कालोधनलाई सेतो बनाउन गभर्नरमाथि प्रहार गरियाे : शंकर पोखरेल

एमालेका महासचिव शंकर पोखरेलले निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले कालो धनलाई सेतो बनाउन गभर्नरमाथि अवान्छित आरोप लगाएर हटाउन खोजेको बताएका छन्।

पोखरामा आइतबार पत्रकारहरूसँग कुरा गर्दै उनले भने, ‘अर्थमन्त्रीले प्रतिस्थापन विधेयकमार्फत स्राेत नखोज्ने गरी लगानी गर्न दिने नीति ल्याउनुभयो। त्यसपछि हुण्डी र विभिन्न माध्यमबाट पैसा नेपाल आयो। त्यही कालोधनलाई सेतो बनाउन गभर्नरले रोक्न लाग्दा उहाँलाई हटाउने प्रयास भएको हो।’

उनले गभर्नर महाप्रसाद अधिकारीले राष्ट्रमाथि हुन लागेको गम्भीर अपराधको विरुद्ध डटेर सामना गरेको भन्दै प्रशंसा गरे।

एमालेको अर्थ विभागमा उनै गभर्नर अधिकारीलाई राखिएको पत्रकारको प्रश्नबारे गलत होहल्ला फैलाइएको उनको दाबी छ। ‘राजधानीमा फेक न्युजका कारखाना हुन्छ। त्यही कारखानाले प्रायोजित समाचार लेखेका छन्, त्यसको प्रभाव यहाँ पनि परेको छ,’ उनले भने, ‘एमालेले आधिकारिक धारणा ल्याइसक्यो। वक्तव्य जारी गरिसकेपछि आधिकारिक कुरा त्यहि हो।’

उनले विराटनगरका मनोज अधिकारीलाई एम अधिकारी भनेको दाबी गरे। तर अधिकारीले भने आफूलाई विभागमा रहेको जानकारी नभएको बताइसकेका छन्।

पोखरेलले अब नेपालका पार्टीहरू दुई लाइनमा ध्रुवीकरण हुनुपर्ने बताए। ‘धेरै पार्टी भएर मात्रै लोकतन्त्र हुँदैन। देशको समृद्धिका लागि गठबन्धनभन्दा ध्रुवीकरण राम्रो हो,’ उनले भने, ‘बुर्जुवाको नेतृत्व कांग्रेसले गर्छ। प्रगतिशील नेतृत्व एमालेले गर्छ। अरु सबै पार्टी यसैमा ध्रुवीकरण भए हुन्छ।’

माओवादी र एकीकृत समाजवादीलाई समेत एमालेमा पुनः एकीकरण गराउने विषयमा पत्रकारले सोधेको प्रश्नमा पोखरेल भन्छन्, ‘हामी नीति र नेतृत्वमा विश्वास राख्छौं। उहाँहरू त्यसमा सहमत हुनुहुन्छ भने ठिक छ। तर यही अवस्थामा एकीकरण सम्भव छैन।’

प्रकाशित मिति: : 2022-07-17 12:05:00

प्रतिकृया दिनुहोस्