संघर्षको मैदानबाट उदाएका दिनेश (भिडियाेसहित)

सुनिता लामा

काठमाडौं

परिवारमा सबैभन्दा कान्छो सन्तान हुनुको मजा नै बेग्लै छ। आमा–बुवा मात्र नभई आफन्तहरूले समेत यति धेरै माया गर्छन् कि बाल्यकाल त सधैं रहिरहे हुन्थ्यो जस्तो लाग्छ। तर, प्रकृतिको नियम अनि मानवीय जीवन, न त भने जस्तो सहज न त सोचे जस्तो सरल छ। एउटा गर्न खोज्यो अर्कै भइदिन्छ अनि नसोचेको र कल्पना नै नगरेको कुरा भइदिन्छ, जीवनमा।

आफूभन्दा ठूला दुई दिदी र तीन दाजुहरूको माया र आमा–बुवाको लाडप्यारमा हुर्केका उनले हुने खाने बर्गका बालकले झैँ भौतिक सुखसयल त पाएनन् तर उनको बाल्यकाल भने सुखद नै रहयो। बुवा सोमराज न्यौपाने तथा आमा सावित्रादेवी न्यौपानेका ६ सन्तानमध्ये कान्छो छोरोको रूपमा २०३६ साल कार्तिक १४ गते दमौलीको स्याम्घामा जन्मिएका दिनेश न्यौपाने बाल्यकालमा आफू चन्चल र बदमास भएको कुरा सहर्ष स्वीकार गर्छन्।

बुवाको नेपाल बैँकको जागिर बारम्बार सरूवा भइरहँदा उनको शिक्षा एउटै विद्यालयमा निरन्तर हुन पाएन। अझै त्यसमा पनि स्कुल छाडेर चलचित्र हल, खोलानाला, बनजंगल अनि प्रकृतिको सौन्दर्य हेर्नमा नै उनी रमाउँथे। यिनै विविध कारणहरूले गर्दा उनको बाल्यकालको पढाइ खासै राम्रो र उत्कृष्ट हुन सकेन।

परिवारको जेठो छोराले जब बुवा सँगै पाविारिक जिम्मेवारी बहन गर्न थाल्दछ तब त्यो परिवारमा सुख र समृध्दिका ढोकाहरू खुल्न थाल्दो रहेछ। दिनेशका जेठो दाजु युवराज न्यौपानले काठमाडाैँ कीर्तिपुरस्थित भाजंगल मा.वि (हाल बैष्णबी मा.वि)का प्रधानअध्यापकको जिम्मेवारी सँगै परिवारको पनि जिम्मेवारी बहन गर्न थाल्नु भएपछि दाजु र दिदीहरूसँगै दिनेश पनि काठमाडाैँमा पढ्न थाले।

२०४७ सालमा बोर्डिङ्ग स्कुलको सुरूवात खासै नभएकोले दाजुकै स्कुलमा केही वर्षको अध्ययन पश्चात बोर्डिङ्ग स्कुलको शिक्षाले आफ्नो पढाइलाई अझै निर्खान मद्दत होस् भन्ने उद्देश्यका साथ कक्षा ९ मा भर्ना भइ पढन जाँदा भाषा नबुझेर र नजानेर उनको पढाइ पहिलेकोभन्दा अझ तल खस्कियो र भाषाले पनि विद्यार्थीको पढाइलाई असर गर्दाे रहेछ र शिक्षण माध्यम पनि उनीहरूको अध्ययमा बाधक हुँदो रहेछ भन्ने एउटा सत्य उजागर हुने माैका पनि पाए, उनले। अंग्रेजी भाषा नबुझेको र नजानेकै कारण उनले बोर्डिङ्ग स्कुल छाडेर फेरि दाजुकै बैष्णबी मा.वि मा कक्षा १० मा भर्ना भई २०५३ सालमा एस.एल.सी उतीर्ण गर्दासम्म पनि जीवनका अगाडिका उद्देश्य, गन्तव्य र सपनासँग कुनै परिचय नै भएको थिएन।


