रूकुम (पूर्व)को भूमे गाउँपालिका–१ मा पर्ने लुगुम गाउँमा झाँक्रीहरूको मेला लाग्ने गर्छ। साउन १ गते लुतो फाल्ने दिन, राँकाे बालेपछि मौन अवधी सुरू हुन्छ। राँकाे बालेको दिन मकै, काक्रो, फर्सी, सिमी, तामालगायत घरमा उब्जिने र जङ्गलमा पाइने खाद्यावाली तथा फलफूल चढाउने गरिन्छ।
खाम भाषामा ‘राँखे’को आफ्नै अर्थ रहेको छ। ‘राँ’को अर्थ आगो र ‘खे’को अर्थ फाल्नु हो। यो दिन प्रत्येक घरबाट आगो बालेर विधिवत् रूपमा आगो फालिन्छ। यसकाे पहिलाे महत्व लुताे फाल्नु हाे भने दाेस्राे प्रेतात्मालाई कमजोर बनाउनु रहेको छ।
यसरी राँखे पर्वको दिनबाट झाँक्री मेलाको प्रारम्भ हुन्छ। साउनको पहिलो हप्तामा पर्ने मंगलबार वा शनिबारमा जुन दिन पहिले पर्छ त्यही दिन सबै थरका झाँक्रीहरू मिलेर ज्या: पलेन्ये रम्मा राम अर्थात् भूत निकालेर झाँक्री उत्सव मनाइन्छ। जम्मा भएका झाँक्रीहरूले एक अर्काको ग्रहदशा फेर्ने तथा हेराहेर गर्ने गर्छन् भने गाउँका युवा, दर्शकहरू र झाँक्रीका चिल्मीहरू एकअर्का सिस्नो हानाहान गरेर रमाइलो गर्छन्।
झाँक्री पर्वको दिन झाँक्रीको सहयोगी चिल्मी अर्थात् झाँक्रीको भाञ्जालाई मुख्य सहयोगीको रूपमा लिइन्छ। घरबाट निस्किनुपूर्व नै भूत प्रेतले केही नगरोस् भनेर झाँक्रीले तन्त्र मन्त्र गरेर चिल्मीलाई बाध्ने गर्छन्। त्यसपछि भाञ्जाले झाँक्रीको सामान बोकेर मादै (नाच्ने ठाउँ)मा गएर आगो बालेर ढ्याङ्रो तताउने र नाच्ने गर्दछन्।
त्यसको केही समयपछि झाँक्रीहरू बर्छा (झाँक्रीको टेकाउने लाठी) लिएर आउने गर्छन्। झाँक्रीहरू पहिले झाँक्री पोसाक (छेर्ला) नलागाएर नाच्छन्। यसरी नाै फन्को नाचिसकेपछि छेर्ला लगाउँछन्। छेर्ला लगाएपछि तन्त्र मन्त्र गरेर पितृलाई बोलाउने गरिन्छ। प्रेतात्मा आइसकेपछि झाँक्रीहरू काम्न थाल्छन्। त्यसपछि एकअर्काले पिठ्युमा बोकेर ग्रहदशा शान्त पार्ने गर्दछन्। यी प्रक्रिया पूरा भएपछि फेरि नाै फन्का नाच्छन। यो दौरानमा सिस्नो पनि हानिन्छ। सिस्नाे हान्नु भनेको शरीरमा रहेका अदृश्य भूत–प्रेत आत्मालाई धपाउनु हो भन्ने विश्वास भएकोले कोही कसैले रिसाउने गर्दैनन्।
नौ फन्का नाचिसकेपछि खाली खोलामा राक्से (भूतप्रेत) निकाल्न जान्छन। त्यसका लागि मुख्य झाँक्रीले आफ्नो तन्त्र मन्त्र वाचासहित उठाउन जान्छन्। खोलाबाट राक्से निकालेपछि मैदानको छेउमा राक्षसको टाउकोमा सुरा ठोकिन्छ। त्यो ठाउँ उक्त प्रेत आत्माको लागि एउटा बन्धन र सीमारेखा हो। मुख्य पालो पाएको झाँक्रीले राक्से निकालेर डौडेर गाउँको पश्चिमी भागमा अवस्थित झोलेनी बिसौनामा आएर बस्छन। त्यँहा पुगेर अर्को सुरा ठोकेर प्रेत–आत्माको सीमारेखा बन्द गर्दछन्।
यो बेला अन्य झाँक्रीहरू दगुरेर गाउँका घरमा पस्छन। घरमा गएर कुखुराको टाउको छिनाइ उक्त घरका मान्छेको ग्रह, गौना टार्ने काम गर्छन। तर, यसबेला जसले आफूलाई पहिले नै बोलाएको हुन्छ उनीहरूको घरमा मात्रै जान्छन्। अन्धाधुन्ध अरूको घरमा पस्ने काम भने हुँदैन। त्यसपछि एउटा कुखुरा बोकेर कुदेर झोलिनी बिसौनामा गई त्यहाँ बस्छन। त्यहाँ आफ्ना थर (चेलीहरूले) लिएको सेल, रोटी, रक्सी खान्छन।
