बढ्दो वैवाहिक सम्बन्धविच्छेद : कता जाँदैछ नेपाली समाज ? 

बढ्दो सम्बन्ध विच्छेदका घटनाले नेपाली पारिवारिक अवस्था अस्वस्थ बनाउँदै लगेको छ। यसले नेपाली समाजलाई नै विखण्डन गर्दैछ।

Symbolic photo
Symbolic photo

दाङकाे घोराही उपमहानगरपालिका–६ का २६ वर्षीय नारायणले विदेशिनुअघि विवाह गरे। लगत्तै विदेश उडे। सात समुन्द्र पारी र वारीको सम्बन्ध ठिकै थियो। विवाहको तीन वर्ष पुग्न लाग्दै थियो। यो बीचमा उनीहरूकाे एउटा दुई वर्षको छोरा भइसकेको थियो। एक दिन नारायणलाई खबर पुग्यो– घरमा श्रीमती दुई दिनदेखि सम्पर्कमा छैनन्। छोरालाई एक्लै छाडेर कहाँ गइन् भन्ने कुनै पत्तो छैन।

त्यसपछि नारायण स्वदेश फर्किएर खोजतसाल सुरु गरे। अनि थाहा भयो श्रीमती त अर्कैसँग विवाह गरेर गएकी रहिछन्। ‘अन्तै विवाह गरेको थाहा पाउँदापाउँदै पनि श्रीमतीलाई घर फर्किन आग्रह गरेँ, फकाएँ। तर मानिनन्,’ उनले भने, ‘छोराको भविष्य सम्झिएर धेरै रोएँ।’

केही विकल्प नभएपछि दुबैजना अदालत पुगे। र, आ–आफ्नो बाटो रोजे। प्रेम गरेर जोडेको सम्बन्ध तीन वर्ष पनि टिकाउन नसकेर उनी पुनः विदेश फर्किए।

०००

घोराही–१६ की २७ वर्षीया मालती विकले परिवारले रोजेकै केटासँग विवाह गरिन्। विवाह गरेको दुई महिना पुगेको थिएन, उनलाई श्रीमानले कुटपिट गर्न थाले। कुटपिट गर्नुका पछाडि अरु केही कारण थिएन, मात्र श्रीमान रक्सीका अम्मली थिए। रक्सी खाएपछि आफूमाथि कुटपिट हुने गरेको उनले बताइन्।

विवाह गरेको दुई महिनादेखि नै कुटपिट हुन थालेको भएपनि श्रीमान सुध्रने आशामा उनी आधा दशक घर छाडेर हिँडिनन्। घरपरिवारले रोजेको श्रीमान कसो नसुध्रेलान् र भन्ने उनमा विश्वास थियो। तर श्रीमान सुध्रने कुनै छाँट देखिएन।

‘श्रीमानको बानी फेरिन्छ कि भनेर धेरै वर्ष यातना सहेर बसें,’ उनले भनिन्, ‘तर फेरिएन।’ यो बीचमा उनीहरुको दुई छोरा भइसकेका थिए। हिंसाको उत्कर्ष झन् बढ्दै गएको थियो। दुई नाबालकको पिरले धेरै समयसम्म श्रीमान छाड्न नसकेको मालती बताउँछिन्।

‘कुटपिट भएपनि छोरोको भविष्य हेरें। अन्य केही सोचिनँ,’ उनले भनिन्, ‘तर धेरै भयो भने आफ्नो जीवनको पनि माया लागेर आउने रहेछ। अनि बाध्य भएर छुट्टिएर बस्ने निर्णय गरेँ।’ अन्ततः सम्बन्ध १० वर्ष टिक्न नपाउँदै टुट्यो। २०७१ साल माघ १२ गते कानुनी रुपमा उनले श्रीमानसँग सम्बन्ध बिच्छेद गरिन्।

०००

यस्तै घोराही–१५ का १७ वर्षीय किशोर र १६ वर्षीया किशोरीले चिनाजानी भएको छोटो समयमै प्रेम विवाह गरे। विवाहको छ महिना सुखमय बित्यो। त्यसपछि भने किशोरको व्यवहार फरक देखियो। समयमै घर आउन छाडे। बोल्नै छाडे।

किशोरीले श्रीमान अर्कासँग नजिकिएको सुइँको पाएपछि दुबैबीच मनमुटाव सुरु भयो। झगडाले ठूलो रुप लियो। हानथापको परिस्थिति सिर्जना भयो। अन्ततः वर्ष दिन पनि नपुग्दै सम्बन्ध टुट्यो। २०७४ साल साउन २१ गते उनीहरु अदालतमा पुगेर कानुनी रुपमा सम्बन्ध बिच्छेद गरे।

०००

यी माथि उल्लेख गरिएका तीन उदाहरणजस्तै पछिल्लो समय सम्बन्धविच्छेदका घटना बढ्दै गएका छन्। अदालतमा डरलाग्दो रुपमा वैवाहिक सम्बन्धमा जोडिएकाहरु सम्बन्धविच्छेद गराउन आउनेको संख्या वर्षैपिच्छे बढिरहेको छ।

दाङ जिल्लाको तथ्याङ्कलाई हेर्ने हो भने गएको अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा जिल्ला अदालत दाङमा १ हजार ६ वटा मुद्दा सम्बन्धविच्छेदका परेका थिए। बितेको एक वर्षमा जिल्लामा यो संख्या बढेर १ हजार ३७९ वटा मुद्दा अदालतमा परेका छन्।

