हिजो रोल्पाबाट आमाले फोन गर्दै भन्नुभयो, ‘बाबु सन्चै छस् तँ!’ आमाको कुरा सुनेर मैले भने, ‘आरामै छु आमा, मेरो कुनै चिन्ता नलिनु है।’ उहाँले फेरि भन्नुभयो, ‘बाआमालाई सन्तानको पीर नलागेर कसको लाग्छ त? त्यसैमाथि तँ त हाम्रो एक्लो छोरो होस्। हाम्रो जीउने साहरा होस्।। त्यसैले तँ आफ्नो राम्रोसँग ख्याल राख है।’
म रोल्पाबाट काठमाडौं आएको दुई वर्ष भयो। तर पनि किन हो मेरा बाआमा मेरो साह्रै चिन्ता गरिरहनुहुन्छ, मानौँ कि काठमाडौं मेरो लागि नोलौ सहर हो।
आजभन्दा दुई वर्षअघि दिएको ‘एसईई’ को परीक्षामा राम्रो अकं ल्याएर उत्तीर्ण गरेँ। त्यसैले मेरा बाआमाले मलाई पढ्नका लागि काठमाडौं पठाउनुभयो।
मलाई अझै याद छ, म काठमाडौं आएको त्यो दिन। जुनबेला मेरा बाआमा मलाई अगाँलो हालेर रूनुभएको थियो। अनि म पनि उहाँहरूलाई देखेर निकै भावुक भएको थिएँ।
मलाई बाआमाबाट टाढिएर बस्ने मन थिएन तर मेलै पढाइलाई पनि त निरन्तरता दिनु थियो।
बाआमासँग बिदा मागेर गाउँ छाडे्र काठमाडौं आउँदै गर्दा मेरा आँखा रसाइरहेका थिए, गाउँमा बिताएका मिठा ती यादहरू सम्झिएर।
घरको कान्छो र एक्लो छोरो भएकाले मलाई बाआमाले पुलपुलाएर हुर्काउनुभयो। मेरो हरेक इच्छा पूरा गरिदिनुभयो। मलाई कुनै चिजको कमी हुन दिनु भएन।
मेरा सबै माग पूरा गर्ने बाआमालाई म सोध्ने गथेँ, ‘तपाईहरूले मैले भनेको सबै कुरा किन मान्नुहुन्छ? अरूको बाआमाले त मान्दैन त, किन?’ मेरो कुरा सुनेर बाआमाले भन्नुहुन्थ्यो, ‘हामी तिमीलाई धेरै माया गछौँ बाबु! तिम्रो जन्म भएपछि हामी धेरै खुसी भयौँ।’ मेरी एउटी दिदी हुनुहुन्छ, जसले आफूलाई भन्दा धेरै मलाई नै माया गर्नुहुन्छ।
घरमा मैले पाएको माया देखेर मसँगै गुच्चा खेल्ने साथीहरूले समेत भन्ने गथे, ‘रविन तँलाई तेरो बाआमाले धेरै माया गर्नुहुन्छ है। तैँले भनेको सबै कुरा पनि मान्नुहुन्छ।’ उनीहरूको कुरा सुनेर मैले पनि ‘शान’ देखाएर भन्ने गर्थे, ‘म धेरै भाग्यमानी छु!’
छ वर्षको उमेरमा बुबाले मलाई नजिकैको विद्यालयमा भर्ना गरिदिनुभयो। पहिलो पटक स्कुल जाँदा मसँग धेरै साथीहरू मिल्ने थाले। कारण थियो, मेरो मिजासिलो स्वभाव।
भलै, म सानो थिएँ तर ठूलोलाई सम्मान र सानोलाई माया गर्नु मेरो बानी थियो। त्यसैले त मलाई सबै धेरै माया गर्नुहुन्थ्यो।
स्कुलको साथीहरूसँग बसेर खाजा खानु र उनीहरूसँग जङगल पसेर जिब्रो लठ्याउने जङ्गली फल खानु त मेरो दिनचर्या नै बनिसकेको थियो।
साथीहरूसँग दिनभरि खेलेर लुगा मैलो बनाएर घर जाँदा समेत आमाले केही भन्नु हुँदैन थियो। बरू मलाई सम्झाउँदै आमाले भन्नहुन्थ्यो, ‘साथीहरूसँग झगडा नगरी खेल्नु है।’ आमाले मलाई भन्नुभएको त्यो शब्द हिजो झैँ लाग्छ। तर दशक बढी बितिसकेछ।
बाल्यकालका ती दिनहरू सम्झँदा मलाई फेरि त्यही बालक बन्न मन लाग्छ। जुनबेला मेरो मनमा न डर थियो न त कुनै चिन्ता नै।
आजभोलि जब मेरो मनभित्र सहन नसक्ने पीर हुन्छ। तब म मेरो बाल्यकाललाई सम्झेर रून थाल्छु अनि त्यही समयमा जान खोज्छु। तर अफसोच कहाँ आउँछ र फर्केर मेरो त्यो बालपनको उमेर।