छ करोड ५३ लाखको लागतमा सडक स्तरोन्नति

File photo
File photo

पर्साको वीरगञ्ज महानगरपालिका–१६ मा मधेस प्रदेश सरकारको लगानीमा  सडक  स्तरोन्नति सुरु भएको छ।

प्रदेशको सरकारको  कूल रु  छ करोड ५३ लाखको लागतमा लक्ष्मणवा, भिस्वा, नगवा, इनर्वासम्मको सडक स्तरोन्नति थालनी गरिएकोे हो। 

मधेस प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत वीरगञ्ज  कार्यालयको रेखदेखमा आगामी २०८० साल पुस ८ गते सम्म  यो सडकखण्डको निर्माण  सम्पन्न हुने जनाइएको छ। उक्त सडक स्तरोन्नतिको काम  शिवा कन्स्ट्रक्सन प्रालि, काठमाडौँले पाएको हो। 

वीरगञ्ज –१६ नगवादेखि साढे चार किलोमिटर लम्बाइको सडक निर्माणका लागि  काम सुरु भएको  छ। एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रमअन्तर्गत सडक निमार्णको  योजना अघि बढाइएको हो।  

पालिकाबाटै अनलाइन फाराम 

सेवाग्राहीको सहजताका लागि बारा जिल्लामा  पनि सम्बन्धित पालिकास्तरबाटै  राष्ट्रिय परिचयपत्रको अनलाइन फाराम  निःशुल्क रुपमा भर्न सक्ने गरी व्यवस्थापन गरिएको छ। 

राष्ट्रिय परिचयपत्रलाई छिटोछरितो र व्यवस्थित बनाउनका लागि अनलाइन फाराम  जिल्लाका सबै  पालिकाबाट निःशुल्क रुपमा  भर्ने व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी  कृष्णबहादुर कटुवालले जानकारी दिए।  

सो सेवा लिन सेवाग्राही  सम्बन्धित पालिकाबाट परिचयपत्रका लागि अनलाइन फाराम  भरेर मात्र जिल्ला प्रशासन कार्यालय  वा इलाका प्रशासन कार्यालय आउनुपर्ने छ। यसो गर्दा कार्यालयमा हुने अनावश्यक भीडमा कमी आउने जनताको समय र  पैसा बचत हुने जनाइएको छ । 

परिचयपत्र बनाउन जिल्लाका विभिन्न क्षेत्रबाट  जनताहरुले दिनभरिको समय खर्चिएर, आर्थिक खर्च पनि गरेर  दुवै जिल्लाका प्रशासन कार्यालयसम्म आउनुपर्ने बाध्यता थियो।

यस अगावै प्रशासनले पनि राष्ट्रिय परिचयपत्र र ई–पासपोर्ट आवेदनका लागि सेवाग्राहीले सम्बन्धित पालिकाबाटै अनलाइन फाराम  निःशुल्क रुपमा भर्ने व्यस्थापन मिलाइसकेको थियो। 

भोजपुरी पुस्तक  विमोचन

मधेस प्रदेशका मुख्यमन्त्री  लालबाबु राउतले भोजपुरी भाषाका चर्चित लेखक दिनेश गुप्ताद्वारा लिखित ‘अब सुतल ठीक नइखे’ (गजल सङ्ग्रह) र ‘हिरोशिमा’ (हाइकू सङ्ग्रह) पुस्तकको शनिबार विमोचन  गरे। 

सो अवसरमा उनले प्रदेश सरकार प्रदेशभित्र बोलिने सबै भाषाको विकास   र प्रवद्र्धन गर्न प्रतिवद्ध रहेको बताए।

नेपाल भोजपुरी समाज वीरगञ्जद्वारा आयोजित  सो कार्यक्रममा विमोचित पुस्तक तथा लेखक दिनेश गुप्ताको व्यक्ति माथि वरिष्ठ साहित्यकार एवं उद्योगपति गणेश लाठले प्रकाश पारेका थिए। 

‘अब सुतल ठिक नइखे’ गजल सङ्ग्रहमा गुप्ताका ५१ गजलहरु सङ्ग्रहित  छन् भने ‘हिरोशिमा’ हाइकू सङ्ग्रहमा दुई सय एकवटा हाइकू समावेश गरिएको हो। 

सङ्ग्रहमा राजीतिकदेखि समाजिक तथा शृङ्गार रसमा आधारित गजल तथा हाइकूहरु समावेश गरिएको लेखक गुप्ताले बताए। 
 

प्रकाशित मिति: : 2022-08-07 10:56:00

प्रतिकृया दिनुहोस्