आयोजना अलपत्र पारेर ठेकेदार सम्पर्कविहीन, काम अघि बढाउन पहल गरिदिन स्थानीयकाे आग्रह

ठेकेदारले योजना अलपत्र पारेर सम्पर्कविहीन भएपछि तानसेन नगरपालिका-१० का स्थानीयले वडा कार्यालयलाई आयोजनाको कामलाई अघि बढाउन आवश्यक पहल गरिदिन आग्रह गरेका छन्।

स्थानीयले लामो समयदेखि आयोजनाको काम अलपत्र हुँदा सास्ती बेहोर्नु परेको र वडाकै गरिमामा आँच आएको भन्दै लिखित रुपमै आयोजाको काम सुचारु हुने व्यवस्था मिलाउन अनुरोध गरेका हुन्।

प्रदेश सरकारको समपुरक कोषमार्फत तानसेन नगरपालिका-५ र १० मा कार्यान्यन हुने गरी सेतीपोखरी, गणशाल, बृन्दावन मोटरबाटो स्तरोन्नतीको आयोजना परेको थियो। सो योजनाको जम्मा ४८ लाखमा उदय कन्ट्रक्सन एण्ड ईन्जिनियरीङ्ग कन्शल्टेन्सीले ठेक्का सम्झौता गरेको थियो।

ठेकेदार कम्पनीले सम्झौता गरी काम सुरु पनि गरेको र काम गर्दै जाँदा बजेट अपुग भएको भन्दै सम्पर्कविहीन भएको उपभोक्ताले बताएका छन्।

स्थानीयले र वडा कार्यालयले पटकपटक सम्पर्क गर्ने प्रयास गरे पनि सम्पर्क हुन नसकेको वडा अध्यक्ष हिमलाल पंगेनीले बताए।

आयोजनाको काम सम्पन्न नहुँदा वडाकै विकासमा समस्या भएको पंगेनीको भनाइ छ। उनले नगरपालिकामा पटकपटक आयोजनाको कामलाई अघी बढाउन पहल गरिदिन आग्रह गरे पनि सुनुवाइ नभएको बताए।

ठेकेदार कम्पनीका प्रमुख मनिष उदयलाई धेरै पटक सम्पर्क गर्ने प्रयास भएको भएपनि उनी सम्पर्कमा नआएको वडा कार्यालयले जनाएको छ।

सम्झौता बमोजिम ठेकेदार कम्पनीले नाली बनाउने, तारजाली लगाउने, लेबल मिलाउने, माटो भर्ने कामका लागी ठेक्का हात पारेको थियो। आफैँले काम गर्न सक्छु भनेर आधा रकममा सम्झौता गरेको र पछि रकम अपुग भयो भन्दै ठेकेदार भाग्नु गैरजिम्मेवारी काम भएको वडाध्यक्ष पंगेनीले बताए।

यता उक्त क्षेत्रका स्थानीयले भने बाटोको काम पुरा नहुँदा असहज भएको बताएका छन्। स्थानीय भवानी पंगेनीले बाटोको काम सम्पन्न नहुँदा बर्षायाममा हिँड्नै मुस्किल हुने गरेको बताए।

साना सवारी साधन चिप्लिएर लडने तथा हलुका चार पांग्रे सवारीसमेत वर्षाको समयमा वारपार हुन कठिन हुने गरेको उनको भनाइ छ।

यता प्रदेश सरकारको बजेटअन्तर्गतको काम भएकोले आफूहरुले कार्वाहीको काम गर्न नमिल्ने भएकोले नगरपालिकालाई अनुरोध गरिएको वडा कार्यालयले जनाएको छ।

प्रकाशित मिति: : 2022-09-04 10:37:00

प्रतिकृया दिनुहोस्