लगनशीलता र लगाव छ भने लगानी कहिल्यै असफल हुँदैन : शत्रुघन प्रसाद गुप्ता (भिडियाेसहित)

सुनिता लामा

काठमाडौं

कमलको फूल दबदबे हिलोमै फुलेतापनि सुन्दर बगैँचामा फक्रिएको गुलाफले झैँ मिठो सुगन्ध र सुन्दरताले सबैलाई उत्तिकै आकर्षण गरिरहेको हुन्छ, त्यस्तैगरी हरेक साँझ बिहानको चुल्हो बाल्न र एकसरो लुगाले आङ ढाक्न धौ-धौ पर्ने त्यो विपन्नताको क्षितिजमा पनि एउटा त्यस्तो तारा जसले नेपालको शिक्षा क्षेत्रको गगनमा आफ्नो छुट्टै अस्तित्व र ज्योतिका साथ उदाउँदै थियो।

सानो कद, सोझो प्रकृतिको व्यवहार, सात/आठ वर्षीय एक बालक, जसले करिब दुई घण्टाको बाटो हिँडेर हरेक दिन विद्यालय आउजाउ गर्नुपर्थ्याे। अभावको खाडल यति ठुलो थियो कि उनले विद्यार्थीकालमा कहिल्यै नयाँ पुस्तक पढ्न पाएनन्। तर पुरानै किताबभित्रको ज्ञानले पनि उत्तिकै जोश, जाँगर, हौसला र उत्प्रेरणा दिइरह्यो कि शिक्षा नै त्यो ज्योति हो, जसले त्यो विपन्नता र अभावको अन्धकारलाई मेटिदिनेछ भन्ने विवेक उनले पाए।

बालापनदेखि नै धैर्य, शान्त र सहनशीलतालाई अँगालेका उनी आजको यो एक्काइसौँ शताब्दीको उत्तरार्धमा पनि उत्तिकै अनवरत रुपमा आफ्नो दृढ संकल्प र अठोटलाई कर्मशील र क्रियाशील राखिरहेका शत्रुघन प्रसाद गुप्ता आफ्नो बालापन सम्झँदा एक अनौठो सपना जस्तो लाग्ने गरेको बताउँछन्।

वि.स. २०२५ साल चैत्र २१ गते बुवा बिलट शाह रौनियार र आमा गुलावदेवी गुप्ताको तेस्नाे सन्तानको रुपमा महोत्तरीकाे भगहा नगरपालिका-९ हरिहरपुरमा जन्मिएका गुप्ताले विपन्नताकै बीचमा पनि शिक्षाको ज्योतिलाई कहिल्यै पनि निभ्न दिएनन्। पञ्चायती शासनकालमा सर्वसाधारणको पहुँचबाट टाढा रहेको शिक्षा र विभेदकारी समाज भएतापनि सामान्य खेती किसानीबाट आफ्नो जिविका चलाइरहेका उनका बुवाआमालाई आफ्ना सन्तानलाई शिक्षाको ज्योतिमा डोर्याउनुपर्छ र यसैले नै गरिबी, विपन्नता र अशिक्षाको अन्धकारलाई चिर्नेछ भन्ने कुराको दृढ विश्वास भने थियो।

उनले कक्षा एकदेखि सातसम्म गाउँकै स्थानिय विद्यालय श्री किशोरी मा.वि., कक्षा आठ र नौ धनुषाको लक्ष्मुनिया मा.वि. का साथै दश कक्षा हेटौँडाको मकवानपुरस्थित ज्योति मा. वि. मा पढे। सोही विद्यालयबाटै वि.स. २०४२ सालमा एसएलसी उत्तीर्ण गरेका गुप्ताको जीवनमा जनकपुरको रा.रा बहुमुखी क्याम्पसबाट आइए र बीए उत्तीर्ण गर्दासम्म कुनै साेख, संकल्प वा उदेश्य नै थिएन। ‘जब मानिस विपन्नता र अभावको खाडलमा परेको हुन्छ, तब उसले कुनै इच्छा, चाहना वा रोजाइ राख्ने हिम्मत गर्दैन। आफ्नो दैनिक जीवनको निरन्तरता र अभिभावकको इच्छा अनि सपनातर्फ मात्र ध्यान केन्द्रित हुँदो रहेछ’, गुप्ता आफ्नो बाल्यकाल स्मरण गर्छन्।

