पाचन प्रणाली ब्याक्टेरिया, भाइरसलगायत विभिन्न चरित्रका सूक्ष्माणुको घना बस्ती हो। पाचन नलीमा रहेका विभिन्न सूक्ष्माणुको जमातलाई ‘गट माइक्रोबायोम’ भनिन्छ। इजराइलको बाइजम्यान इन्स्टिच्युटका वैज्ञानिकहरूले प्रकाशित गरेको एक अध्ययनले हाम्रो शरीरमा मानवीय कोस (सेल) भन्दा अधिक संख्यामा बाह्य सूक्ष्माणुका कोस रहेको भन्छ।
अन्वेषणले स्वस्थ मानिसको शरीरमा झन्डै आधा किलोको हाराहारीमा ब्याक्टेरिया रहेको देखायो। ब्याक्टेरिया र भाइरसको नाम सुन्दै काहालिने मानिसलाई आफ्नो शरीर खरबाैं सूक्ष्माणुको वासस्थान रहेको थाहा पाउँदा आँङै सिरिङ्ग हुनु अन्यथा होइन। पछिल्ला दशक प्रकाशित दर्जनाैँ अध्ययनहरूले माइक्रोबायोमको महत्व दर्सायो। खाना पचाउन र मानसिक स्वास्थ तन्दुरुस्त राख्न मात्र होइन, बरु प्रतिरक्षा संयन्त्र (इम्युन सिस्टम) लाई सुदृढ बनाई बाह्य संक्रमणबाट जोगाई रोग लाग्न नदिनुमा समेत आन्द्रामा रहेका ब्याक्टेरियाहरूले भूमिका खेलेको प्रमाणित भयो।
माइक्रोबायोमको अध्ययन अहिलेसम्म पनि प्रारम्भिक चरणमै रहेकाले आगामी दिनमा ‘गट ब्याक्टेरिया’को महत्व सम्बन्धी थप जानकारी सार्वजनिक हुँदै जाला भन्ने आशा गरौँ। हालै ‘गट ब्याक्टेरिया’ लाई परिमार्जन गरी विगतमा निस्प्रभाव देखिएको ओखतीलाई पुनः प्रयोग गरी बिरामी क्यान्सरमुक्त हुन सफल भएको खबर छापियो। माइक्रोबायोम परिमार्जनमार्फत विज्ञानले अर्बुदरोगको इलाजमा खेलेको भूमिकाको चर्चा गर्नु यो लेखको मर्म रह्यो।