पात्र नम्बर एक: मेरो छिमेकी अन्ना मोर्गनको करिब १४ बर्षकी छोरीको व्यवहार मलाई असामान्य लाग्थ्यो। एकनासले बोलिरहने, रुने, कराउने र हास्ने गर्नलाई उनलाई कुनै कारणको आवश्यकता पर्छ जस्तो लाग्दैनथ्यो। एकदिन त्यो किशोरी दौडिँदै म नजिक आइन् र मेरो टाउकोमा प्याट्ट हानेर फर्किन्, जो अमेरिकी समाजमा निकै तल्लोस्तरको व्यवहार हो।
उनको यो असामान्य व्यवहारबाट मलाई अच्चम लाग्यो। त्यसपछि यी किशोरीकी आमा अर्थात् मेरो छिमेकी म नजिक आएर ‘आइ एम सरी, सी इज साइक्याट्रिक’ अर्थात ‘मलाई माफ गर्नुहोला, उनी पागल हुन्’ भनिन्। त्यो सुनेर मलाई अर्को अच्चम लाग्यो। तपाईं आफैँ कल्पना गर्नुस् हाम्रो समाजमा आफ्नो पागल छोरीलाई पागल भन्नु त पर जाओस्, अरु कसैले पागल भने पनि झगडा गर्न तयार हुन्थे। त्यस्तै परे मारपिटमा पनि उत्रन बेर लाउने थिएनन्। पागलपन एक बिमारी हो, जो उपचार गरे बिसेक हुन्छ। कसैलाई जन्डिस हुँदा तपाईंलाई जन्डिस भयो भन्न हुने तर पागल हुँदा पागल भन्न नहुने हाम्रो समाज कस्तो हो?
पात्र नम्बर दुई: मेरी अर्की छिमेकी हेलेन बेकर मलाई देख्यो भने ‘ओ माइ फ्रेन्ड’ भन्दै नजिक आउँछिन् र मलाई गर्लम्म अँगालो हाल्छिन् अर्थात यहाँको चलनअनुसार हग गर्छिन्। करिब ८० वर्षकी उनी मेरो साथी त होइन, हजुरआमाको उमेरकी छिन्। उनले अँगालो हालेको मलाई असाध्यै रमाइलो लाग्छ र भावुक पनि बनाउँछ। आमा गुमाइसकेको भएर हो कि किन हो, त्यो मलाई आमाले गरेको जस्तो लाग्छ।
एक दिन उनले मलाई गर्लम्म अँगालो हालिन् र डाँको छोडेर रोइन्। करिब ३० सेकेन्ड जति उनले अँगालो हालेर रुँदा उनको तातो आँसुले मेरो पिठ्युँको सानो भाग भिज्यो। त्यसको केही क्षणपछि उनले आफ्नो श्रीमानको अवस्था अत्यन्तै गम्भीर रहेकाे र त्यसको दुख भुलाउन आफू क्यासिनो जान लागेको बताइन्। तपाईं कल्पना गर्नुस् हाम्रो समाजमा यस्तो भएको भए ‘लोग्ने मर्न लागेको छ स्वास्नी घुमेर हिँड्छे’ भनेर कति कुरा काट्थे होलान्। बिमारीसँग बसेर अर्को पनि पीडित हुनुभन्दा सद्दे मान्छे खुशी हुनु राम्रै हो, तर हाम्रो समाजमा जबर्जस्ती खुशी र दुखी हुनुपर्ने प्रचलन छ।
पात्र नम्बर तीन: पुरा नाम क्रिस्टोफर र बोलाउने नाम क्रिस रहेको मेरो डेरा नजिकको त्यो मान्छे चौबिसै घण्टा गाँजा र रक्सीको नशामा डुबेको हुन्छ। कम्मरमा पेस्तोल बोकेर हिँड्ने उसलाई देख्यो भने मलाई कतै गाँजाको नशामा गोली हान्छ भन्ने डर लाग्छ। मेरो परिचय भएको करिब एक वर्षमा उसले तीन पटक गाडी दुर्घटना गरिसकेको छ र एकपटक झन्डै मरेको थियो।
क्रिसको दुर्व्यसनको कारण उसको श्रीमतीसँग झगडा परिरहन्छ। एकदिन उसकी श्रीमतीले उनलाई आफू राम्री भएको भए यसलाई छोडेर जान्थेँ भनेर भनिन्। करिब दुई सय पाउन्ड तौल भएकी उनलाई ओर्किन्-फर्किन् पनि अफ्ठ्यारो हुन्छ। तपाईं कल्पना गर्नुस्, हाम्रो समाजमा आफूले आफैँलाई कसैले म नराम्री छु भन्थे होलान्? यद्यपी अमेरिकामा कसैलाई उसको शारीरिक बनावटमाथि टिप्पणी गर्नु जघन्य अपराध मानिन्छ।
माथि उल्लेखित यी पात्रहरु कुनै ‘सेलिब्रेटी’ होइनन्, जसको मिडियामा चर्चा होस्। यिनीहरुको प्रसंग उल्लेख गर्नुको अर्थ सभ्य समाजमा सत्य पचाउन सक्ने शक्ति हुन्छ भनेर देखाउनको लागि हो।
हाम्रो समाजमा यी तीन पात्र भएको भए- आफ्नो छोरी पागल भएको र आफू नराम्री भएको स्वीकार्ने र श्रीमानको स्वास्थ्य स्थिति गम्भीर अवस्थामा भएको समयमा मनोरन्जन गर्न कोही पनि जाने कुरा नै हुन्थेन। पात्र नम्बर तीनले आफू नराम्री छु भनेर भन्नुको अर्थ सामान्यतया हेर्दा नराम्री भनेको मात्र हो। यद्यपी यो संसारमा के लाई राम्रो भन्ने र के लाई नराम्रो भन्ने त्यसको कुनै निश्चित मापदण्ड छैन।
अन्तमा सबैले सत्यलाई स्वीकारेर जीवनमा अगाडि बढ्न सके जीवनयापन गर्न सजिलो हुन्छ। तर समाजमा भने सत्य स्वीकार्ने भन्दा पनि भ्रममा बाँच्ने चलन छ, जो त्यति लाभदायक हुँदैन। आगे सबैको आफ्नो आफ्नो मर्जी...!