समयको सीमितता र गतिशीलताको गहिरो बोध अहिले आएर गम्भीर पूर्वक बुझ्दै छु तर पूर्ण रुपमा भने हाेइन। सायद यो समयको सन्दर्भले आवश्यकता अनुरुप बुझाउँदै जानेछ भन्ने महसुस गर्दै जीवनलाई हेर्दै आजभन्दा दशकअघिको समयलाई सम्झिँदैछु। जुन सम्भवत: कुशे औँसी अर्थात बुवाको मुख हेर्ने दिन थियो।
गाउँ-घरको प्रचलन र प्रथाअनुरूप सामान्य किसिमले कुशेँ औँसी पर्व मनाउने क्रममा मेरो परमपिता पूजनीय बुवाले समयको चाल बुझ्नुपर्छ। यदि बुझ्न नसके जीवन दुश्चक्रमा जाने पक्का हुन्छ। जति पनि महान मानवहरु यस धर्तीमा उदाएका छन्, उनीहरुको प्राप्तिको पछाडि बलियो आधार र कारण भनेकै समय चक्र र नियमलाई गहिरो तबरले बोध गर्नु नै हो।
यति कुराकानी पश्चात बुवाले मलाई माया भावमा पुन: कुराकानीकै शैलीमा मैले भनेका कुरा बुझेको हो भन्ने प्रश्न गर्नुभयो मैले नबुझेको संकेत गर्दै टाउको हल्लाएँ। अहिले तिमी बुझ्दैनौँ एकदिन समयले बुझाउनेछ तर बुझ्न भने सधैँ खोजिरहनु, बुझाउन भने कोही आउने छैन भन्दै औँसी पर्वको अन्य पर्वीय अभ्यास गर्न थाल्नुभयो। म भने बुवाको सुझावरुपी सन्देश बुझ्न अनेक पटक काेसिस गरेँ तर अपरिपक्क बाल मस्तिष्कले कुनै मूल्यांकन गर्न सकेन।
समयक्रमसंगै दिनहरु बिते, समयरुपी बुवाको बचन अर्थात सुझाव जे भनेपनि समयसंगै यादको स्मृतिबाट हराउन थाल्यो। म भने आफ्नै दुनियामा दिनहरु बिताउँदै थिएँ।
वि.सं.२०७९ भाद्र ६ गतेका दिन मेरो एकेडेमिक स्तरको परीक्षा मितिका लागि भित्तामा टाँसेको नेपाली क्यालेण्डर हेदै थिएँ, प्रथम हेराइ भाद्र ११ गतेमा गयो जहाँ बुवाको मुख हेर्ने दिन अर्थात कुशे औँसी पर्व भनी अर्ध रातो अंक र अक्षरमा लेखिएको थियो। सोही हेराइ पश्चात: एकाएक मेरो स्मृतिमा दशकअघिको कुशे औँसी अनि बुवासंग गरेको संवाद निरन्तर दोहोरिन थाल्यो।
कुनै पनि आयम र अवयवबाट बुझेको थिएन तर आज अकस्मात समयको चक्रसंग सम्बन्धित कुराकानीको चुरोलाई गहिरो तबरले बुझाइ भएको महसुस हुन थाल्यो। सायद समय आएपछि बुझ्नेछौ भन्नुभएकाे बुवाको भनाइको तात्पर्य सोही समय आज नै रहेछ भन्ने पुष्टि भयो। साथै अर्काे कुरा जति पनि हाम्रा स्मृतिहरु स्मरणमा नभए पनि सञ्चित भएर संरक्षण हुने अनुकूल समयमा सम्झनामा आउने कुराको सूचित सोही घटनाले बुझायो।
अब दशकअघि बुवाले दिएको सन्देश आज कसरी मलाई शिक्षाका रुपमा बोध भयो भन्ने सारको सुक्ष्म चर्चा गर्न चाहन्छु। वास्तमा उहाँले दिनुभएको सन्देश, सूचना, सुझाव एवं सल्लाह नभइ समष्टिगत रुपान्तरण र वास्तविक भित्रको मुलमर्म तथा प्राकृतिक विश्व सत्यतालाई आफ्नो सन्तानसमक्ष दीक्षाका रुपमा शैक्षिक दान दिनुभएको मैले अहिले पाएँ।
जुन अभिव्यक्ति मेरा लागि दिनुभयो त्यो समयको पहिचान, मूल्यांकन र सामर्थ्यतालाई बुझाउन खोज्नुभएको रहेछ। विश्वमा जति पनि महान कर्मका कृतिहरु छन्, जसले अदृश्य गतिशील समयको शक्ति र सम्भावानालाई बुझेर आफ्नो पहिचानको प्रवर्द्धन गर्न सक्छन् भन्ने उदारण थियो।
हुनत धेरैलाई लाग्न सक्छ बुवा-छोराबीच भएको सामान्य पारिवारिक संवादलाई गम्भीर भएर अर्थ लगाउन आवश्यकता छैन भन्ने भावनाकाे विकास हुन सक्छ र हुनुपर्छ पनि। हो यो सामान्य पारिवारिक संवाद नै हो। तर यसले दिन खोजेको शिक्षा र सन्देशलाई बुझ्न जरुरी छ।