स्नातक तहसम्मको अध्ययन जनकपुरमा सकिएपछि स्नात्तकोत्तर पढ्न वि.स. २०४८ सालमा काठमाडाैँ आएका शत्रुघनले त्रिभुवन विश्वविद्यालयको छात्रावासमा बसि अध्ययन पुरा गर्दैगर्दा २०५० सालदेखि २०५५ सालसम्म रेडियो नेपालबाट प्रसारण हुने तत्कालीन लोकप्रिय कार्यक्रम घटना र विचार कार्यक्रमको सञ्चालनसमेत गरेका थिए।

वि.स. २०५३ सालमा स्नातकोत्तरको पढाइ सकेलगत्तै काठमाडाैँकाे भृकुटीमण्डपस्थित पद्मोदय मा.वि.मा सञ्चालित रात्रीकालीन सामुदायिक क्याम्पस काठमाडाैँ शिक्षा क्याम्पसमा कक्षा ११ र १२ लाई गणित विषय अध्यापन गर्ने मौका पाएका उनले त्यसपछि भने पछाडि फर्केर कहिल्यै हेर्नु परेन।

‘जीवनमा त्यस्तो कुनै ठोस उदेश्य त थिएन, जिन्दगीको अवस्था र परिस्थितिले जता डोर्यायो त्यतै हिँडियो तर पनि मनको एउटा कुनामा भने इन्जिनियर हुने सपना थियो। तर आर्थिक अभावको खाडल यति ठुलो थियो कि त्यसभित्र मेरो त्याे सपना कहिल्यै हुर्कन सकेन। आइए पढ्दै गर्दा कक्षा १० का विद्यार्थीहरुलाई र बीए पढ्दा आइएका विद्यार्थीहरुलाई ट्युशन पढाएर क्याम्पसको शुल्क तिर्ने गर्थेँ’, भावुक हुँदै उनी भन्छन्, ‘परिवारले आर्थिक सहयोग गर्ने कुनै सम्भावना नै थिएन, त्यसैले होला शायद मेरो सपनाले अन्तर्मनको कुनाबाहेक अन्त अटाउने हिम्मत गर्नै सकेन।’

विपन्नताले बाध्यता जन्माउँछ र बाध्यताले जीवनका यात्रा अनि मोडहरु र घुम्तीहरुलाई पनि बदलिदिन्छ भन्ने कुरा उनको जीवनमा यथार्थकृत भएको देखिन्छ। काठमाडाैँ शिक्षा क्याम्पसमा स्नातक तहसम्म गणित विषयको अध्यापन गराउँदै जाँदा सोही क्याम्पसकाे प्रमुख पदको दरखास्त आवेदन खुला भयो। त्यसो त त्यतिबेला उनले काठमाडाैँ विश्वविद्यालयको पहिलो ब्याचको रुपमा एमफिल गरिसकेको र उक्त पदको निम्ति सम्पूर्ण मापदण्ड पुरा हुने भएपछि उनले दरखास्त आवेदन दिए।

कलात्मक शिक्षणशैली, शान्तपन, सहनशीलता, नम्रता, नेतृत्वदायी भूमिका र आफ्नो कामप्रतिको लगनशीलताका साथै शैक्षिक योग्यताकै कारण २०६९ साल फागुन १७ गते उनी काठमाडाैँ शिक्षा क्याम्पसको सातौँ क्याम्पस प्रमुखको पदमा नियुक्त हुन सफल भए। यो घटनालाई नै जीवनको शैक्षिक टर्निङ्ग प्वाइन्ट मान्ने शत्रुघन आफूले क्याम्पस प्रमुखको उम्मेदवारी दिँदै गर्दा मुख्यगरी तीनवटा एजेण्डाहरु अघि सारेको बताउँछन्।

