मानवशास्त्री तथा पुरातत्वविद्का अनुसार ढुंगेयुगका एक मानव परिवारमा २०–३० जनाजति सदस्य हुन्थे । त्यस्ता परिवार एकभन्दा बढी पुरुषको नेतृत्वमा हुन्थ्यो । नेतृत्वदायी पुरुषका धेरैजना महिलासँग र एक महिलाको धेरैजना पुरुषसँग संसर्ग हुन्थ्यो ।
यसकारण सन्तान व्यक्तिविशेषको नभई समूहका हुन्थे ।
ढुंगेयुगबाट खेतीपाती युगमा प्रवेश भएपछि परिवारको संरचना अलि साँघुरिँदै गयो । परिवार परिचालन हुन केही परम्परागत दायरा सुरु भए । सामूहिक पतिपत्नीबाट एक पति र एक पत्नीको सुरुवात भयो ।
पतिपत्नी पहिले एकै परिवारका हुन्थे । साइनो सम्बन्धमा विवाह गर्न हुँदैन भन्ने निकै पछि मात्र सुरु भयो । तर, अझै रगतनाताबीच विवाह प्रचलन कायमै छ । हाम्रो मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद ११ अन्तर्गत दफा १७२ मा हाडनातामा विवाह गर्न नहुने उल्लेख छ ।
यसमा लेखिएको छ, ‘कसैले परम्पराअनुसार चलिआएको अवस्थामा बाहेक हाडनातामा करणीमा सजाय हुने र नातामा विवाह गर्न वा गराउन हुँदैन ।’