दिपा धिताल
जुन १९ अर्थात द्वन्द्वमा यौन हिंसा उन्मुलनका लागि अन्तर्राष्ट्रिय दिवस। द्वन्द्वमा हुने यौन हिंसा उन्मूलनका लागि यो दिवस हरेक वर्ष जुन १९ का दिन औपचारिक रुपमा मनाइन्छ। युद्ध वा सशस्त्र द्वन्द्वको समयमा हुने यौनजन्य हिंसाका पीडितहरूलाई न्याय दिलाउन, उनीहरूको सम्मान कायम राख्न र यस्तो हिंसाको अन्त्य नदोहोरिने प्रतिवद्धता सहित विश्वभर यो दिवस मनाउने गरिन्छ। युद्धका समयमा यौन हिंसामा पर्नेहरूका बेदनाको सम्बोधन अनि अधिकारको प्रत्याभूत गर्दै विश्वसमक्ष उनीहरूका आवाज सुनाउन यो दिवसले महत्व राख्छ।
सशस्त्र द्वन्द्वमा यौन हिंसालाई युद्धको हतियारको रूपमा प्रयोग गर्ने प्रवृत्ति विरुद्ध जनचेतना फैलाउने उद्देश्यले सन् २०१५ मा संयुक्त राष्ट्रसङ्घको महासभाले प्रत्येक वर्षको जुन १९ लाई द्वन्द्धमा हुने यौन हिंसाको उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवस घोषणा गरेको थियो। नेपालमा पनि यसै दिन विभिन्न संघ संस्थाले यो दिवसलाई मनाउदै आएका छन्।
नेपालमा पनि माओवादी द्वन्द्व सकिएसंगै शान्ति सम्झौताको दुईदशक पार हुँदा पनि द्वन्द्वसँग सम्बन्धित यौन हिंसाका सर्भाइभरहरूको न्यायीक र परिपुरणीय माग अझै पनि सम्बोधन हुन नसक्नु भनेको देशलाई नै लज्जाको विषय हो। के ती व्यक्तिहरू आफ्नो कारण समस्यामा परेका थिए? अनुत्तरित प्रश्नले राज्यलाई कहिल्यै जिम्मेवार बनाएन।
दुर्गम रुकुमको एक गाउँमा जन्मेहुर्केकी एक किशोरी चरम गरिबीका कारण विद्यालय जान पाउदिनन्। घरको कामधन्दा गर्दै बाल्यकाल बित्छ। १५ वर्षको किशोरी उमेरमा विवाह गर्छिन। यहाँको चलन नै सानैमा भागी बिबाह गर्नु नै छ। आर्थिक रुपमा कमजोर भएका कारण माईतीमा जस्तै घरमा पनि साझ बिहानको छाक जोहो गर्न सकस थियो। घरमा आफू, श्रीमान र ससुरासहित ३ जनाको परिवार मात्र भए पनि चुलो जलाउन मुश्किल हुन्थ्यो। अरुलाई अरुको रन्को हुँदा यो परिवारमा छाककै समस्या हुने।
नेपालमा सशस्त्र द्वन्द्व चर्किरहेको थियो। उनको परिवारमा राजनीतिको नामसम्म कसैले सुनेका थिएनन्। आर्थिक उपार्जनको कर्मले गर्दा उनीहरूलाई केहि सोच्ने सम्म फुर्सद हुदैनथ्यो। तर एकदिन उनका श्रीमान घर पर गोठालो गएको समयमा प्रहरीको गोली लागि मारिए। श्रीमानको हत्या हुँदा १ महिनाको छोरा काखमा थियो।
श्रीमान मारिएको अलि समयपछि माओवादी खोज्दै गाउँ छिरेका सरकारी सुरक्षाकर्मीले श्रीमानको मृत्यु पीडामा भएकि उनलाई मानसिक यातना दिन थाले। केही समय गाउँमा अस्थायी बसोबास गरेका बन्दुकधारीहरूले तीनमहिने सुत्केरीलाई ससुराकै आँखा अगाडि पटकपटक सामूहिक बलात्कार गरे। श्रीमानको हत्याको पीडामाथि अर्को पीडा थपियो। उनको मन मात्र होइन शरीर पनि छियाछिया भयो। बिस्तारै उनीमा मानसिक समस्या बढ्दै गयो।
अर्की एक महिला अहिले २६ वर्ष अगाडी एकल बिधवा आमाबाट जन्मेकी थिइन। समाजले घृणाको पात्र बनाइएकी महिलाको सन्तानलाई पनि त्यही दर्जामा व्यवहार गरिन्थ्यो। गाउँसमाजमा बाबुविनाकी छोरीको नामबाट परिचित बनाइन्छिन्। दोष विनाकी अबोध बालिका। हरेक पल सामाजिक तिरस्कारमा परेको अनुभूती गर्छिन्। विद्यालयमा साथीसंगीको एउटै प्रश्न हुन्छ, तेरो बुवा खै?