पहिलो- पद्मोदय मा.वि.बाट क्याम्पसको आफ्नै भवन निर्माण गर्ने, दाश्रो- क्याम्पसलाई शिक्षा शास्त्रमा मात्र केन्द्रित नराखी बहुमुखी क्याम्पसको रुपमा रुपान्तरण गर्ने र तेस्राे- शिक्षक कर्मचारीको सेवा सुविधाको ग्यारेण्टी गर्ने। यी तीन प्रमुख उदेश्यका साथ आफ्नो दरखास्त पेश गर्दा उनका अग्रजहरु, सहकर्मी, शिक्षक तथा कर्मचारी र विद्यार्थीहरुले पनि विश्वास गरेकोले आफूले क्याम्पसको नेतृत्व गर्ने मौका पाएको बताउँछन् उनी।

वि.स. २०७१/०७२ मा शिक्षा शास्त्रमा स्नातक र स्नातकोत्तर तह रात्रीकालिन समयमा सञ्चालित यस क्याम्पसले नोकरी गर्दै आफ्नो अध्ययन पुरा गर्ने विद्यार्थीहरुको सपना साकार पार्ने एउटा उत्कृष्ट गन्तव्यस्थानको रुपमा अब्बल सावित गर्याे। साेही समयमा २०७२ सालको भूकम्पले पद्मोदय मा.वि.को भवन पूर्णरुपमा क्षतिग्रस्त भएपछि क्याम्पसमा अध्ययनरत करिब दुई सय पचास र विद्यालयका हजारौँ विद्यार्थीहरुसमेत भवनविहीन भए।

तत्पश्चात क्याम्पस र स्कुलको सहकार्यमा विद्यालय प्रांगणमा सुकुल, मान्द्रो र जस्तापाताले बेरेर बनाइएको संरचनाबाटै भएपनि आफ्ना कक्षाहरु निरन्तर सञ्चालन गर्दै आउँदा भवन निर्माण अनुदानबापत विश्वविद्यालय अनुदान आयोगले उपलब्ध गराएको १२ लाख ५० हजार रूपैयाँबाट चन्द्रागिरि नगरपालिकाकाे सतुंगलमा करिब तीन रोपनी जग्गामा शिक्षा क्याम्पसले आफ्नै भवन निर्माणको कार्य सुरु गर्न थाल्यो।

‘मेरो एक्लो प्रयासमा यी कामहरु हुने कुनै सम्भावना नै थिएन तर मेरा आदरणीय अग्रज गुरुहरु क्याम्पस सञ्चालन समितिका अध्यक्ष प्रा.डा. माधव भट्टराई, प्रा.डा. हेमागराज अधिकारी, प्रा.डा. प्रेम नारायण अर्याल, प्रा. हरिविनोद अधिकारीलगायत ३३ जना देशका वरिष्ठ शिक्षाविदहरुको संयुक्त जमानी र सहकार्यमा २०४८ साल वैशाख १५ गते दरबार हाइ स्कुलबाट सन्ध्याकालीन सत्रमा एक वर्षे बीएडको कार्यक्रमबाट स्थापना गरेको यस क्याम्पसले भूकम्पपछि आफ्नै भवन निर्माणको सुरुवात मेरो नेतृत्वमा गर्न पाउँदा म अत्यन्त हर्षित र गौरवान्वित छु’, उनी भावुक बन्दै भन्छन्।

‘विश्वविद्यालय अनुदानबाट निर्माण कार्यको सुरुवात गरेतापनि क्याम्पसप्रति माया, सद्भाव, सहयोग र अपनत्व देखाउनुहने यहाँका समुदाय, जनप्रतिनिधिहरु, अभिभावक, शिक्षक, कर्मचारीलगायत अन्य थुप्रै शुभचिन्तकहरुको पनि उत्तिकै साथ, सहयोग, सल्लाह, सुझाव र सहकार्यद्वारा नै यो पुरा हुन सकेको हो’, गुप्ता भन्छन्, ‘भवन निर्माणकै निम्ति आयोजना गरिएको महायज्ञबाट संकलित करिब २४ लाख (खर्च कटाएर) पनि भवन निर्माणमा नै लगानी गर्दै आज काठमाडाैँ शिक्षा क्याम्पस एक सुविधा सम्पन्न सामुदायिक क्याम्पसको रुपमा स्थापित हुन सफल भएको छ। यसको प्रमुख श्रेय विश्वविद्यालय अनुदान अयोगलगायत यससँग जोडिनुभएका सम्पूर्ण व्यक्तित्वहरुलाई उत्तिकै दिन चाहन्छु तर एउटा सत्यता यो पनि हो कि लगनशीलता र लगाव छ भने लगानी कहिल्यै असफल हुँदैन।’

