रोप्ने समयमा धान काट्न व्यस्त छन् दाङका किसान

असारको महिना। यो महिना भनेको कृषक धान रोप्नका लागि खेतमा व्यस्त हुने समय हो। जहाँकहीँ पनि कृषक धान रोप्नकै लागि व्यवस्त भएको देखिन्छ। असार–साउन महिनामा रोपिएको धान असोज–कार्तिक महिनातिर काट्ने हुन्छ।

तर, दाङका कतिपय ठाउँमा भने कृषक धान रोप्नका लागि भन्दा पनि खेतमा पहेँलपुर भएर पाकेका धान काट्न व्यस्त देखिन्छन्। बंगलाचुली गाउँपालिका वडा नं ३ र ४ का कतिपय कृषकहरुलाई असार लागेसँगै पाकेको धान भित्र्याउने चटारोमा (भ्याइनभ्याइ) छन्।

चैत महिनामा रोपिएको चैते धान भित्र्याउन लागि कृषकलाई चटारो छ। यही चैते धान भित्र्याउनका लागि वडा नं ३ र ४ का खोला आसपासमा रहेका खेतमा कृषकहरुको दैनिकी व्यस्त बनेको छ।

चैते धान भित्र्याउन पाउँदा कृषकहरु पनि दंग छन्। विगत वर्षभन्दा यो वर्ष धानबाली राम्रै भएको कृषक रत्नबहादुर थापाले बताए। चैत धानखेती परम्परागत खेती प्रणाली भएको र पहिलेदेखि नै आफूहरुले यस खेती गर्दै आएको कृषक थापाको भनाइ छ।

फेरि रोपिन्छ वर्षे धान

पाकेको चैते धान भित्र्याउँदै गरेको यहाँका कृषकले फेरि वर्षे धानखेती पनि गर्ने गरेका छन्। प्रायः कृषकहरु वर्षमा दुई पटक मात्र खेती गर्छन। तर, यस बंगलाचुली वडा नं ३ र ४ का कृषहरु भने ३ बाली खेती गर्ने गरेका छन्।

चैते धान भित्र्याइरहँदा छेउमै वर्षे धानका लागि विउ पनि तयार भइसकेको छ। चैतको दोश्रो साता गहुँबाली काटेपछि चैते धान रोपेको कृषक थापाले जानकारी दिए। उनकाअनुसार अब फेरि धान रोपेर असोज–कार्तिक महिनामा भित्र्याइन्छ र फेरि गहुँ छर्ने काम गरिन्छ।

यसरी यहाँका कृषले वर्षमा तीन वाली भित्र्याउने गरेका छन्। बंगलाचुली– ४ की रेश्मा गिरीले धान काट्दैमा दैनिकी व्यस्त रहेको बताइन। ‘अस्ति भर्खर धान रोपेको जस्तो लागेको थियो, पाकेर काट्ने पनि भइहाल्यो,’ उनले भनिन्,‘अब धानबाली भित्र्याउने अनि फेरि यही खेतमा धान रोप्ने हो।’

खेती गर्न सके विदेश जानु पर्दैन

नेपालमा कृषि पेसा गर्नुभन्दा पनि विदेशिने युवा शक्तिको संख्या ठूलो छ। कृषि पेशामा केही सम्भावना नदेखा युवाशक्ति अरुका देशमा गएर घरपरिवार पाल्न बाध्य भएको थुप्रै उदाहरण भेट्न सकिन्छ।

तर, यहाँ कृषि पेसा गरिरहेका भने जीवन चलाउनकै लागि विदेशिनुपर्ने अवस्था नरहेको बताउँछन्। कृषक थापाले राम्रोसँग मेहनत गर्न सके घरमै पनि राम्रै कमाउन सकिने बताए। ‘बाटोघाटो पुगेको छ, बस–जीप चल्छन्, हामीलाई उत्पादित बस्तुभाउ बिक्री गर्न पनि समस्या छैन,’ कृषक थापाले भने, ‘काम गर्न सक्ने हो भने परिवार आफन्तसँगै घरमै बसेर यहीँ कमाउन सकिन्छ।’

‘विगत वर्षभन्दा यसवर्ष चैत धान राम्रो फलेको भन्दै उनले मेहनतअनुसार फल पाएको बताए। ‘खेतबारीमा मेहनत गर्ने हो भने वर्षमा ३ बाली राम्रोसँग भित्र्याउन सकिन्छ,’ उनले भने,‘कमाउनका लागि विदेश नै जानु पर्दैन।’

हावापानी राम्रो रहेको यस ठाउँमा सिँचाइ पनि पुगेको छ। जसले गर्दा अन्नबाली जस्तै तरकारी खेती पनि राम्रो हुने गरेको कृषक सीता थापाले बताइन। माटोको उर्वराशक्ति राम्रो भएकाले सबै खाले बाली राम्रो हुने गरेको कृषकहरुले अनुभव सुनाउँछन्।

घोराही बजारदेखि करिब १५ किलोमिटरको दुरीमा चैते धान उत्पादन हुने ठाउँ पर्छ। कृषि ज्ञान केन्द्र दाङकाअनुसार जिल्लामा बंगलाचुलीका ३ र ४ सहित करिब दुई हजार ५०० हेक्टर बढी जमिनमा चैत धानखेती हुन्छ।

प्रकाशित मिति: : 2022-07-06 21:05:00

प्रतिकृया दिनुहोस्