त्यहाँबाट फर्केर एउटा घरमा साग खान्छन। अनि थर्की (नाच्ने थला)मा आएर नाच्छन। त्यसपछि मुख्य झाँक्रीकोमा गएर फेरि अर्को कुखुराको बलि दिएर घर जान्छन्। सो बेलामा गाउँमा करिब १ हजार कुखुराको भालेको बलि चढाइन्छ।
झाँक्री पर्वको भोलिपल्ट जुम्जुते हुन्छ। जुम्जुतेमा माटो निकाल्ने, रगतको बलि चढाउने जस्ता काम गर्नु हुँदैन र टाढाको यात्रा समेत गर्नु हुँदैन। सो दिन झाँक्रीका भाञ्जाहरू (चिल्मी) झाँक्री चालमा नाच्ने र हिलो दलेर हिलाराम मेला मनाउँछन। अघिल्लो दिनको प्रेत आत्माले मान्छेहरूलाई नचिनोस् भनेर एक अर्कामा हिलो दलेर मान्छेलाई नचिनिने बनाइन्छ।
यसरी सुरू भएको हो झाँक्री पर्व
किम्बदन्तीअनुसार पौराणिक कालमा एक ‘कान सुरपाङ्खे’ नामक प्रेत आत्मा थियो। सो प्रेत आत्माले लुगुम गाउँका मानिसहरूलाई धेरै दुख दिन थाल्यो। धैरै नै सताउन थालेपछि त्यसबेलाका रामजाली घर्तीको शाखा र सिंजाकोटे राजाले सो प्रेत आत्मालाई जमिनमुनि गाडेका थिए। किरखोलाको म:झेरबाङ्ग भन्ने स्थानमा त्यो प्रेत आत्मालाई गाडिएको थियो। पछि त्यसलाई त्यहाँबाट निकालेर ठुलो लुगुम गाउँको खाली खोला किनारमा ल्याइ गाडियो। त्यस बखत प्रेत आत्मासँग झाँक्रीहरूले सम्झौता गरेका थिए।
उक्त सम्झौतामा उक्त प्रेत आत्मा वर्षको ३ सय ६४ दिन जमिनमुनि गाडिएर बस्ने र श्रावणमा लाग्ने झाँक्री पर्वको दिन झाँक्रीहरूको निगरानीमा छाडिने भएको हो। छाडिएको दिन प्रेत आत्माले जम्मा दुई जना व्यक्ति मात्रै आफ्ना लागि भोगको लागि छान्छ। त्यसपछि उनीहरू जुम्जुतेको दिन फेरि खालीखोला आफू गाडिएको ठाउँमा आएर बस्छन। यसरी त्यो प्रेत आत्मालाई बसमा पार्न निगरानीमा राख्न र गरिएको सर्त पूरा गर्नलाई यो झाँक्री पर्वको सुरूवात भएको मानिन्छ।
उपचार पद्धतिमा मेडिकल साइन्सभन्दा अगाडिदेखि नै अस्तित्वमा थिए, झाँक्रीहरू। उनीहरूले जडिबुटीको प्रयोग र तन्त्रमन्त्रको सहायतामा बिरामीहरूको उपचार गर्छन।
झाँक्रीहरूले भौतिक संसार र आत्माको संसारलाई समेत अनुभूति गर्छन भन्ने विश्वास गरिन्छ। उनीहरू भविष्यवाणी पनि गर्न सक्छन्। वास्तवमा झाँक्रीहरू भूत आत्मा र भौतिक आत्मा (शरीर) बिचका सम्झौताकर्ता हुन्। उनीहरूले दुबै पक्षलाई आफ्नाे बसमा पार्न सक्छन्। झाँक्रीहरूले विगत र भविष्य नियाल्न सक्ने विश्वास गरिन्छ।
२१औँ शताब्दीको उत्तरार्धमा पनि यो ठाउँमा झाँक्रीहरूको अस्तित्व रहनु बाहिरी दुनियाँका लागि अनौंठो हुन सक्ला तर यो ठाउँका लागि यो एउटा परम्परा हो, इतिहास हो, पर्व हो। जो गाउँका मान्छेको अन्तरआत्मासँग जोडिएको कुरा हो।
त्यस्तै बाहिरी संसारका लागि पनि अदृश्य शक्तिका लागि अध्ययनका लागि अतिउत्तम ठाउँ बन्न सक्छ। यस परम्पराले यहाँको अस्तित्व बचाउने मात्र हाेइन यहाँको पर्यटन प्रबर्द्धनमा समेत टेवा पुर्याएकाे छ। यस परम्परालाई पर्यटनको रूपमा विकास गर्न र जगेर्नाको लागि गाउँपालिका र वडाले समेत सहयोग संरक्षणको लागि हातेमालो गर्दै आएका छन।