त्यसो त क्याम्पस प्रमुख गुप्ताको लगनशीलता, सेवामुखी/सहकार्यको भावना, कर्मप्रतिको विश्वास, सक्षम नेतृत्व र समानता तथा समावेशीपूर्ण व्यवहारकै कारण प्रधानाध्यापकको तेस्राे कार्यकालसम्म आइपुग्दा पनि समुदाय, अभिभावक, विद्यार्थी तथा शिक्षक/कर्मचारीको विश्वास, सद्भाव, आदर र माया उत्तिकै रुपमा पाइरहेका उनको उत्कृष्ट विकासशील, परिवर्तनशील कार्यहरुले नै यस कुरालाई पुष्टि गरिसकेको अभिभावक र शिक्षकहरू बताउँछन्।

शुल्कमुखी वा सुविधामुखी दृष्टिकोणले कसैले केही काम थाल्छ भने त्यो एउटा अनिश्चितकालिन मात्र होइन, असफल पनि हुने गर्दछ तर सेवाभाव र सहयोगी दृष्टिकोणले काम गर्ने हो भने शैक्षिक क्षेत्रलगायत हरेक क्षेत्रमा दीर्घकालीन र सफल हुन कुनै तत्वले पनि रोक्न सक्दैन भन्ने दृढ संकल्प राख्ने गुप्ता आफूले अघि सारेको मुख्य तीन एजेण्डाहरु लगभग पुरा हुँदै गर्दा अझै पनि क्याम्पसमा थुप्रै योजनाहरु पुरा गर्न बाँकी रहेको बताउँछन्।

निजी र सामुदायिक संस्थाको उदेश्य र उपलब्धि मात्र फरक नभइ यसको सेवा सुविधाको स्तर पनि फरक रहेको बताउँदै उनी निजी संस्थामा संस्था र व्यक्ति दुबैले त्यसको नाफामूलक प्रतिफल प्राप्त गर्ने गर्दछ तर सामुदायिक संस्था केवल संस्थागत उपलब्धि र सामुदायिक हितको प्रतिफलतर्फ उद्धत रहने बताउँछन्। त्यसैले सामुदायिक संस्थाप्रति हेरिने दृष्टिकोण परिवर्तन हुन जरुरी हरेकाे उनकाे धारणा छ।

सामुदायिक क्याम्पस भएकै कारण त्रिविअन्तर्गतका दर्जनौँ शुल्कमुखी कोर्षहरुको सम्बन्धन र अनुमति दिन कठिनाइ भइरहेको यो परिस्थितिमा काठमाडाैँ शिक्षा क्याम्पसले विद्यार्थीको निम्ति आवश्यक पर्ने सुविधा सम्पन्न आफ्नै भवन, उच्च कोटीका अत्याधुनिक प्रविधियुक्त कक्षा कोठा, ई-लाइब्रेरी, रोजगारमूलक र व्यवसायिक कोर्षहरु, दक्ष र अनुभवी विषय विशेषज्ञहरु, सहकार्यमा विश्वास राख्ने कर्मचारीहरुको एउटा उत्कृष्ट संगम बनेकाे गुप्ता बताउँछन्।


शान्त, सौम्य र सहनशीलताका प्रतिक ‘पुरुषोत्तम’ (भिडियाेसहित)


वर्तमान परिस्थितिमा नयाँ भर्ना हुन आउने कक्षा ११ का विद्यार्थी लक्षित विविध शिर्षकका छात्रवृत्तिहरुसँगै विपन्न, दलित, जनजाति, अपांग, महिला, मधेशी र पिछडिएका वर्गहरुको लागि रु एक करोडको छात्रवृत्ति कोष खडा गरी पूर्ण तथा आंशिक छात्रवृत्तिसमेत प्रदान गरिरहेकाे उनले बताए।