९/१० वर्ष पुगेपछि एक साँझ आमा संग मेरो बाबा को हो? म खोज्न जान्छु भन्दै प्रश्न उठाएपछि आमासंग आँसुको विकल्प रहन्न। अलिबेरको जिद्धिपछि उनी जन्मीनुको कथाले पीडा फेरियो तर थपिएर। अलि उमेर पुगेपछि अर्थात ११/१२ वर्षको उमेर पुग्दा उनी आमालाई केहि नभनी सरदरमुकाममा रहेको प्रहरी कार्यालयमा बुवा खोज्न पुगिन्।
साझ अबेर सम्म छोरी घरमा नआएपछि आत्तिएकी आमालाई अर्कोदिन कसैले सदरमुकामको बजारमा देखेको खबर पाउँछिन्। हतारहतार छोरी खोज्न गएकी आमाले भेटाए पनि छोरीले बुवा भेटिनन्। केहि समयपछि जन्मदर्ताको समस्या सुरु हुन्छ। केही समयपछि आमाले अर्को बिहे गर्छिन्। आमासंगै नयाँघर पुगेकी उनको जन्मदर्ता नयाँ बाबुको नामबाट बन्छ।
मायाको भोकमा रहेकी छोरीले १४ वर्षको उमेरमा पल्लो गाउँको किशोरसंग विवाह गर्छिन्। उनी अलिदिन श्रीमान र परिवारको मायामा रमाउदै गर्दा विना बाबुको छोरी भन्ने थाहा भएसंगै अर्को मानसिक यातना सुरु भयो। बलात्कारबाट जन्मेकी, कुन जात अनि आमाको चरित्रका प्रश्नले उकुसमुकुस हुन्छ।
यी प्रतिनिधि घटना मात्र हुन्। द्वन्द्वको समयमा यौन हिंसाको शिकार बनेकाहरू आजपनि मनमा पीडा र तिरस्कारको भारी बोकेर मानसिक समस्यासँगै शारीरिक पीडाले थिलोथिलो भइ जीवन जिउन बाध्य छन्। हिजो परिवर्तनका लागि ती सोझासाजा मानिसहरूलाई ढाल बनाएकाहरू पटकपटक सत्ताको दैलोमा छिरे। उनीहरूले यी सबै देखेभोगेका थिए। तर कुर्सी मोह र राजनीतिक विचलनले द्वन्द्धका मुद्दा अब सकिए भन्न थालेका छन्।
सत्यनिरूपण तथा मेलमिलाप आयोगमा यतिबेला सशस्त्र द्वन्द्वकालका बलात्कार तथा यौनजन्य हिंसाका ४ हजार बढी उजुरी परेका न्यायको प्रतिक्षामा छन्। अधिकारकर्मीहरूका अनुसार द्वन्द्वसम्बन्धित यौन हिंसाका प्रायः सबै घटना डर, लाज र अपर्याप्त सेवाका कारणले दर्ता नै हुन सकेका छैनन्।
नेपालमा चलेको एकदशक लामो सशस्त्र द्वन्द्वको समयमा नेपालमा भएको गम्भीर मानव अधिकार हननका घटनाहरू घटेका छन्। सो समयमा महिला तथा बालबालिकाहरू बढी प्रभावित भए। द्वन्द्धको समयमा महिला र बालिकाहरू प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा वा परिस्थितिजन्य कारणबाट जोखिमपूर्ण जीवन बाँच्न बाध्य भएको र उनीहरू यौनजन्य हिंसा तथा अन्य लैङ्गिक हिंसाको जोखिममा परेको तथ्यलाई विभिन्न घटना तथा सन्दर्भहरूले समेत उजागर गरेका छन्।
यौन हिंसाका सवाल उठाउँदा घाउ र प्रमाण खोज्ने सरकारप्रती दिक्क महिलाहरू मनमा गह्रुङ्गो भारी बोकेर बस्न बाध्य छन्। महिला शान्ति र सुरक्षा अन्तर्गत नेपाल सरकारले संयुक्त राष्ट्रसंघमा प्रतिवद्धता गर्दै दोस्रो राष्ट्रिय कार्ययोजना कार्यान्वयन गर्ने भन्दै १८२० र १३२५ का लागि हस्ताक्षरसमेत गरेको छ। तर, कार्यान्वयनको पाटो गतिलो नहुँदा यो कागजमा मात्र सीमित भएको छ।
द्वन्द्ध–पीडित तथा प्रभावित महिलाको आत्मसम्मानसहितको सत्य, न्याय र परिपूरणका लागि अविलम्व व्यवस्था गर्न साथै सङ्क्रमणकालीन न्यायलाई कानूनी व्याख्याको परिधिबाट फराकिलो पारेर स्वःन्याय, पारिवारिक न्याय र सामाजिक न्यायको अनुभूति गर्ने संयन्त्र र वातावरण निर्माण गर्न माग गर्दै आजको दिन सरकारसँग अपिल गरिन्छ।
यौनाङ्गमा सिस्नो राखेर गरिएका प्रताडना होस् या बाँसका छडीले घोचिएर योनी छियाछिया परिएको होस्। सबै जघन्य अपराध हुन्। जनावरलाई समेत प्रयोग गरेर घटाइएका अमानवीय हिंसाका सवाल अनि बलात्कारपछि जन्मेका बच्चाका पीडामा सरकारले थोरै भए पनि मलम लगाएमा मन र तनमा शितलता हुने विस्वास गर्दै द्वन्द्वमा यौन हिंसा उन्मुलनका लागि अन्तर्राष्ट्रिय दिवसको शुभकामना।
सन्दर्भः द्वन्द्वमा यौन हिंसा उन्मुलनका लागि अन्तर्राष्ट्रिय दिवस
ओझेलमा पारिएको सवाल!
मोरङको राजघाटदेखि विश्व रंगमञ्चसम्म: सिर्जनाको अद्भुत उडान
आज केही स्थानमा मध्यम वर्षाको सम्भावना
प्रचण्डलाई ओलीको अफरः ‘कार्यगत एकता गरौँ, विद्यालाई नेता मानेर अघि बढौँ’
कानुन बनाउनेकै गैरकानुनी हर्कतः खारेज भइसकेको लाइसेन्स बोकेर मोटरसाइकल हुइँक्याउँदै हर्क
काठमाडौं नै नदेखेका सन्तबहादुरले केएमसीमा यसरी पाए निःशुल्क उपचार
दीपक भट्ट र सुलभ अग्रवाल कारागार चलान
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया