो निकै नै बलशाली देखिन्छ। बूढी पोल्ने दिन पनि बूढीको पुतला जलाइसकेपछि केही समय डेउडा खेल खेलेर मनोरञ्जन गर्छन्। घरमा मिष्ठान्न पक्वान पकाउँछन्। हातहातमा लगेको काँक्रो निकै नै उमङ्गका साथ बाँडिचुँडी खाने गर्दछन्।

पौराणिक कथालाई नै अनुसरण गरेर तय गरिएका छन् हाम्रा केही चाडपर्वहरू। स्थान विशेष केही थपघट हुनु अर्कै कुरा हो। आसुरी प्रवृतिलाई दैवीय शक्तिले सिध्याउँछ र सत्यको नै विजय हुन्छ भन्ने आशयले बूढी पोल्ने पर्वको सुरुवात गरिएको कुरा सजिलै अनुमान गर्न सकिन्छ। असल कर्मलाई प्रोत्साहन गर्ने हेतुले तय गरिएका हाम्रा संस्कृतिका पाटाहरूले जीवनमा खुसी उमङ्ग थप्नुका साथै केही नैतिकताको पाठ पनि सिक्न अभिप्रेरित गरिरहेका देखिन्छन्। तर, त्यसैभित्र केही विकृति अथवा खराब पक्ष पनि नभएका हैनन्। ती विकृतिलाई हटाउँदै संस्कृतिको जोगेर्ना गर्नु आवश्यक देखिन्छ।

प्रकाशित मिति: : 2022-09-17 08:20:00

प्रतिकृया दिनुहोस्