घरधन्दा सकेर व्यवसायमा फराकिलो परिचय


जेठो दाजु प्रधानाध्यापक हुनुका साथै गीत संगीतमा पनि पोख्त, माईला र साँइला दाजु शिक्षक, दुई दिदीहरू नृत्यमा अब्बल हुनाले घरको वातावरण शिक्षा र संगीतमय थियो। त्यसको रस पसेर होला दिनेशले पनि आफूभित्र गीत र संगीतलाई समाहित गर्न थालिसकेका थिए। काठमाडौँस्थित त्रिचन्द्र कलेजमा आइएससीको पढाइ सुरू गरे पश्चात उनको संघर्षका दिनहरूको सुरूवात भयो। बिहान ६ बजदेखि ११ बजेसम्म कलेज, दिउँसोको कोचिङ्ग अध्यापन र साँझ घरमा टयूसन पढाएर आफ्नो खर्च आफै जुटाउन थालेका उनले यतिबेला भने आफूलाई पढाइ सँगसँगै काममा पनि अभ्यस्त राख्न थाले। सानै उमेरदेखि नै खेलकुद र गीत संगीतमा पनि उत्तिकै रूचि भएकाले प्रमाण पत्र तह पढ्दै गर्दा नै एक निजी विद्यालयमा शिक्षण गर्न थालेका दिनेशले आफ्नो शिक्षणमा खेलकुद र मनोरञ्जनलाई पनि उत्तिकै प्राथमिकतामा राख्दथे, जसको फलस्वरूप उनी अन्य शिक्षकहरूभन्दा भिन्नै र विद्यार्थीहरूको प्रिय शिक्षक थिए।

ताहाचलको डेरा, जमलको कलेज अनि बूढानीलकण्ठ, चपलीको स्कुलको जागिर यी व्यस्त र अभ्यस्तताको जीवनमा पनि उनी रमाउन र अडिन भने सकेनन्।

‘मलाई सधैं केही नयाँ कुराहरू गरिरहनुपर्ने, प्रकृतिका छटाहरूमा रमाउन मन लाग्ने अनि कक्षामा पनि पाठ्यपुस्तकभन्दा बाहिरका अतिरिक्त क्रियाकलापहरूद्वारा विद्यार्थीहरूलाई पढाउने गर्दा कतिपय परम्परागत सोचाइ भएका अन्य शिक्षकहरूले त्यो कुरालाई स्वीकार गर्नै सकेनन्। करिब डेढ वर्षको शिक्षण पेसालाई बिट मारेर भारतमा गई गीतार सिकेर आँए र विराटनगरमा आफूजस्तै विद्यार्थीहरूलाई गीतारको प्रशिक्षण दिन थालेँ तर त्यो कुराले पनि मेरो चित्त बुझेन र त्यहाँबाट फर्केर केही साथीहरूसँगको साझेदारीमा स्टेस्नरी सामानहरूको सप्लाई गर्ने कम्पनी खोल्यौँ तर त्यो पनि धेरै लामो समयसम्म जान सकेन। यो बिचमा पनि मेरो बिबिएसको पढाइ भने शंकरदेव क्याम्पसमा जारी नै थियो। व्यापारबाट असफलता पाएपछि एउटा निजी कम्पनीमा एकाउन्टेन्टको काम पनि गरेँ तर त्यसबाट पनि म सन्तुष्ट हुन सकिनँ र त्यतिबेलासम्म पनि जिन्दगीको दोधार र दोसाँधमा आइपुगेर कहीँ कतै जाने ठाँउको टुंगो नै पाउन सकेको थिएन,’ उनी अतितलाई पल्टाउँछन्।

स्नातक त उतीर्ण गरे तर न त कुनै स्थायी जागिर, न त कुनै आम्दानीको बाटो, अन्यौलता अनि असमञ्जसताको त्यो कठिन परिस्थितिमा दिनेशको जीवनमा इश्वरको बरदान र आशिष बनेर आइन् सिर्जना शर्मा। सुन्दर, सुशील अनि प्रेमिल सिर्जनासँग पलाएको दिनेशको प्रेमको टुसो उनको जीन्दगीमा आउने दिनहरूका उन्नती र प्रगतिको फल लिएर आएको छ भन्ने कुरामा दिनेशलाई कुनै भेउ नै थिएन। दुबैको नि:स्वार्थ र निष्कलंक प्रेमलाई २०६२ सालमा विवाहमा परिणत गर्दै जीवनको यात्रालाई एकअर्काको साथ र सहयोगमा सहजताका साथ अघि बढाउँदै लाने क्रममा संर्घषका ती दिनहरू त उत्कट नै थिए तर एक मायालु साथीको साथ, आँट, भरोसा अनि आत्मबलयुक्त मार्गनिर्देशनले दिनेशको आत्मबल मात्र नभई जीवनमा केही गर्नैपर्ने पारिवारिक जिम्मेवारीको समेत बोध गराइदियो।

