अमेरिकामा डा. ह्यारी भण्डारीले दोस्रो लोकप्रिय मतका साथ जिते डेमोक्रेटिक उम्मेदवारी

बिएल संवाददाता

बाल्टिमोर, अमेरिका

अमेरिकाको मेरिल्याण्ड राज्यमा जनवरी १९ मा  सम्पन्न प्राइमरी चुनावको अनौपचारिक परिणाम सार्वजनिक भएको छ। परिणामअनुसार, डेलिगेट डा. ह्यारी भण्डारी डेमोक्रेटिक पार्टीको तर्फबाट मेरिल्याण्ड हाउस अफ एसेम्बेली सदस्यको  उम्मेद्वारी  जितेका छन्।

मेरिल्याण्ड डिस्ट्रिक्ट ८ बाट  डेमोक्रेटिक पार्टीका तीनजना मेरिल्याण्ड हाउस अफ एसेम्बेली सदस्य उम्मेद्वार हुनेमा  डा. भण्डारी दोस्रो लोकप्रिय मतका साथ विजयी भए।  ७,६७८ मत प्राप्त गरेका  उनी ७.७१२ मत ल्याएका  कार्ल ज्याक्सनभन्दा  ३४ मतले पछि परे।  डा. भण्डारी र ज्याक्सन दुबै वर्तमान मेरिल्याण्ड हाउस अफ एसेम्बेलीका सदस्य हुन्। डेमोक्रेटिक पार्टीको नयाँ अनुहार  निक एलेनले ७३०६ मत प्राप्त गरेर आन्तरिक प्रतिस्पर्धामा तेस्रो भए । 

तिनैजना अनअपोज्ड (निर्विरोध)  रहेका उनीहरू अमेरिकी निर्वाचन प्रक्रियाअनुसार आन्तरिक प्रतिस्पर्धामा उत्रिएका थिए। यो प्रतिस्पर्धामा हासिल गरेको मत र स्थानले नोभेम्बर ८ मा हुने जनरल इलेक्सनमा मनोवैज्ञानिक प्रभाव छोड्छ। 

अब उनीहरूको प्रतिस्पर्धा नोभेम्बर ८ मा हुने जनरल इलेक्सनमा रिपब्लिकन पार्टीका उम्मेद्वारहरूसँग हुने छ। रिपब्लिकन पार्टीको भने प्राइमरी चुनावमा चार उम्मेद्वार आंकाक्षी रहेकाले चुनाव भएको थियो। चुनावमा टिमोथी न्युवर  (२,६७२), क्याथलिन स्मेरो (२,६२९) र ग्लेन गिलहार (२,६०९) मतका साथ विजयी भए भने भारतीय मूलकी उम्मेद्वार आकांक्षी मनप्रित हुँडाल १४०४ मतकका साथ  उम्मेद्वारी जित्न सकिनन्। 

नेपाली रियलस्टेट कम्पनीमा कार्यरत पेशाले रियल्टर  हुँडाललाई स्थानीय नेपाली समुदायको पनि ठूलो समर्थन थियो। उम्मेद्वारी जितेको भए नोभेम्बर ८ मा हुने चुनावमा उनी कडा प्रतिस्पर्धी हुन पनि सक्थिन। तर, आप्रवासीहरूलाई खासै मन नपराउने रिपब्लिकन पार्टीमा उनको कुनै दैया चलेन। 

प्राइमरी चुनावमा डेमोक्रेटिक पार्टीमा डेलिगेट डा. भण्डारी र रिपब्लिकन पार्टीमा  क्याथलिन स्मेरोले सबैभन्दा बढी लोकप्रिय मत पाउँने अनुमान गरिएको थियो। डा. भण्डारी २०१८को निर्वाचनमा यस क्षेत्रबाट निर्वाचित एक मात्र डेमोक्रेटिक डेलिगेट हुन् भने स्मेरो रिपब्लिकन पार्टीको बाल्टिमोर काउन्टकी प्रेसिडेन्ट हुन्।

कुनै पनि दलको स्पष्ट बहुमत नरहेको यो पर्पल निर्वाचन क्षेत्रमा यसपटक दुईजना डा. ह्यारी भण्डारी र कार्ल ज्याक्सन अहिले पनि डेलिगेट रहेका छन्। डा. भण्डारी निर्वाचित र ज्याक्सन मनोनित डेलिगेट हुन्। उनीहरू दुबैजना दोस्रो कार्यकालका लागि उम्मेद्वार रहेका छन्। बाँकि ४ जना नयाँ उम्मेद्वार छन्।

प्रकाशित मिति: : 2022-08-05 00:24:00

प्रतिकृया दिनुहोस्