बेलायतकी महारानी एलिजावेथ द्वितीयाको ९६ वर्षको उमेरमा निधन भएको छ । बबिङ्घम राजदरवारको स्रोतलाई उल्लेख गर्दै बीबीसीले यो समाचार ब्रेक गरेको हो ।
स्टकल्याण्डस्थित महारानीको दरवार बालमोरल क्यासलमा उनको निधन भएको हो ।
महारानीका चारैजना सन्तान र नाति विलियम्स बालमोरल क्यासल पुगिसकेको बताइएको छ । अमेरिका प्रवासमा रहेका नाति ह्यारी पनि त्यसतर्फ लागिसकेको बताइएको छ ।
महारानी एलिजावेथ द्वितीयाले बेलायतमा ७० वर्ष शासन गरेकी थिइन् । उनी बेलायतमा मात्र हैन, आधुनिक विश्वमै यति लामो शासन गर्ने महारानी हुन् ।
सात दशक लामो शासनकालमा उनले बेलायतका १५ प्रधानमन्त्रीलाई सपथग्रहण गराएकी थिइन् । उनको शासनकालमा बेलायती राजपरिवारमा अनेक सुख, दु:खका द्घटना भए । त्यसमा पनि युवराज्ञी डायनाको निधन र राजकुमार ह्यारीले राजपरिवार त्यागेका दुई घटना उनको जीवनका सबैभन्दा अप्रिय घटना हुन् भन्दा फरक पर्दैन ।
महारानी एलिजावेथ द्वितीयाको निधनसँगै बेलायती शासनको मात्र हैन, विश्व राजनीतिलाई नै प्रभाव पार्ने ब्रिटिस् साम्राज्यको पनि एक युगको अन्त भएको छ ।