गुप्ताका अुनसार काठमाडाैँ उपत्यकाभित्रका सामुदायिक क्याम्पसहरुमध्ये काठमाडाैँ शिक्षा क्याम्पसमा हाल कक्षा ११/१२ मा शिक्षाशास्त्र, व्यवस्थापन, मानविकी, कानुन तथा स्नातक तहमा बीबीएस, बीसीए, बीएड र स्नातकोत्तरमा शिक्षा शास्त्रमा सात वटा विषयहरुका साथै व्यवस्थापन संकायमा एमबीएस अध्यापन गराउँदै चन्द्रागिरि नगरपालिकाकै एक उत्कृष्ट सामुदायिक बहुमुखी क्याम्पसको रुपमा हजारौँ विद्यार्थीको रोजाइमा पर्न सफल भइसकेको छ।

आगामी दिनहरुमा अरु थप नयाँ संकाय तथा विषयहरु थप्दै लैजाने योजना पनि रहेको बताउने गुप्ता भन्छन्, ‘जीवन एक सुन्दर सपना हो। त्यसैले आफ्नो लागि भन्दा अरुको निम्ति जीउनु र आफू कति सफल भएँ होइन तर मेरो कारणले अरु कति सफल भए भन्ने कुराको दर्शन नै जीवन हो।’

‘प्रेम आनन्दको भावना हो। मलाई काम गर्दा आनन्द महशुस हुन्छ, त्यसैलाई नै प्रेम भन्छु तर यसप्रति धेरै गहिरिने र आशक्त हुने कुरा गलत हो’, उनी भन्छन्। वि.स. २०५८ सालमा सुमन गुप्तासँग वैवाहिक जीवनमा गाँसिएपश्चात आफ्नो जीवनका यात्राहरु अझ बढी सहज र सरल भएकाले पारिवारिक प्रेम पनि मानव जीवनमा उत्तिकै आवश्यक ठान्छन्, शत्रुघन।

समाज र समुदायको खुशी तथा समुन्नति नै आफ्नो सफलता मान्ने उनी वि.स. २०६० सालमा पहिलो सन्तानको रुपमा छोरी (साक्षी) को जन्म हुँदाको क्षण जीवनको सबैभन्दा खुशीको क्षण र क्याम्पस अनि समुदायको कार्य व्यस्तताका कारण आफ्नो विद्यावारिधिको अध्ययन पुरा गर्न नपाउँदा दुख लागेको बताउँछन्।

करिब दुई सय विद्यार्थीबाट सुरु भएको चन्द्रागिरि नगरपालिका–१०, सतुंगलमा अवस्थित काठमाडाैँ शिक्षा क्याम्पसमा हाल एक हजारभन्दा बढी नै विद्यार्थीहरु अध्ययनरत छन्।

भौतिक संरचना र पूर्वाधारका कार्यहरु अझै निरन्तर जारी रहँदै गर्दाको अवस्थामा पनि त्रिविका करिब आठ सय परीक्षार्थीहरुको परीक्षा केन्द्रका रुपमा निरन्तर सञ्चालन गर्दै आइरहेको यस क्याम्पसले वरिपरिका इँटा भट्टाहरुको व्यवस्थापन तथा सडक विस्तारका कामहरु तीव्र गतिमा भइरहेकोले आगामी दिनमा पनि विश्वविद्यालय अनुदान आयोग, समुदाय, अभिभावक, शिक्षक/कर्मचारी, जनप्रतिनिधिहरु तथा विद्यार्थीहरुलगायत सम्पूर्ण व्यक्तित्वहरुको साथ, सहकार्य, सहयोग र सद्भावको अपेक्षा राख्छन्, क्याम्पस प्रमुख गुप्ता।


संघर्षको मैदानबाट उदाएका दिनेश (भिडियाेसहित)


 

प्रकाशित मिति: : 2022-07-28 19:38:00

प्रतिकृया दिनुहोस्