‘मेरो वैवाहिक जीवनको सुरूवाती दिनहरू अत्यन्तै कठिन मात्र थिएन, अभावको पिरलो यस्तो थियो कि गुजारा चलाउनकै लागि श्रीमतीको गलाको सुनको सिक्री बेच्नु परेको थियो,’ बोल्दाबोल्दै भावुक हुन्छन् दिनेश।

‘विवाह पश्चात घर छाडेर डेराको बास, बेरोजगारको अवस्था त्यसमाथि पहिलो सन्तानको जन्म भनि साध्य छैन संघर्षका ती दिनहरू तर सिर्जना मेरो जीवनसाथी मात्र नभई एक पथप्रदर्शक, प्रेरणा, हौसला र हरेक परिस्थितिमा निश्चयिताका साथ निर्णय लिन र दिन सक्ने असल अभिभावकको रूपमा मेरो जीवन संगिनी बनेर आएकी  थिइन,’ उनी सुनाउँछन्।

जीवनको नाउ जसोतसो खियाउँदै जानेक्रममा हरेक दिन पत्रिकाको विज्ञापनहरूमा आँखा डुलाउँदै जाँदा बालुवाटारको एक प्रतिष्ठित विद्यालयमा वातावरण विज्ञान र वातावरण, जनसंख्या तथा स्वास्थ्य विषय शिक्षकको विज्ञापनले उनको अगाडिका उन्नतीका ढोकाहरू खुल्दै गए। त्यस विद्यालयमा विषय शिक्षकको रूपमा नियुक्त भएका उनी त्यही विद्यालयको कार्यक्रम संयोजक, विषय विज्ञ संयोजक र उप–प्रधानाध्यापक हुँदै २०६९ सालमा नेपाल सरकारबाट वातावरण, स्वास्थ्य तथा जनसंख्या विषयको बेष्ट टिचर अफ काठमाडाैँ अर्वाड प्राप्त गर्न सफल भए, उनी।

मानिसलाई अभावले संघर्ष गर्न सिकाउँछ, संंघर्षले परिपक्व बनाउँछ र परिपक्वतामा गरेको हरेक निर्णयले सफलताका ढोकाहरू खोलिदैँ जानेछ भन्ने उखान दिनेशको जीवनमा यथार्थमा लागु भएको थियो।

थुप्रै आरोह अवरोहहरू पार गर्दै जीवनको यो मोडसम्म आईपुग्दा पद, प्रतिष्ठा, पैसा सबै हुँदा हुँदै पनि सन्तुष्टि भने थिएन, दिनेशलाई। किनकी अरूको नियन्त्रण र निर्देशनमा आफूभित्रका ज्ञान, विवेक, प्रतिभालाई सम्पूर्ण रूपले प्रष्फुटन र प्रयोग गर्न नसक्दा आफैभित्र उकुसमुकुस हुने गर्दथ्यो, उनलाई। तर, जहाँ इच्छा त्यहाँ उपाय भने झैँ उनको अन्तर्आत्माको त्यो आवाजले त्यतिबेला सार्थकता पायो जब उनी काठमाडाैँकै एक प्रतिष्ठित बोर्डिङ्ग स्कुलमा प्रधानअध्यापकको जिम्मेवारी सम्हाल्न पुगे। आफ्नो पदीय जिम्मेवारी सँगै विद्यार्थीहरूको सर्वाङ्गिण विकासका बिबिध कार्यक्रम तथा परियोजनाहरूलाई पाठ्यक्रम सँगसँगै उनीहरूको दैनिक व्यवहार तथा जीवनशैलीमा कार्यान्वयन गर्दै विद्यालयलाई एउटा प्रविधिमैत्री र उपर्युक्त शिक्षा प्राप्त गर्ने थलोको रूपमा अघि बढ्दै जाँदा अझै पनि उनी भित्रको शिक्षा सेवा भाव र एउटा निर्देशनात्मक कल्पनाशीलताले दिनेशलाई हरपल झकझकाइ रह्यो।

