अंग्रेज सेनालाई पराजित गरेको दिनको सम्झनामा पाल्पामा भगवती जात्रा मनाइँदै 

गोर्खालीले अंग्रेजलाई युद्धमा हराएको सम्झनामा पाल्पामा आज वीरताको प्रतिकको रूपमा सिन्दुर जात्रा गरी भगवती रथयात्रा मनाइँदैछ।

पाल्पाली प्रशासकको रूपमा रहेका कर्णेल उजिर सिंह थापाको नेतृत्वमा नेपालले वि.सं १८७१–०७२ मा बुटवलको जीतगढीमा अंग्रेजसँंग भएको युद्धमा विजय हासिल गरेको थियो। यही सम्झनामा वि.सं १८७७ देखि प्रत्येक वर्ष पाल्पामा विजय उत्सव मनाउन थालिएको हो।

बुटवल क्षेत्रलाई अंग्रेजको हातमा पर्न नदिन कर्णेल उजिर सिंह थापाले युद्धमा विजयी भएमा भगवतीको मन्दिर बनाई सिन्दुरजात्रा गर्ने भाकल गरेका थिए।

दुई पटकसम्म बुटवल जितगढी क्षेत्रमा भएको युद्धमा विजयी भएपछि कर्णेल उजिरसिंह थापाले १८७२ देखी १९७६ सम्म मन्दिर निर्माण गरी भगवती जात्रा मनाउन थालिएको बताइन्छ।

विजय उत्सव प्रत्येक वर्ष भाद्र कृष्ण नवमीको दिन मनाइने यो ऐतिहासिक रथ यात्राले २ सय ३ वर्ष पुरा गरेको छ।

यो जात्रालाई पश्चिम क्षेत्रकै ऐतिहासिक जात्राको रूपमा लिने गरिन्छ। जात्रामा गुल्मी, अर्घाखाँची, स्याङ्जा, पर्वत, कास्की, रूपन्देही, काठमाण्डौ लगायतका जिल्लाबाट श्रद्धालु भक्तजनहरू पाल्पा पुग्ने गरेका छन्।

प्रकाशित मिति: : 2022-08-20 09:36:00

प्रतिकृया दिनुहोस्