जिल्ला अदालत दाङको तथ्याङ्कले आर्थिक वर्ष २०७८/७९ मा १ हजार ३७३ वटा बढी सम्बन्धविच्छेद भएको देखाउँछ। यो तथ्याङ्कले नेपाली समाजमा सम्बन्धविच्छेदको घटना प्रत्यक वर्ष बढिरहेको देखाउँछ। अघिल्ला वर्षभन्दा पछिल्लो वर्षहरुमा आधा बढीले सम्बन्धविच्छेदका मुद्दा बढेर गएको जिल्ला अदालत दाङका मुख्य न्यायधीश रितेन्द्र थापा बताउँछन्।

आर्थिक वर्ष २०७८/७९ मा जिल्ला अदालत दाङमा कुल ४ हजार ७९९ वटा विभिन्न मुद्दामध्ये १ हजार ३७९ वटामात्र सम्बन्धविच्छेदका छन्। यो संख्या कुल मुद्दाको ३५ प्रतिशत हो।

कता जाँदैछ नेपाली सामाज?

बढ्दो सम्बन्धविच्छेद समाजको लागि चिन्ताको विषय भएको बताउँछन्, समाजशास्त्री माधव गौतम। सम्बन्धविच्छेदले नेपाली समाजलाई विखण्डन बनाउँदै लगेको उनी सुनाउँछन्। भन्छन्, ‘परिवार टुक्रिनु समाजकै चिन्ताको विषय हो। यसलाई रोक्न सकिएन भने कालान्तरमा नेपाली समाजको अस्तित्व रहँदैन।’

समाजशास्त्री गौतमले पारिवारिक विखण्डनले बालबालिकाको मनोविज्ञानमा समेत असर पुग्ने बताउँछन्। भन्छन्, ‘सम्बन्धविच्छेदले श्रीमान–श्रीमतीको मात्र सम्बन्ध बिग्रँदैन, बालबालिकाको मनोविज्ञानमा समेत ठुलो असर पुग्छ।’ पारिवरिक विखण्डनका कारण बालबालिकाले अभिभावकबाट माया, साथ र संरक्षण नपाउँदा गलत बाटोतर्फ जान सक्ने उनको भनाइ छ।

‘सम्बन्धविच्छेदले एउटा परिवारसँगै बालबालिकाको भविष्य पनि बिग्रन्छ’, उनले भने, ‘सम्बन्धविच्छेदले बालबालिकाले आमा बुबाबाट पाउने माया पनि खोसिन्छ।’ बाल मनोविज्ञसमेत रहेका गौतमले बालबालिकालाई आमाबुवाको माया बराबर हुनुपर्ने बताए। उनले भने, ‘आमा वा बुवा एकको मायाको अभाव पूर्तिका लागि बालबालिका भौँतारिन्छन्, अनि गलत संगत गर्दै जान्छ र बिग्रने सम्भावना हुन्छ।’

किन हुन्छ सम्बन्धविच्छेद

सम्बन्धविच्छेद हुनुका पछाडि ३/४ वटा कारण रहेको भन्दै त्यसलाई रोक्न सकियो भने सम्बन्धविच्छेद कम हुने बताउँछन्, समाजशास्त्री गौतम।

उनका अनुसार श्रीमान–श्रीमती एकअर्कामा सम्मानको भावना नहुँदा सम्बन्धविच्छेद हुने गरेको छ। उनले एकअर्काले सम्मान गर्ने भावना विकास गर्नुपर्ने बताए। श्रीमान–श्रीमती एक रथका दुई पांग्रा भनेझैँ सम्बन्ध जोगाउन पनि एक अर्कोको कमीकमजोरी स्वीकार गर्नुपर्ने उनको भनाइ छ।

त्यस्तै पश्चिमा संस्कृतिको प्रभावले पनि सम्बन्धविच्छेद बढेको गौतमको बुझाई छ। ‘जसले जतिसँग पनि विवाह गरे हुन्छ भन्ने भावना विकास भइरहेका छ’, उनले भने, ‘विवाहलाई कच्चा धागाेको रुपमा लिने पश्चिमा सोचाइले पनि सम्बन्ध बिच्छेदलाई बढावा दिइरहेको छ।’

यस्तै उनले सम्बन्धविच्छेद हुनुका कारणहरुमा इन्टरनेटको दुरुपयोग, कानुनको दुरुपयोग, बेरोजगारी, घट्दो एकात्मक परिवार आदि कारणले सम्बन्धविच्छेद हुने गरेको बताए।

साथै महिलाहरुका लागि अहिलेको कानुन बलियो रहेको र कतिपयले त्यसको दुरुपयोगसमेत गर्दा सम्बन्धविच्छेद बढेको गौतमको भनाई छ।

‘कतिपय महिलाले पैसा कमाउने उदेश्यले विवाह गर्दै फेरि सम्बन्धविच्छेद गर्दै गरेका पाइन्छ’, उनले भने, ‘यसरी कानुनको दुरुपयोग हुँदा पनि सम्बन्धविच्छेद बढेको छ।’ 

प्रकाशित मिति: : 2022-07-25 21:25:00

प्रतिकृया दिनुहोस्