पात्र नम्बर एक: एक मान्यबर छन्, उनीसँग कुरा भयो भने सबैभन्दा पहिले उनले भन्ने वाक्य हो, ‘म अमेरिका आउँदिनँ’। उनलाई अमेरिका आउनु नै पर्छ भनेर पाखुरो समातेर कसले जिद्दी गरिरहेको छ, त्यो पंक्तिकार जस्तो निम्छरो मान्छेलाई जानकारी हुने विषय भएन। तर जुन ठाउँमा जानु नै छैन वा जाने इच्छा नै छैन भने प्रसंग बिना नै त्यो ठाउँ नआउने घोषणा किन गर्नुपर्यो?
पात्र नम्बर दुई: लाजिम्पाट क्षेत्रमा बसोबास गर्ने मेरा एक परिचित डिभी चिठ्ठाको घोर विरोधी छन्। उनका अनुसार यसरी चिठ्ठा खोलेर अर्को देशको नागरिकलाई आफ्नो देशमा लग्नु अमेरिकाको हैकमबादी सोचको पराकाष्टा हो र यो मानवता विरोधी पनि छ। आफूले कहिले डिभीको फाराम नभरेको र आफ्नो परिवारको सदस्यलाई पनि भर्न प्रेरित नगरेको दाबी गर्ने उनी हरेक वर्ष बनेपा गएर त्यस्तो फाराम भर्छन्, जहाँ उनलाई चिन्ने मान्छे हुँदैन।
एकपटक पंक्तिकारले बनेपामै उनलाई रङ्गे हात समातेको बेला श्रीमतीले अति नै जिद्दी गरेको कारण भरेको र यो कुरालाई गोप्य राखिदिन अनुरोध गरे। उनको नाम बदनाम गरेर कुनै फाइदा नहुने भएको कारण त्यो कुरा गोप्य राखियो तर अमेरिकी सरकारले दिएको सुविधा प्रयोग गर्दा त्यत्रो अपमान किन मान्नुपर्यो? जसलाई मतलब नै छैन उसले फाराम नभरे भयो, बेकार किन होहला गर्नु?
पात्र नम्बर तिन: एक पत्रकार छन्, हरेक समय ज्यान गए पनि अमेरिका जस्तो विश्वमा अशान्ति फैलाउने देशमा नजाने कुरा गर्छन्। तर वास्तविक कुरा के हो भने आफू काम गरेको टेलिभिजन च्यानलको लेटरहेडमा समाचार प्रमुखको नक्कली हस्ताक्षर गरेको पत्र लिएर भिसा लिन जाँदा अमेरिकी दुतावासले सोधखोज गर्दा उनलाई प्रहरीले पक्राउ गरेको थियो। करिब ६ महिना प्रहरी काराबासबाट मुक्त भएका उनलाई अमेरिकी दुतावासले कालो सूचीमा राखेको छ र यो जुनीमा उनको अमेरिका प्रवेश गर्ने इच्छा कहिले पनि पुग्दैन।
पात्र नम्बर चार: पण्डित थरका एक वकील छन्, अमेरिकामै वकालत पढेका र यतै वकालतको लाइसेन्स लिएका उनलाई नक्कली कागज पेश गरेर ग्रीन कार्ड दिलाउन सहयोग गरेको अभियोगमा अमेरिकी सरकारले देश निकाला गरेको हो। अब उनको मात्र होइन, उनको श्रीमती र सन्तानले पनि अमेरिका प्रवेश गर्न पाउँदैनन्। वास्तविक कुरा यो हो तर उनी अमेरिकालाई नर्कसँग तुलना गर्छन् र अमेरिका नफर्कने कुरा गर्छन्। आफू अमेरिका बस्नु जिन्दगीकै ठूलो भुल मान्ने उनी अरुलाई पनि अमेरिका नजाने निशुल्क सल्लाह दिन्छन्।
यस्ता नमुना उदाहरणहरु अरु पनि होलान् तर जुन देशमा जाने इच्छा नै छैन भने प्रसंग बिना नै यो कुरा किन गरिरहनु? नेपालबाट अमेरिका आउने हरेक मान्छेलाई यता आउने प्रक्रिया पूरा गर्न ९ महिनादेखि १ वर्षसम्म लाग्छ। डिभी पर्दैमा पनि भोलिपल्ट नै झोला बोकेर प्लेन चढ्ने होइन। चिठ्ठा परेकाहरुले पनि अनेकौं तह पार गरेपछि बल्लबल्ल भिसा लाग्ने हो। कैयौं मान्छेहरुको अन्तिममा गएर भिसा नलागेको पनि उदाहरण नभएको होइन।
अन्तमा अमेरिका आउने हरेक मान्छे उच्चस्तरको र नेपालमै बस्ने तल्लोस्तरको हुने होइन। तर आफ्नो इच्छा नपुगेको अवस्थामा ठूलो-ठूलो कुरा गरेर झुट बोल्नु भने आत्मद्रोह हो भन्ने कुरालाई पंक्तिकार ठोकुवा गर्छ।
(डिस्क्लेमर: प्रस्तुत आलेखमा उल्लेख भएको हरेक पात्र वास्तविक हुन्। यदि यी पात्रहरुले लौ मेरो कुरा यसलाई थाहा रहेछ भन्ने अनुभव गर्यो भने म आफूलाई सफल सम्झने छु, धन्यवाद!)