गुरुब्रह्मा, गुरुविष्णु गुरुदेवो महेश्वर,
गुरु साक्षात् परमंब्रह्मा तस्मै श्री गुरुवे नम:
हरेक वर्षझैं यो वर्ष पनि घुम्दै-फिर्दै असार शुक्ल पक्षको पूर्णिमा अर्थात गुरु पूर्णिमा घर आगनमा आइपुगेको छ। गुरु को अर्थ चाहिँ ‘गु’ भनेको अन्धकार र ‘रु’ भनेको प्रकाश बुझिन्छ।
गुरु पूर्णिमालाई व्यास पूर्णिमाको नामले पनि चिन्ने गरिन्छ। यस दिनलाई अन्धकारबाट ज्ञानको ज्योति देखाइदिने गुरुहरूको पूजा गर्ने आधार, स-सम्मान गर्ने चलन प्राचीन कालदेखि नै चल्दै आएको पाइन्छ।
गुरु बिना कुनै पनि प्रकारका शिक्षाले पूर्णता पाउन सक्दैन। गुरुले दिने ज्ञानमा कसैको असहमति अर्थात् नराम्रो भन्ने कुरा हुँदैन भनी श्रीमद भागवत गीतामा पनि गुरुले दिने ज्ञानको व्याख्या गरिएको छ। कुनै पनि मनुष्यले आजको दिनमा गुरुको पुजा, पाठ, ध्यान अर्थात् स-सम्मान गर्न जान्दछ भने उसको मनोरथ पूर्ण हुने शास्त्रमा पनि उल्लेख गरिएको पाइन्छ। ज्ञानको अर्को रुप नै गुरु हुन् र गुरु बिना हामी हाम्रो लक्ष्यसम्म पुग्न सक्दैनाैँ।
मैले सानैदेखि बुझ्ने गरेको कुरा कक्षामा बसेर चक, डस्टर हातमा लिएर पढाउने मात्र गुरु नभएर हामीले जो-जो बाट जे-जे कुरा सिक्न सकेका छौं ती सबै गुरूहरु हुन्। नियमित चल्नुपर्छ नदीबाट सकेका छौं, नियमित बहनु पर्छ हावाबाट सिकेका छौं। बग्दा पवित्र हुँदोरैछ, हिँड्दा गन्तव्यमा पुग्दोरैछ नदीबाट सिकेका छौँ। जति चिथोरे, कोपरे पनि अन्ततः हाम्लाई अन्न नै फिर्ता दिन्छ। हाम्रो जीवन जीउनका निम्ति उत्पादन गरिदिन्छ, धर्तीमाताबाट सिकेका छौँ। एकै रातलाई मात्र फुले पनि गाउँ, सहर अनि आगनभरि सुगन्ध छर्नुपर्छ, पारिजातबाट सिकेका छौं। त्यसैले सम्पूर्ण ज्ञात, अज्ञात कक्षामा पढाउने र हामीलाई सधैँभरि पढाउने अर्थात् राम्रो बाटो देखाउने सम्पूर्ण मेरा गुरुहरूलाई यसै लेखबाट नमन व्यक्त गर्दछु।
जहिले पनि गुरुको आसन उच्च हुनुपर्छ। उच्च हुनुपर्छ भन्नुको अर्थ बस्ने आसन मात्र होइन, स-सम्मान पनि उच्च हुनुपर्छ। माथिबाटै सबै कुरा तल झर्ने हुन्छन्। यो भन्दै गर्दा मेरा आदरणीय गुरु सरोज घिमिरेले भनेका कुराको याद आयो- एकदिन एउटा गाउँमा पुराण लगाउनको लागि यस्तै किसिमको मञ्च बनाइँदै थियो। गुरु बस्ने आसन अगाडि अग्लो बनाइँदै थियो भने भक्तजनहरु बस्ने आसन तल बनाइँदै थियो। एउटा उरन्ठेउलो केटो त्यहीँनेर प्रवेश गर्यो र उसले भन्यो, ‘गुरूको आसन किन सधैँ उच्च राख्नुपर्ने?’
