विदेश जाँदा देश र शहर छिर्दा गाउँ फर्कन्छु जस्तो लाग्नु अनौठो होइन। बाध्यता र विवशताले थातथलो छाडेर हिंड्नेहरूलाई पनि जीवनको कुनै मोडमा आफ्नै ठाउँ फर्कूं जस्तो नलाग्ने पनि होइन। तर, धेरैलाई एक पटक हिंडिसकेको बाटो फेरि फर्कन रमाइलो लाग्दैन।
संसारमा थोरै मान्छे छन् जसले गाउँको विषयमा चिन्ता गर्छन् र गाउँ बुझ्न खोज्छन्। प्रकृति र वातावरणका चिन्ता गर्छन्। दक्षिणएशियामा गाउँ र गाउँलेको चिन्ता गर्ने, त्यसका लागि योजना बनाउने र कार्यान्वयन गर्ने काम महात्मा गान्धी र जेसी कुमारप्पाले गरे। नेपालका सन्दर्भमा व्यवहारमा हेर्न नपाए पनि बोली र विचारमा गाउँको विकासको वकालत गर्दै ठूला ठूला भौतिक संरचना र पश्चिमी देशहरूमा भइरहेको विकासको नक्कल गर्ने प्रवृत्तिको विरोध गर्ने काम बीपी कोइरालाले मात्र गरे।
अर्थशास्त्रीय दृष्टिकोणले ‘बजार’ले हाम्रा सामाजिक, सांस्कृतिक सम्बन्धहरू निर्धारण गर्दै गएको र सबैतिर बजार हावी हुँदै जाँदा देखापर्ने असरका विषयमा कार्ल पोलानीले व्याख्या गरे।