ताइवान वरपर सैन्य अभ्यास जारी, किनमेन टापुमा चिनियाँ ड्रोनको लहर

Photo–  Taiwan Defense Ministry
Photo– Taiwan Defense Ministry

ताइवानमाथि चिनियाँ सैन्य अभ्यास जारी छ। जनमुक्ति सेना (पीएलए) ले ताइवानको मुख्य टापुमा आक्रमणको अभ्यास गरिरहेकाे अधिकारीहरूले जनाएका छन्।

ताइवान नजिक थुप्रै चिनियाँ सैन्य विमान र जहाज जम्मा भएका छन्। ताइवान स्ट्रेटलाई विभाजित गर्ने मध्य–रेखा पार गर्दै जनमुक्ति सेना अघि बढिरहेकाे ताइवानले दाबी गरेकाे छ।

चिनियाँ सैन्य विमान राेक्न ताइवानी रक्षा मन्त्रालयले मिसाइल प्रणाली तैनाथ गरेको चेतावनी दिएकाे छ। चार चिनियाँ ड्रोन फुजियान प्रान्त नजिकै किनमेन टापुमा उडिरहेको ताइवानका अधिकारीहरू बताउँछन्।

शुक्रबार दिउँसो चिनियाँ सैन्य विमानले ताइवानको वायु रक्षा पहिचान क्षेत्र (एडीआईजेड) ६८ पटक पार गरेका छन्। अभ्यासमा संलग्न केही विमानले ताइवान–चीनबीचको वास्तविक सीमा मिचेको छ।

'मध्य–रेखा मिचेर पीएलएले ताइवानको वायु क्षेत्र र जलमार्गमा अतिक्रमण गरेकाे छ। ताइवान स्ट्रेटकाे जलक्षेत्र परिवर्तन गरेर चिनियाँ समुन्द्र बनाउने योजना बनाएको छ,' ताइवानको सरकारी विशेषज्ञ इन्स्टिच्युट फर नेसनल डिफेन्स एन्ड सेक्युरिटी रिसर्चका कार्यकारी अधिकृत उपप्रमुख शेन मिङ–शिहले भने।

चीनकाे अभूतपूर्व सैन्य अभ्यास आइतबार पनि जारी छ। आणविक–पनडुब्बीसहित समुन्द्रमा तैनाथ चिनियाँ सैन्य विमान वाहकले अभ्यासमा भाग लिने चिनियाँ मिडियाले उल्लेख गरेका छन्।

स्राेतकाअनुसार अमेरिकी नौसेनाको एकमात्र तैनाथ विमान–वाहक जापानी बन्दरगाह नजिकबाट ताइवान–पूर्वमा फर्केकाे छ। अमेरिकी राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्बीकाअनुसार वाहक र अन्य जहाजले आगामी हप्तामा ताइवान स्ट्रेट हुँदै समुन्द्री पारवहन सञ्चालन गर्ने अपेक्षा गरिएको छ। उनले भने, 'अमेरिकाले सहयोगीहरूको सुरक्षाप्रतिको प्रतिबद्धता प्रदर्शन गर्न थप कदम चाल्नेछ।'

गत शुक्रबार चीनले अमेरिकी सदनकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणको प्रतिक्रियास्वरूप जलवायु संकट, काउन्टर ड्रग्स र आपराधिक मामिलामा गैरकानुनी आप्रवासीको स्वदेश फिर्ता लगायतका विषयमा आठ प्रतिरोधी उपाय जारी गरेको छ।

चीनले पेलोसीमाथि 'दुष्ट र उत्तेजक कार्य'को आरोप लगाउँदै उनीसहित परिवारका सदस्यविरुद्ध प्रतिबन्धको घोषणा गरेकाे छ।

२५ वर्षमा ताइवान भ्रमण गर्ने सबैभन्दा वरिष्ठ अमेरिकी अधिकारी हुन्, पेलोसी। चीनले प्रहार गरेका पाँचवटा ब्यालेस्टिक मिसाइल जापानको क्षेत्रीय समुन्द्रको बाहिरी सिमानासम्म फैलिएको जापानी अधिकारीहरूले जनाएका छन्।

प्रकाशित मिति: : 2022-08-07 15:42:00

प्रतिकृया दिनुहोस्