डोल्पा अस्पताल जोड्ने पुल नहुँदा बाटोमै ज्यान गुमाउँछन् बिरामी

डोल्पाको एकमात्र अस्पतालको रुपमा रहेको जिल्ला अस्पताल जोड्ने मोटरेबल पुल नहुँदा उपचारका लागि अस्पतालसम्म पुग्न बिरामीलाई समस्या हुने गरेको छ।

पुल भएको भए बिरामीलाई एम्बुलेन्समा अस्पतालसम्मै पुर्याउन सकिने थियाे। तर पुल नहुँदा बिरामीलाई घुमाउरो बाटोमा आधा घण्टा बोकेर अस्पताल पुर्याउनु पर्ने बाध्यता छ।

अहिले प्रयोग भइरहेको बाटो घुमाउरो र साँघुरो भएकै कारण अस्पताल नपुग्दै बिरामीको ज्यान जाने गरेको जिल्ला अस्पतालले जनाएको छ।

सदरमुकामस्थित लामालोटे वा कालिका मन्दिर आसपासबाट बेलिब्रिज बनाएर बिरामी बोकेको एम्बुलेन्स सिधै अस्पतालसम्म पुर्याउन सकिने भएपनि पुल निर्माणकालागि अहिलेसम्म कसैले पनि चासो नदेखाएको अस्पतालको भनाइ छ।

डोल्पाली नेता, स्थानीय तह, प्रदेश तथा संघीय सरकारलाई पुल निर्माणका लागि पटक पटक गुहार गरेतापनि कसैले नसुनेको स्वास्थ्य सेवा कार्यालय डोल्पाका प्रमुख अमरबहादुर शाहीले जानकारी दिए।

बजारको झोलङ्गे पुलसम्म मात्र मोटरबाटो भएकाले त्यहाँसम्म एम्बुलेन्सले बिरामी ल्याउने र त्यसपछि बीचबाटोमै बिरामी अलपत्र पर्ने गरेको उनले बताए।

कहिलेकाहीँ बिरामीलाई स्ट्रेचरमा बोकेर अस्पतालसम्म लैजान मान्छेनै नपाउँदा बिरामी अलपत्र पर्नुका साथै कतिपय बिरामी अस्पताल पुग्न नपाएरै बिच बाटोमै ज्यान गुमाउने गरेको उनको भनाइ छ।

दुनैका ठुला व्यापारीको व्यक्तिगत स्वार्थका कारण केही बर्ष अघि बन्न लागेको झोलङ्गे पुल पनि स्थगित भएको सदरमुकामका एक स्थानीयले बताए।

अस्पतालसम्म सिधा पुल जोडिए वारी पट्टीको बजार सुक्छ भन्ने व्यापारीको झिनो सोचका कारण पनि निमार्णकालागि तयारी भएको पुल रोकिएको उनको भनाइ छ।

अस्पताल जोड्ने पुल नभएकै कारण अस्पताल पुर्याउन ढिला हुँदा दुई साताअघि एक जना बालकले बीचबाटोमै ज्यान गुमाउनु परेको जिल्ला अस्पतालका डाक्टर अखण्ड उपाध्यायले बताए।

'गाडी छुटेदेखि अस्पतालसम्म पुग्ने बाटो घुमाउरो र जोखिमपूर्ण छ, त्यो बालकलाई समयमै अस्पताल पुर्याउन पाएका भए ज्यान जोगिन सक्थ्यो', डाक्टर उपाध्यायले भने, 'कतिपय गर्भवती महिलाहरु बीचबाटोमै सुत्केरी हुने गरेका छन्। पुलका लागि धेरै ठाउँमा हारगुहार गरियो, तर कसैले पनि कुरा सुनेनन्।'

जिल्लाका ग्रामीण गाउँबस्तीबाट अस्पलालमा उपचारका लागि आउने गरेका छन्। दुर्गम जिल्लाका नागरिकको आशा भरोसाको रुपमा रहेको एकमात्र अस्पताल सिधा पुग्नका लागि छिटोभन्दा छिटो बेलिब्रिज निर्माणका लागि सम्बन्धित निकायलाई अस्पतालले आग्रह गरेको छ।

प्रकाशित मिति: : 2022-08-02 13:08:00

प्रतिकृया दिनुहोस्