सिंजाकाे हाट : एक ऐतिहासिक व्यापारिक केन्द्र

Breaknlinks
Breaknlinks

‘सिंजा हाट, दुल्लु विराट’

प्रस्तुत वाक्यांशले इतिहासमा सिंजामा हाट रहेकाे र दुल्लुमा रहेकाे विराट दरबारबाट साम्राज्य संचालन गरिएकाे भन्ने अर्थ लगाउँछ।

व्यवस्थित साम्राज्यकाे सुरुवात सिंजा हालकाे कनकासुन्दरीबाट सुरु भएकाे विभिन्न, अध्ययन अनुसन्धानबाट पुष्टि भएकाे छ। दुल्लुमा विराट दरबार खडा गर्नुभन्दा पहिला सिंजामै विराट दरबार थियाे।

साविककाे विराट गा.वि.स.काे नामाकरण पनि साेही दरबारबाट गरिएकाे थियाे भने उक्त स्थानमा अहिले पनि दरबारका भग्नावशेषहरु भेटिन्छन्। पछि माैसमका कारण राजधानी दुई ठाउँबाट संचालन भएकाे देखिन्छ।

चिसाे अत्यधिक हुने बेला दैलेखकाे दुल्लु र वर्षामा सिंजाबाट राज्य संचालन हुन थाल्याे। विस्तारै प्रशासनिक केन्द्रकाे रुपमा दुल्लु विकास हुँदै गएपछि सिंजालाई व्यापारिक केन्द्रकाे रुपमा विकास गरियाे।

त्यसैले अहिले पनि जनजिब्राेमा झुन्डिइरहने वाक्यांश हाे, ‘सिंजा हाट, दुल्लु विराट।’

सिंजा साम्राज्य विघटन भएर जुम्ला राज्यकाे अस्तित्व हुन्जेलसम्म पनि सिंजामा हाट लाग्थ्याे। हाटसिंजा अहिले पनि अस्तित्वमा छ। तर, पछिल्लो समय त्यहाँ हाट लाग्दैन। हाटसिंजा केवल एउटा गाउँकाे रुपमा सिमित भएकाे छ। जुन सिंजा उपत्यकाकाे उत्तरपूर्वी भागमा अवस्थित छ।

इतिहासमा हाटसिंजा सिंजा साम्राज्यकाे एक प्रमुख व्यापारिक केन्द्र थियाे। जहाँबाट उत्तरमा तिब्बत र दक्षिणतिर भारतसम्म व्यापार व्यवसायकाे मार्ग बनेकाे थियाे।

उत्तरतिरबाट सुन र नुन आउँथ्याे भने विनिमयका लागि अन्न सिंजामा उत्पादनलाई जाेड दिइएकाे थियाे। दक्षिणबाट सामुद्री किनारमा पाइने पुली, तुथाे आउँथ्याे भने बहुमुल्य हिराकाे लागि सिंजामा बाज खेतीलाई प्राथमिकता दिइएकाे थियाे।

बाज समुद्रमा हिरा भएकाे किरा मार्न प्रयाेग हुने गरेकाे इतिहासका जानकार तुङ्गनाथ उपाध्यायकाे तर्क छ।

बहुतै किम्ति मानिएकाे बाजलाई पासाे हालेर जिउँदै छाेप्ने र त्यसलाई घरमा ल्याइ तालिम दिएर पाेख्त भइसकेपछि महंगोमा मूल्यमा बिक्री गर्नुलाई बाज खेती भनिन्थ्यो।

यसरी व्यापारिक केन्द्र मानिएकाे हाट सिंजाले उत्तर र दक्षिणतिर ठूलाे व्यापारिक संजाल निर्माण गरेकाे थियाे। वि.सं.१८४६ मा गाेर्खालीकाे आक्रमणकाे बेलासम्म पनि सिंजामा हाट लाग्थ्याे।

सिंजामा लाग्ने हाट आर्थिक, सामाजिक, साँस्कृतिक, ऐतिहासिक र भू-राजनीतिक दृष्टिले पनि निकै महत्वपूर्ण मानिन्थ्याे।

व्यापारलाई अपार मान्ने चलन उइलेदेखिकाे हाे। त्यसैले सिंजाकाे हाटले समग्र साम्राज्यलाई नै आर्थिक रुपमा बलियाे बनाउन सम्भव भएकाे थियाे।

हरेक वर्षजसाे आसपासका राज्यसँग युद्ध गरेर जित्ने राज्यकाे रुपमा आफूलाई स्थापित गर्न सक्नुकाे पछाडि सिंजा आर्थिक रुपमा बलियो हुन सक्नु नै हाे।

