राष्ट्रिय जनमुक्ति पार्टी किराँत, लिम्बुवान, खम्बुवान प्रदेश परिषद्ले प्रदेश १ मा गरेको बन्द आह्वानको प्रभाव सामान्य देखिएको छ। अरुण पूर्वलाई लिम्बुवान राज्य घोषणाको माग गर्दै परिषद्ले गरेको बन्दको प्रभाव सामान्य देखिएको हो।
१४ जिल्ला रहेको प्रदेश १ मा बन्दले पाँचथर र ताप्लेजुङमा प्रभाव पारेको छ। यी दुई जिल्लाबाट चल्ने लामो तथा छोटो दूरीका सवारीसाधन भने चल्न सकेका छैनन्। यद्यपि, जिल्लाभित्रका छोटो दूरीमा निजी र सार्वजनिक सवारी फाट्टफुट्ट सञ्चालनमा रहेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ।
प्रदेशका अन्य जिल्लामा बन्दको प्रभाव शून्य रहेको छ। प्रदेश राजधानी विराटनगरमा पनि बन्दको प्रभाव न्यून रहेको छ।
प्रदेश १ प्रहरी प्रवक्ता एसपी नवीनराज राईले यातायात, बजार, उद्योग कलकारखाना निर्वाध रूपले चलिरहेको जानकारी दिए।