अन्तमा उनको अन्तरमनको अवचेतनशील आत्माले एउटा ठोस निर्णय लिन सफल भयो। शिक्षा क्षेत्रलाई नै आफ्नो कर्मक्षेत्र बनाइरहेका तीन जना घनिष्ठ मित्रहरूको संयुक्त उद्देश्य र लगानीमा अहिलेको यो नयाँ पुस्तालाई आवश्यक प्रविधिमैत्री, सीपमूलक, व्यवसायिक, ब्यबहारिक र जीवनोपयोगी शिक्षा दिने उत्कट उद्देश्यका साथ २०७४ सालमा काठमाडाैँ महाराजगञ्जस्थित ‘काठमाडाैँ मेरिडियन स्कुल’को स्थापना गरी करिब पाँच सय विद्यार्थीहरूको सुनौलो भविष्यको रेखा कोर्दै गर्दा विद्यार्थी मात्र नभइ सम्पूर्ण शिक्षक तथा अभिभावकको समेत प्रधानाध्यापकीय जिम्मेवारी लिइरहेका ४१ वर्षीय युवा दिनेश न्यौपाने सन् २०२१ मा बेष्ट प्रिन्सिपल अफ एसिया र सन् २०२२ मा रिमार्केबल कन्ट्रीब्युसन इन एजुकेशन सेक्टर अर्वाडबाट सम्मानित भएका छन्।

मेरो वर्षाै अगाडि देखिको शिक्षा क्षेत्रमा गरेको मेहनत, परिश्रम र क्रियाकलापको उत्कृष्ट नतिजा हो, यो। उनी भन्छन्,‘जीवनमा अन्य क्षेत्रमा पनि काम गरेर हेरेँ, व्यापार व्यवसाय पनि गरेँ तर म कुनै पनि काममा सफल हुन सकिनँ किनकी मेरो भित्री झुकाव र रूचि केवल शिक्षा क्षेत्रमा नै केही योगदान गर्नुपर्छ भन्ने नै थियो। त्यसैले जो कोही व्यक्तिले पनि आफ्नोभित्री उत्कट इच्छा, रूचि, दक्षता, क्षमता र योग्यता कुन विषयबस्तुप्रति धेरै लगाव र झुकाव छ भन्ने कुरालाई चिनेर त्यसलाई एक प्रतिष्ठित पेसा वा सेवाको रूपमा अघि बढाउने हो भने सफलता र सन्तुष्टि खोज्न कहीँ जानु पर्दैन।’

जीवन एक अविरल यात्रा हो यससँग डराएर, भागेर, तर्सिएर, यो कदापि पूरा हुन सक्दैन तर हरेक परिस्थितीमा यससँग जुध्दै, लड्दै, पन्छाउँदै कहीँ कतै विश्राम नलिई निरन्तर यसलाई जारी राख्ने व्यक्ति नै एकदिन सफलताको शिखरमा पुग्ने गर्दछ भन्ने दार्शनिक स्वभावका दिनेश स्वच्छ, निष्कलंक, नि:स्वार्थ भावना सहितको विश्वास हो प्रेम र प्रेम नै जीवनलाई उर्जा दिने एउटा श्रोत हो, भन्छन्।

आफ्ना दुई सन्तानहरू (सामिप्य/आरोन न्यौपाने) जन्मदाको क्षण जीवनको सबैभन्दा खुसी र आफूले सकारात्मक उद्देश्यका साथ गरेका कार्यहरूमा पनि नकारात्मक टिप्पणी र नतिजाहरू आउँदा दुख लाग्ने गरेको बताउँछन्। उनी केही समयभित्र स्कुलले कक्षा ११ र १२ को पनि कक्षा संचालन गर्दै यो शताब्दिका पुस्ताहरूलाई प्रविधिमैत्री, व्यवसायिक, व्यवहारिक र जीवनोपयोगी शिक्षा प्रदान गर्ने योजना रहेको पनि बताउँछन्।

प्रकाशित मिति: : 2022-06-07 19:00:00

प्रतिकृया दिनुहोस्

    Beautifully written a brief biography of an examplery person. I had no idea you have such an excellent talent in Nepali writing, Sunita ji. Keep it up pls.

    • 2 बर्ष अगाडि
    • Mahendra B. Gurung