अर्कोले भन्यो, ‘गुरु त गुरु हो नि! ज्ञानले भरिएको मान्छेको आसन जहिले पनि उच्च हुनुपर्छ।’ उसले भन्यो, भक्तजनहरु माथि भएर गुरुहरु तल बस्दा के फरक पर्छ?’ यी सबै कुरा एकजना वृद्धले सुनिरहेका थिए। उनले एउटा गिलासमा पानी भरेर अर्को ग्लास रित्तै राखे। अनि त्यो केटोलाई बोलाएर भने, ‘ए बाबु यो भरी भएको गिलासबाट रित्तो भएको गिलासमा पानी खन्याउ त?’ उसले भरी भएको गिलास माथि उठायो र रित्तो भएको गिलासमा पानी खन्याउँदै थियो, वृद्ध मानिसले उसको हात च्याप्प समाएर भने, ‘होइन-होइन त्यो रित्तो गिलास माथि राख भरी भएको गिलासलाई तल राख, अनि पानी खन्याउन।’
उसले भन्यो, ‘कहाँ हुनसक्छ, रित्तो गिलास माथि राखेर पनि कहीँ पानी खनिन्छ?’ अनि वृद्ध मानिसले भने, ‘हामी भक्तजनहरु पनि रित्तो हुन्छौं, तल बस्न जान्यौँ भन्ने मात्र हामी भरिन पाउँन्छौँ। त्यसैले गुरुहरूको आसन जहिले पनि माथि बनाउनुपर्छ।’ केटाले कुरा बुझ्यो र त्यो दिनदेखि यस्तो कुरा कहिल्यै गरेन। हो, यस्तै अनेकौँ ज्ञान प्राप्त गराउने मेरा भगवान रुपी सम्पूर्ण गुरुहरुलाई गुरु पूर्णिमाको शुभकामना व्यक्त गर्दछु।
दुनियाँमा काकाकुलले पानी पाउँदैन तर वर्षा ऋतु आउन छोडेको छैन। लाटोकोसेराले दिउँसो आँखा देख्दैन तर सूर्य झुल्किन छोडेको छैन।कतिपय बोटहरूमा फूल फुल्दैनन् तर वसन्त ऋतु आउन छोडेको छैन। त्यसैगरी हरेक वर्ष गुरुका प्राण प्यारा विद्यार्थीले छोडेर गए भन्ने सम्झे पनि मेरा प्रिय गुरु हजुरहरुलाई मेरा गन्तव्यका प्रत्येक पाइलाहरुमा सम्झिरहेको छु। भौतिक हिसाबले टाढा भएपनि प्रिय गुरु हजुरलाई गुरु पूर्णिमाको दिनमा मात्र होइन प्रत्येक जीवनको महत्वपूर्ण क्षणमा सम्झिरहेको छु। जति गल्ती गर्दा पनि सम्झाइ-बुझाइ गर्ने मेरा प्रिय गुरु भगवान सम्मान हुनुहुन्छ। लटरम्म फलेको वृक्षझैँ सधैँभरि झुक्न जान्नुभएका आफूसँग भएको ज्ञान सम्पूर्णलाई बाँड्दै हिँड्ने, कुनै पनि कुरामा घमण्ड नगर्ने मेरा गुरुहरुलाई हृदयदेखि नै नमन व्यक्त गर्दछु।
कुनै पनि ज्ञान बिना मुक्तिको सम्भव नै छैन। त्यसैले सच्चा ज्ञान हासिल गर्नको लागि गुरुकै महत्व पर्छ। गुरुको पूजापाठ र स-सम्मान गर्न सक्यौं भने पक्कै पनि ज्ञान हासिल गर्न सक्ने छौं र गुरुको आर्शीवादले हाम्रो लक्ष्य पुरा हुनेछ।
अन्तत सबैभन्दा पहिला गुरु, माता, पिता नै हुन्। जसले हामीलाई यस धर्तीमा जन्म दिनुभयो र यो संसार देख्न पायौँ। भगवान चिन्न पायौँ, आध्यात्मकमा लाग्न पायौं, अरुलाई गुरु भन्न पायौँ। त्यसैले सर्वप्रथम मेरा मातापिता पनि स्वयं गुरु हुनुहुन्छ, भगवान हुनुहुन्छ। उहाँहरूका चरणकमलमा पनि म बन्धना र नमन व्यक्त गर्दै यो वर्षको गुरु पूर्णिमाको शुभकामना व्यक्त गर्दछु।
(समसामयिक र साहित्यिक विषयमा कलम चलाउन रूचाउने जुम्ला घर भएका लेखक बाल गोपाल देवकोटा एभरेस्ट इन्जिनियरिङ्ग कलेज सानेपा, ललितपुरका ब्याचलर इन सिभिल इन्जिनियरिङ्ग चौथो वर्षमा अध्यनरत विद्यार्थी हुन्।)