बिहान फेसबुक खोल्दै गर्दा एउटा समाचार देखेँ– एसईईको रिजल्ट सार्वजनिक हुँदै।
त्यो समाचार देख्ने बित्तिकै हतारिँदै पाटनमा भएकी दिदीको छोरा सन्दिपलाई फोन गर्दै भनेँ, ‘भाइ तेरो आज एसईईको रिजल्ट रहिछ, कत्तिको डर लागिराछ तँलाई?’
जवाफ आयो, ‘छैन, किन नडराउनु र?’ उसको कुरा सुनेर जिस्काउँदै भन्ने थालेँ, ‘तँ मलाई नढाँट। रिजल्ट आउनेबेला हालत के हुन्छ, थाहा छ मलाई बाबु?’
उनले हाँस्दै भने, ‘हामी तिमीहरु जस्तो केटी मान्छे होइन, सानोतिनो कुरामा डराइहाल्ने।’
भलै, ऊ नाताले मेरो छोरा पर्छ। तर सानैदेखि मेरो नजिक भएकाले होला उसले मलाई तँ भनेर सम्बोधन गर्छ। जसलाई मैले सजिलै स्वीकार गरेको छु।
उताबाट सन्दिपले हामी केटा मान्छे तिमीहरू जस्तो डरपोक होइन रिजल्ट आउँदा डराउने भनिरहँदा म चुपचाप थिएँ। अनि ६ वर्षअघिको कुरा सम्झिँदै आफैँलाई प्रश्न गर्न थालेँ, ‘के म डरपोक थिएँ?’
मलाई अझै याद छ, त्यो दिन। जुन दिन थियो, मेरो एसएलसीको रिजल्ट आएको।
असार २ गते बिहान, एकाएक कुरा फैलियो–आज एसएलसीको रिजल्ट आउँछ रे!
त्यो कुरा मेरो कानमा पर्ने बित्तिकै एक्कासी झस्किएँ। खाना नखाने भनेर किनेर ल्याएको आँप खान मनै लागेन।
चाना–चाना गरेर काटिएर राखिएको आँप देखेर मम्मीले भन्दै हुनुन्थ्यो, ‘यो काटेको आँप किन नखाको?’
मम्मीले त्यसो भनिरँहदा आँप खान खोजेँ तर आटैँ आएन। त्यो पहिलो पटक थियो, मलाई मनपर्ने फल मेरै अगाडि थियो तर मैले खानै सकिनँ। कारण थियो एसएलसी रिजल्टको डर।
बिहानदेखि नै केही नखाई बसेकी म भोकले छटपटाउन थालिसकेकी थिएँ। खाली भएर होला पेट कराउन थालिसकेको थियो। तर मनै भएन, केही खान र काम गर्न।
एकोहोरो टोलाइरहेकी मलाई मम्मीले कराउँदै भन्न थाल्नुभयो, ‘परीक्षा राम्रो भएन? किन यत्रो चिन्ता लिएको तैँले।’
मम्मीलाई जवाफ दिँदै भने, ‘परीक्षा त राम्रै भएको छ, तर खोई किन डर लागिरहेको छ।’
दिउँसोको तीन बजेको थियो। बहिनी भन्दै आइन्, ‘ओई दिदि तिमीहरुको रिल्जट भयो रे त हेरिस्?’
उसको कुरा सुनेर डराएर बसेकी म झनै आत्तिन थालेँ। त्यहीँबेला फेसबुक खोलेर हेर्न थालेँ। सबैले आफू एसएलसीमा पास भएको खुसी सेयर गर्दै थिए।
साथीहरुलाई म्यासेज पठाएर सोध्न थालेँ, ओई तिमीहरुले रिजल्ट हेर्यौँ? उताबाट जवाफ आयो, हेरौँ नी। तिमीले हेरेको छनौँ र?’ मैले ‘नाई’ भन्दै म्यासेज पठाएँ।
यता बहिनीले भने दराजमा राखिएको ‘एडमिट कार्ड’ निकाल्न थालिन्। अनि भनिन्, ‘किन डराइरा तँ? हुने कुरा भइसक्यो। डराएर पनि के गछेस्।’ उसको कुरा सुनेर हाँस्दै भने, ‘छैन डराएको!’
उसले मलाई एसएलसीकाे प्रवेश पत्र दिँदै भन्न थालिन्, ‘मेरो एकछिन बाहिर जाने काम छ, तँ रिजल्ट हेदैँ गर। तर म घर आइपुग्दा चाहिँ खुसीको खबर सुनाउनुपर्छ है।’
उसले मलाई दिएको एडमिट कार्डकाे ‘सिम्बोल नम्बर’ हेर्दै मोबाइलमा टिप्न थालेँ। त्यसाे गरिरहँदा यति जोडले मेराे मुटु धटकियो कि मानौँ मुटु नै बाहिर निस्किन चाहन्छ।
१६०० नम्बरमा एसएमएस पठाएको एकैछिनमा उताबाट म्यासेजको घण्टी बज्यो। जुन हेर्ने मसँग हिम्मत नै भएन। तर साथीहरु पास भइसकेको कुरा सम्झिपछि मनमा आँट आयो।
मोबाइलमा आएको म्यासेज हेरेँ, रिजल्ट ‘जीपिए’ मा थियो। त्यहीँ नम्बर हेर्दा थाहा भयो, मेरो त ‘फस्ट डिभिजन’ आएको रहिछ।
रिजल्ट देखेर यति खुसी भएँ कि, त्यो दिन जस्तो खुसी त म कहिल्यै भएकी थिइनँ।
मनमनै रमाइरहेकी थिएँ, कोसँग खुसी साट्यौँ भनेर सोच्दै थिएँ। त्यतिनै बेला मेरो ठूलो दादा आउनुभयो। दादालाई देख्न साथै एक्कासी अगाँलो हाल्दै भक्कानिएँ।
म रोएको देखेर दादाले सोध्दै हुनुन्थ्यो, ‘के भो बुने, किन तँ रोएको?’ दादाको कुरा सुनेर भने, ‘एसएलसीको रिजल्ट आयो’ दादाले फेरि भन्नुभयो, ‘अनि के फेल भइस् र?’ मैले होइनको इसारामा टाउको हल्लाएर पास भएकाे कुरा सुनाएँ।
दादाले यति राम्रो नम्बर ल्याउँदा किन रोएको भन्दै सोध्न थाल्नुभयो। म चुप मात्र बसेँ।
म पासको भएको कुराले खुसी हुँदै दादाले पैसा दिँदै भन्नुभयो, ‘लड्डु ल्याएर बाड्नुँ है।’
अरुबेला चित्त दुख्दा मात्र रुने म त्यो दिन भने खुसीले रुएको थिएँ। त्यो दिन बल्ल मलाई थाहा भयो, आँखाबाट दुखको मात्र होइन खुसीको आँसु पनि झर्ने रहिछ।
एसएलसीको रिजल्ट पाउँदा जति म खुसी थिएँ, त्यति नै खुसी सबैलाई मिलोस्। सफलताको शुभकामना।