हाट गएपछि घरका लागि केही न केही ल्याउने चलन हालसम्म पनि कायम छ। याे कर्णालीका गाउँबस्तीमा केही मिठो चीज वा राम्रो वस्तु लिनु पर्दा हाट जान्छु भन्ने प्रचलन छ।

‘हाट जानू, डाैठाे ल्याउनु, हाट गया भयाे कि डाैठाे ल्या भयाे!’जस्ता उखान प्रचलनमा छन्।

डाैठाे भनेकाे कसैले सम्मान गर्दा पहिरिने पछ्याैरा आकारकाे तर एक विशेष रंगकाे बुट्टेदार कपडा हाे। यसकाे मतलब हाट गएपछि केही नयाँ वस्तु घर भित्रिइन्छ र त्याे सम्मानित हुन्छ भन्ने छ।

हाटकाे साँघुराे अर्थ दाेकान भन्ने हुन्छ। तर, बाेलीचालिबाट भने यससलाई बृहत् अर्थमा बुझिन्छ। त्यसैले एउटा ठूलाे व्यापारिक केन्द्र भने फराकिलो रुपमा बुझ्नलाई व्यापारिक केन्द्र भन्नू नै उपयुक्त हुन्छ।

इतिहास र संस्कृति सम्बन्धीका जानकार रमानन्द आचार्यकाअनुसार शहरको विकास भइनसकेको अवस्थामा वस्तु विनिमयकाे माध्यमबाट एक अर्काका आवश्यकता पूरा गरी काम चलाउन ताेकिएकाे स्थानलाई नै हाट बजार हाे।

मुद्राकाे विकास नभएकाे सिंजामा पैसाले किनमेल गर्ने चलन निकै पछाडि आएकाे हाे। ऊन दिएर अन्न लिने, अन्न दिएर लत्ताकपडा किन्ने जस्ताे काम हाट बजारमा हुन्थ्याे।

पछि सिंजाकाे हाट बजारले आफ्नाे दायारा फराकिलाे बनाएर भारतकाे कुमाउ, गडवाल पिथाैरागडसम्म विस्तार गरेकाे पाइन्छ। सिंजा साम्राज्य साँघुरिदै गएपछि कञ्चनपुर पारी जोल्जी, गोलाघाटमा हाट लाग्ने थालेकाे थियाे।

देश जंगबहादुर राणाको उदयपछि दाङ र कान्छो हाटका रुपमा नेपालगञ्ज खुलेको थियाे। १९औं शताब्दी पछिका पुस्ताले त्यही हाटमा जाने आउने गर्दै आएका थिए।

जुम्ला राज्यमा गाेर्खालीकाे आक्रमणपछि हाट बाजारकाे अर्थ भने साँघुरिदै गयाे। हाल आएर हाटबजारलाई खुला सडक वा चौरमा गरिने व्यापार सम्झन थालिएकाे छ।

यसरी साँघुरिदै गएकाे र कर्णालीमा मेला पर्व बाहेक अरु समयमा नलाग्ने अवस्थामा पुगेकाे हाटलाई सिंजा गाउँपालिकाले संस्कृतिकाे रुपमा ब्युताउन खाेजेकाे छ।

संस्कृतिकाे पुनरुत्थान गर्न हरेक महिनाकाे पहिलाे दिन सिंजा गाउँपालिकाकाे केन्द्र नराकाेटमा हाट बजार लाउने निर्णय गरेकाे सिंजा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले बताए।

‘गाउँपालिकाको प्रशासनिक केन्द्र नराकोटमा साउन एक गते विधिवत रुपमा हाट बजार सुरु गरिएको छ,’ अध्यक्ष धितालले बिएल नेपाली सेवासँग भने, ‘यसलाई संस्कृतिकाे रुपमा विकास गर्ने तयारी छ।’

सिंजाको संस्कृतिको जगेर्ना तथा स्थानीय उत्पादनलाई बजारीकरण गर्न हाट बजार परम्पराकाे थालनी गरिएकाे उनले थपे।

‘यो एउटा ऐतिहासिक र अर्थतन्त्रमा सघाउने दीर्घकालीन बजार विकासको कार्य हो,’ उनले भने, ‘गाउँ सरकारले यसको प्रवद्र्धनमा जोड दिन्छ।’

सिंजामा सुरु भएकाे हाट बजारमा कला र गला प्रसतुत गर्ने, चाहिएकाे तरकारी फलफूल र स्थानीय उत्पादन खरिद गर्ने, मेला भर्ने, रमाइलो गर्ने एउटा नयाँ संस्कृतिकाे विकास गर्ने र पैठकाे संस्कारलाई प्रवर्द्धन गर्ने बताइएको छ।

प्रकाशित मिति: : 2022-07-21 22:05:00

प्रतिकृया दिनुहोस्