एउटा व्याक्तिले आफ्नो जीवनकालमा समयको सान्दर्भिकता र सक्षमता बुझ्न सकेन भने अन्तत: आधारभुतदेखि बृहत आवश्यकता र अनिवार्यताबाट अलग हुनुपर्ने कुरा निश्चित छ। त्यसैगरी प्रचलित समयको प्रणालीलाई प्रतिकुल हुनबाट रोकी अनुकूलता बनाउन सकेमा मानव जीवन र जगतमा सर्वोत्कृष्ट जीवन बाँचिरहन्छ।
तसर्थ मेरो जीवनमा घटित वास्तविक स्मृतिले जागृत गर्न खोजको मर्म जीवनमा अनेक अन्तरसम्बन्धित परिदृश्यहरु प्रवेश गर्ने गर्दछन्, जसलाई दृश्य र दृष्टान्त ठान्नुभन्दा त्यसले दिन खोजको दिव्यतालाई बुझ्न खोज्नु् बुद्धिमता हुन्छ।
आजभोलि प्राय बालकदेखि वृद्धसम्म आफ्नो अधिकांश समय अनुत्पादन क्षेत्रमा लगानी गरेको देखिन्छ। फेसबुक, टिकटक जस्ता प्रचलित सामाजिक सञ्जालमा लामो समय बिताएको देख्दा शारीरिक, मानसिक र आर्थिक रुपमा असक्षम हुँदै गएको पत्तै नपाएको देखिन्छ। मेरो मतलब सामाजिक सञ्जाललाई गलत भनेर परिभाषित गर्न खोजेको पनि होइन। मात्र बुझ्नै पर्ने पक्ष सामाजिक सञ्जाल के हो, यसको विकास कुन प्रयोजनका लागि भएको हो र यसलाई कसरी आफ्नो अनुकूल प्रचलनमा ल्याउने भन्ने विषयमाथि गहिरो चेत हुन आवश्यक छ भन्ने सन्देश दिन खोजेको हो।
साथै जीवनका हरेक गतिविधिलाई सञ्जालमा सार्वजनिक गर्नुभन्दा उपयुक्त सन्देशमूलक जानकारीहरु पोष्ट गर्ने समयको बचत गरी कसरी आफूकेद्रित समयको सुदृढिकरण गर्ने भन्ने विषयमा गम्भीर ज्ञान हुन अनिवार्य भइसकेको छ। जोड्नै पर्ने कुरा हामीले जीवनमा मनोरञ्जनबाहेक अरु अन्त ध्यान दिन छोडिसक्यौँ। मात्र जीवन मोज र भोजमा समर्पित गरेको देखिन्छ, यो निकै दुखद अवस्था हो।
आफूसंगै अन्य व्यक्तिलाई ज्ञान, विज्ञान, अध्ययन, अनुसन्धान मानव जीवनको सार्थकता, समयको औचित्यता बुझ्ने र बुझाउने प्रयास र प्रणालीको प्रवर्द्धन गर्नुपर्ने साटो टिकटक जस्ता सञ्जालमा जबर्जस्त प्रतिभा र क्षमता नझल्किने गतिविधि सार्वजनिक गरेर आफूलाई पृथक देखाउने दौडमा समय समाप्तीको स्वदण्ड र मनोरञ्जनले आफूलाई नराम्राेसंग खियाउँदै लगेको कुरालाई जतिसक्दो चाडो बुझ्नुपर्छ। याे कुरा बुझ्न सकेमा स्वकल्याणसंगै समाज र विश्व विकासको बाटोमा समय जाने छ, होइन भने विश्व नै गलततर्फ जाने खतराको अतिरिक्त समय संकेत भइसकेको परिप्रेक्षमा समयको उच्च सदुपयोग त्यो सक्षमता र सबलताको लागि हुनेछ।
जो जसले आफ्ना अग्रज पिताजीका हरेक गतिविधि र जानकारीलाई मात्र सामान्य स्थितिमा स्विकार्नुभन्दा प्राप्त सन्देशले कुन किसिमको शिक्षा बाकेको छ भनेर बुझ्ने तयारी मात्र गर्नुभयो भने जसरी मेरा लागि बुवाको सामान्य जानकारीले मेरो जीवन, बुझाइ र समयप्रतिको सोचाइमा परिवर्तन ल्याएजस्तै तपाईंको जीवनले सार्थकता र सम्पूर्णता पाउने छ।
समयको निरन्तरतासंगै आफ्नो नियन्त्रणलाई ध्यान दिन सकेमा र तपाईंको घरपरिवार, बुवा-छोराबीच अनेक रितले कुराकानी, सल्लाह, सुझाव पक्कै पनि हुने गर्छन्। उत्त गतिविधिको गम्भीरतालाई बुझेर बलवान नागरिक बन्नुहोस्। मात्र कुराकानीलाई कुराकानीका रुपमा स्वीकार नगरी दिन खोजेको र बोकेको विज्ञान र विधालाई बुझ्न सकेमा तपाईंहरुको बुवाको असली आदर, सम्मान र नमन हुनेछ, होइन भने आडम्बरी संसारमा तपाईं पनि रस नभएको सुन्तला मात्र हुनुहनेछ। शरीर त हुनेछ, तर जीवनको रस हुने छैन।