नाम त सुन्नु भएकै छ ‘फेवाताल’। फेवातालमा डुंगा सयर पनि गर्नु भएकै होला। नआउनु भएको भए पनि एकपटक पुग्ने धोको लिनु भएको होला। हो, फेवातालको सुन्दरतामा डुबुल्की मार्ने रहर पक्कै पाल्नु भएकै छ।
सुन्दर फेवातालको महिमा जति छ, यसको उत्पत्ति तथा नामबारे पनि उत्तिकै लोभलाग्दो तथ्य र किस्सा छन्। फेवातालको नामबारे इतिहास अध्येता सुनिल उलक र समाज अध्येता विश्व सिग्देलसँग सोधेका छौं। दुवै अध्येतासँग गरेको कुराकानीको अंश जस्तोको तस्तै :
सुनिल उलक
फेवाताल त पछि बसेको नाम हो। यसको नाम बैदामे ताल हो।
बैदामे हुनुको दुई कारण छन्। एउटा, त्यो बदामको एकदमै खेती हुने ठाउँ हो। बदामको खेती हुने भएकाले बदामे-बदामे भन्दाभन्दै बैदामे भएको हुन सक्छ। अर्को बेदाम भन्ने किंवदत्ती पनि छ। कसैलाई लिउ न भन्दा पनि नलिने, कसैले लिन नचाहने। बेदामे भएर बेदामे-बेदामे भन्दाभन्दै बैदाम भएको हुन सक्छ।
फेवाताल नामाकरण हुनुमा कसै-कसैले भनेको धेरै हावा आउने भएर नेवारहरुले फेवा-फेवा हावा आउने ठाउँ भन्दाभन्दै फेवाताल भन्ने गरेका सुनिन्छ। फेवा कसरी रह्यो भन्ने यकिन छैन। फेवा फाँट फेवाताल भन्ने ताल। तर, वास्तवमा यसको नाम बैदाम हो।
यतिबेला नै फेवाताल भन्न थाले भन्ने पनि छैन। तर, १५-२० सालपछि होला। १५-२० सालपछि अहिले पनि बैदामतिर भट्टराईहरुलाई सोध्यो भने पनि बैदाम ताल नै भन्ने गर्छन्।
बदाम हुने केदारेश्वर फिस्टेल लज भएको भाग लाइनहरु सरकारले लिएपछि खाली ठाउँ केदारेश्वर कोमागानेमा बदाम खेती गर्ने ठाउँहरु हुन्।
फेव-फेव हुँदाहुँदै फेवा भएको एकथरि भन्छन्। तर, नेवारको बस्ती नै छैन त्यहाँ। नेवार गएर कसरी नाम रह्यो पनि भन्ने गरिन्छ। ठाडो पसलको लाइन भित्रपट्टी नेवारको भए पनि नेवार धेरै छैन। उताको भेगमा नेवार छैन। कोही कोहीको भनाइमा हावाले गर्दा फेवा रह्यो भन्छन्। तर, साँच्चै हावा पनि चल्ने हुनाले पनि फेवाताल रहेको हुन सक्छ। २ बजेपछि एकदम हावा पनि चल्छ नि त।
बाराही मन्दिरको किवंदन्ती अर्कै खालको छ। त्यहाँभन्दा अलिकति माथि पनि अर्को मन्दिर छ, देवीथान। मत्स्य केन्द्र भएको गेटनिर।
बाराहीको मुल मन्दिरभन्दा अलिकति माथि छ। त्यहाँनेर जान अपायक भएर त्यहाँ पारेको भनेर भनेको पनि सुनिन्छ। कसैले दिदीबहिनी मन्दिर भनेको पनि सुनिन्छ। फेवातालको इतिहास हेर्दा मन्दिर तालभित्र थिएन। ताल किनारमा थियो। फेवातालले जब हाइट बढ्यो ड्यामको। त्यसपछि तालको आकार पनि बढ्यो। पहिलो ड्याम बनेको १८ औं शताब्दीमा हो, भीमसेन थापाको पालातिर देखिन्छ। त्यसपछि जंगबहादुरले थप राम्रो बनाए। जंगबहादुर पाण्डेले बनाएको हुँदा पाण्डे ताल पनि भन्ने गरिन्छ। उसकै नामबाट पाण्डे ताल।
पहिला अहिलेको टुरिजम बोर्ड भएको ठाउँतिर थियो ड्याम। अहिलेको ड्याम भएको ठाउँमा २००२ तिर जुद्द शमशेरको पालामा। त्यो भत्केपछि १७ सालतिर तयार भयो। फेरि ३१ सालमा भत्क्यो, अनि ३८ सालमा बन्यो। अहिले भएको ३८ सालमा बनाएको हो। यसरी धेरै चोटी बनेको छ।
जंगबहादुरको पालामा बन्दा पोखरामा ठुलै सिँचाइ आयोजना नै बनाएर पैसा कमाउन सकिन्छ भनेर बनाइएको थियो, बेलायती इन्जिनियर नै ल्याएर। त्यतिबेला बेलायती इन्जिनियरले १ लाख रुपैयाँ खर्च हुन्छ भनिसकेपछि सामान्य बाँध मात्रै लगाएको हो, जंगबहादुरले। सिँचाइकै उदेश्य त थियो। दस्तावेज पनि छ। पाल्पाको रानीबनबाट रुखहरु काटेर बाँध बाँध्ने भन्ने पनि छ। कति जनालाई जिम्मा लगाएको हो भन्ने पनि छ।
विश्व सिग्देल
कथा त थाहा छैन। किंवदन्तीमा म विश्वास पनि गर्दिनँ। वैज्ञानिक भएको तथ्य के हो भने पोखरा स्वयममा ताल थियो। पोखराको उपत्यकाको नाका भिमाद थियो। बाँध हालेका थिए। बाँध भत्केर बनेको हो भन्ने पनि छन्। तर, हिमनदीले बनेको ताल हो यो।
सडकमा पनि खाल्डाखुल्डीमा ताल रहन्छ, त्यसरी नै ७-८ ताल बनेका हुन् भन्ने वैज्ञानिक तथ्य छ। जहाँ पानी छ, त्यहाँ बराह राख्ने नौलो होइन। मान्छेले के ठाने भने पर्यटकीय महत्व रैछ मन्दिर राखौं भनेर ठाने।
त्यतापट्टी म जान्नँ। हामीले थाहा पाइन्जेल त्यो फेवाताल होइन। त्यो बैदाम ताल हो। हामीले भन्ने गरेको बैदामे ताल पछि फेवाताल भयो। ठ्याक्कै यसरी भयो भनेर नआइसकेकाले भन्न सकिने अवस्था पनि रहेन। हामीले भन्न सक्ने ऐतिहासिक तथ्यलाई लिएर भन्न मिल्छ। तर, दन्त्य कथालाई लिएर भन्न मिल्दैन।