आउँदो प्रतिनिधिसभा निर्वाचनका लागि गृहजिल्लाबाट टिकट माग्दै काठमाडौं केन्द्रीत कतिपय नेताहरू शक्ति केन्द्र धाइरहेका छन्।
पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको निजी निवास भरिभराउ देखिन्छ। एमाले स्रोतका अनुसार टिकटका लागि लबिङ गर्न बालकोट जानेहरूको लामै लर्को छ।
दशौं महाधिवेशन यता ओलीनिवास बालकोटसँगै महासचिव शंकर पोखरेल निवास कोटेश्वरमा पनि नेता–कार्यकर्ताको बाक्लो भीड छ।
बालकोटको तुलनामा अन्य पार्टीका शीर्ष नेताहरूको निजी निवास सुनसान देखिएको सुरक्षा अधिकारीहरूले जनाएका छन्। बरू पार्टी कार्यालयमा ह्यात्तै चहलपहल बढेको छ।
अध्यक्ष ओलीलाई भेट्न केन्द्रीय सदस्यसहित जिल्ला–जिल्लाबाट नयाँ–नयाँ कार्यकर्ताहरू आइरहेको सचिवालयका एक सदस्यले बिएल नेपाली सेवालाई जानकारी दिएका छन्।
त्यसो त केन्द्रीय सदस्य कोमल वली र विष्णु रिजाल आजभोलि दिनदिनै बालकोट पुग्छन्। उनीहरू सकेसम्म अध्यक्ष ओलीलाई भेट्छन्। नमस्कार गर्छन्। गफिन खोज्छन्। बेलामौकामा जिल्ला जान्छन्। तर उनीहरू नै गाउँ–ठाउँका हर–खबर रिपोर्टिङ गर्छन्। कहिलेकाहीँ ज्यादै भीडभाड हुँदा चिया पिएर घर फर्किन्छन्।
उपत्यका नछाड्ने केन्द्रीय सदस्य वली–रिजाल दाङ र दैलेखबाट आउँदो प्रतिनिधिसभा निर्वाचनका लागि तीव्र आकांक्षी मानिन्छन्। उनीहरू टिकट माग्दै ओली निवास बालकोट धाइरहेका छन्।
पछिल्लो समय सबैभन्दा बढी ‘बा’ भेट्न बालकोट जानेमध्येमा उनीहरू नै शीर्ष स्थानमा पर्छन्। राप्रपा छाडेर एमाले प्रवेश गरेलगत्तै राष्ट्रियसभा सदस्य बनेकी वली सौराहा महाधिवेशनबाट एकैचोटी केन्द्रीय सदस्यमा छानिएकी हुन्।
‘कोमल दिदीलाई दंगाली जनताले पत्याउँदैनन्। उहाँ फेरि अवसर खोज्दै हिँड्नु हुँदैन! क्षेत्र नम्बर ३ का मतदाताले युवराज ज्ञवाली कि घनश्याम पाण्डेलाई खोजेका छन्। पार्टी फेर्दै हिँडनेहरूलाई महासचिव शंकर कमरेडले पनि धेरै बोक्नु हुँदैन,’ एमाले तुलसीपुरका एक पदाधिकारी भन्छन्।
त्यस्तै, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा सल्लाहकारको भूमिकामा रहेका रिजाल एमाले विभाजन–ताका ओली समूहमा जोडिएका अर्का पात्र हुन्।
उनी उपाध्यक्ष विष्णु पौडेलको जोडबलमा कर्णाली भू–गोलबाट केन्द्रीय सदस्य तथा दैलेख सह–इन्चार्ज र प्रचार विभाग उपप्रमुख बनेका छन्।
ओलीले प्रतिनिधिसभा विघटन गर्दा सबैभन्दा चर्को आलोचना गर्ने रिजाल आजकल सबैभन्दा प्रिय बन्ने अभियानमा लागेको एमाले दैलेखका एक सचिवालय सदस्य बताउँछन्।
‘हिजो नेकपा–ताका माओवादीसँग मिलेर दैलेख एमालेको संगठन कमजोर पार्नेलाई कमरेड ओलीले टिकट दिनुहुन्छ भन्नेमा विश्वास छैन। नेताको घर–घरमा देउसी खेल्दैमा चुनावमा टिकट पाइन्छ र! एमालेको बलियो उम्मेदवार राजबहादुर कमरेड हुनुहुन्छ। उहाँ जन्मजात एमाले नै हुनुहुन्छ। उहाँसँग जोरी खोज्न अरू कोहिँ आउँछन् जस्तो मलाई लाग्दैन,’ ती सचिवालय सदस्यले भने।
वली दाङ–३ र रिजाल दैलेख–२ बाट प्रतिनिधिसभाका लागि टिकट माग्दै एमाले शीर्ष नेताहरूको घरदैलोमा दौडिरहेका छन्।
दाङ–३ का लागि केन्द्रीय सदस्य तथा तुलसीपुर उपमहानगरका पूर्वमेयर घरश्याम पाण्डे सबैभन्दा बलिया दाबेदार हुन्। तर पार्टी उपाध्यक्ष युवराज ज्ञवालीको पनि उतिकै चर्चा छ।
त्यस्तै, दैलेख ३ बाट फेरि केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य राजबहादुर बुढाक्षेत्री नै दोहोरिने पक्कापक्की छ। तर त्यो निर्वाचन क्षेत्रबाट उम्मेदवार बन्न जिल्ला सह–इन्चार्ज रिजाल लागिपरेका छन्।
वली र रिजाल महासचिव पोखरेल, उपाध्यक्ष विष्णु पौडेल हुँदै हरदिन एकाबिहानै ओलीनिवास पुग्छन्।
एमालेभित्रका कतिपय केन्द्रीय सदस्यको अवसरवादी शैली देखेर अध्यक्ष ओलीको सचिवालयका सहयोगीसमेत दिक्क छन्।
संकटका बेला पार्टीलाई मरिमेटी सहयोग गर्नेहरू अनेकौं कमिटी र विभागको सदस्य बन्नबाट बन्चित भएको प्रेस चौतारीका एक पदाधिकारी बताउँछन्।
‘गुट फेर्दै हिँड्ने अवसरवादीहरू मन्त्री, सांसद, विभाग प्रमुख–उपप्रमुख बने। ती नेतालाई गाली गर्दै हिँड्नेहरू नै नेताका प्रिय पात्र बने। तर संकटकाे समयमा पार्टी कमिटी जोगाउनेहरू उनीहरूबाटै पीडित छन्,’ ती पदाधिकारीले भने।