अर्थतन्त्र सबल हुँदैछ, मुलुक श्रीलंका हुने अवस्थामा छैन : सञ्चारमन्त्री कार्की

‘कांग्रेस नेतृत्वमा सबैले गर्व गर्नुपर्छ’

तेजन खड्का

ललितपुर

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुक श्रीलंकाजस्तो हुने अवस्थामा नरहेको बताएका छन्।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा विचार राख्दै केन्द्रीय सदस्यसमेत रहेका मन्त्री कार्कीले अमेरिकी आर्थिक सहायता मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजना सदनबाट पारित भएपछि वैदेशिक सहयोग र आर्थिक अनुदानमा सकारात्मक प्रभाव भइरहेको बताएका हुन्।

‘केही समस्या छन्, तर सुनियोजित रुपमा जसरी श्रीलंकाको बाटोमा गइरहेको भन्ने छ, श्रीलंका हुने अवस्थामा छैनौं,’ उनले भने।

प्रधानमन्त्री शेरबहादुर देउवाको अन्तर्राष्ट्रिय विश्वसनीयता, लगानीमैत्री नीति सकारात्मक उन्मुख रहेको बताउँदै कार्कीले भने, ‘केही अर्थतन्त्रमा समस्या नभएका होइनन्, ती समस्यालाई हामीले सबल अर्थतन्त्रतर्फ अघि बढाउनेछौं।’

उनले रुस र युक्रेनबीचको युद्धको प्रभाव विश्वभरमा फैलिएको र अमेरिका, जापानलगायतका मुलुकमा मूल्यवृद्धि भइरहेको बताए। उनले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा जनताको अभिमतपश्चात् नयाँ सरकार निर्माण गरिने र नेपाललाई विकास र समृद्धिको दिशामा अग्रसर बनाए।

‘आजभन्दा एक वर्ष अगाडिको परिस्थितिमा अन्योल, अनिश्चय पैदा भएको थियो। राज्य संयन्त्र तहसनहस, संसद् विघटन भयो, त्यो बाध्यात्मक अवस्थामा थियो। मुलुकको राजनीति सही ट्रयाकमा आएको छ। लोकतन्त्र र संविधानको रक्षा भयो,’ उनले भने।

मन्त्री कार्कीले राष्ट्र बैंकका गभर्नरप्रतिको जिज्ञासामा यस विषयमा संसदमा कुरा उठेको र अर्थतन्त्र सम्बन्धमा छानबिन समितिले सत्य, तथ्य विषय बाहिर ल्याउने बताए। उनले मिडियाले खेलेको भूमिकाले पनि जनतामा चेतनाको वृद्धि भएको उल्लेख गरे।

‘कांग्रेस नेतृत्वमा सबैले गर्व गर्नुपर्छ’

सञ्चारमन्त्री कार्कीले कांग्रेस सभापति देउवाको नेतृत्वमा सबैले गर्व गर्नुपर्ने बताए। ‘हामीले हाम्रो सभापतिमाथि गर्व गर्नुपर्ने अवस्था छ। थोरै सिट हुँदाहुँदै हामी सरकार मात्र छैनौं, स्थानीय निर्वाचनबाट मुलुकको ठूलो दल बन्न सफल भएका छौं। केन्द्र, प्रदेश र गाउँगाउँमा आज कांग्रेस छ,’ उनले भने।

उनले गठबन्धनको सरकार भएकाले यसमा समस्या रहेको बताउँदै त्यसलाई समाधान गर्नुको विकल्प नरहेको बतए।

उनले देशलाई राजनीतिक स्थायित्व दिन गठबन्धनको निरन्तरता जरुरी रहेको स्पष्ट पारे। यसका लागि पार्टीभित्र आन्तरिक एकता कायम गर्नुपर्ने बताउँदै उनले थपे, ‘हिजो हप्तैपिच्छे करोडौंको भ्रष्टाचार भएको समाचार आउँथे, अहिले देशमा सुशासन कायम भएको छ।’

प्रकाशित मिति: : 2022-07-14 11:24:00

प्रतिकृया दिनुहोस्