रातको ठिक १२ बज्यो, बाहिर सिमसिम पानी पर्दैछ। घर आगेनामा भएको रुखबाट तपतप आवाज सुस्तरी आउँदै छ। कोठाको बत्ती आज अबेरसम्म बलिराखेको छ। घडीले टिकटिक आवाज निकाल्दै फन्को लाउँदै छ। अनि मोबाइलबाट ‘सिमसिम झरी पर्दै छ बरिखा लाइसक्यो, मायाकै पिर सुर्ताले कलेजी खाइसक्यो, जाम पोखरा मिनी बसैमा...!’ भन्ने गीत बज्दै छ। जब यो गीत बज्छ तब उनीसँग पोखरामा रमाइलो गरी दिन बिताएको पल यसरी सम्झनामा आउँछ।
एकाबिहानै मध्ये जेठ महिना सिमसिम पानी पर्दै थियो। चराचुरुङ्गीको चिरबिर आवाज सँगै एक झुप्पा पहाडबाट बहदै आएको हावाले शरीरमा स्पर्श गर्दै विलीन भयो।
जानुपर्ने पोखरा थियो। एकाबिहानै कलंकीको त्यो भीड अनि त्यसै भीडमा गाडी पर्खंदै गरेको म, वातावरण रमाइलो थियो। गाडी आयो अन्तिम सिटमा गएर बसेँ। गाडी अगाडि बढ्यो केही पर पुगेपछि एक्कासी रोखियो, कारण थियो पेसेन्जरहरु।
एक हुलमान्छे बसभित्र छिरे। त्यही हुलभित्र एक रूपले बलेकी स्वर्गकी अप्सरा जस्तै देखिने २२/२३ वर्ष की तरुनीको दर्शन पाइयो। मन–मनै लड्डु फुटिहाल्यो। टाढाको यात्रा यति राम्री केटीसँग गफ गर्दै बाटो कटाउन पाए त राम्रै हुन्थ्यो। मेरै छेउमा आएर बसिदिएको भए हुन्थ्यो भन्दै सोच्दै थिएँ। उसले सिट खाली हो भन्दै सोधि मैले उम्म हो भने पनि सिटमुनि झोला राखेर मेरै सामीप्यमा बसी।
बस् थानकोटको ओरालो फन्कामार्दै गुड्दै थियो। यात्रुहरुले बस् भरिएको थियो। ड्राइभर र सहचालक खुसी देखिन्थे। हामी चढेको बस ओरालो झर्दै गर्दा सकी नसकी गाडीहरु बिस्तारै देशको राजधानीमा छिट्टै पुग्ने आशाका साथ उकालो चढ्दै थिए। बसभित्र लोकदोहोरी गीत फूल भोल्युममा बजिराखेको थियो। बस् फेरि, ओरालोमा रोकियो कारण थियो, एकदम लामो जाम।
सिटको छेउमै बसेकी त्यो सुन्दरी बोली सेट..– यो ठाउँमा जहिले जाम हुन्छ, टाढाको यात्रा कति बेला पुर्याउने हो भन्दै बोल्दै थि, एक्कासी हजुर कहाँसम्म जाने हो भन्दै सोधी। मैले पोखरा भने– अनि हजुरको कहाँ सम्मको यात्रा नि। उसले पनि पोखरासम्म जान लागेको यही यत्रो जाम छ, कति बेला पुग्ने हो, भनि। अनि हामी गफिन थाल्यौँ।
गफ गर्दै थियौँ, गाडी मलेखुमा खाना खानलाई रोकियाे खाना खाएर गाडी मुग्लिनलाई पछि छोड्दै हामी पोखराको बाटो लाग्याैँ। दिन घमिलो थियो साथमा उनी सँगको यात्रा मन रम्दै थियो। गाडी दिउँसो पोखरा पुग्यो। पृथ्वी चोकमा उनी ओर्लिएर भोलि भेटौंला भन्दै बिदाइका हातहरू हलाउँदै विलीन भइन्। मलाई लेकसाइडको होटलसम्म पुग्नु थियो त्यसैले म होटल जाने बाटोतिर लागेँ।
यो सहर बजारमा ठिकै भयो होला जेलेखियो निदारमा ठिकै भयो होला हेर्दा मनमा पिर चिन्ता नभएझैँ लाग्यो। जे–जे गरेउ हतारमा ठिकै भयो होला। आँखैमा आँखा ठोकियो परिचित आँखा थियो। निलो कुर्ता–सुरुवाल निलै सल उसैत मनपर्ने मान्छे। झनै राम्रो तारिफ गरी हाले– लुकिङ व्युुटिफुल थाङ यु भन्दै सञ्चै हुनुहुन्छ ? भनी। कता जाने भन्दै उसले सोधी। मैले भने– तिम्रै सहर हो जता लान्छौ त्यतै जान्छु। उसले फेवाताल जाम भनी अनि उतै लाग्याैँ।
आहा ! कति सुन्दर, शान्त फेवाताल झनै राम्रो ताल बाराही मन्दिर। भक्तजनहरू डुङ्गामा चढ्दै मन्दिर दर्शन गर्न जाने आउने गर्दै थिए। हामीहरु भने फेवाको तिरैतिर गफ गर्दै हिँड्दै थियौँ। उसले सोधी– हजुरको गर्लफ्रेण्ड छैन ? मैले छैन भने। कुनै केटी साथीहरु ? एकदमै कम केटी साथीहरू छन्, जो मसँग खुलेर कुरा गर्छन्। आफ्ना प्रेमीको कुरा पनि खुलेर गर्छन्। तिमीले गर्लफ्रेन्ड किन नबनाएको भनेर सोध्छन्। 'तिमी जस्तो नभेटेर' भनेर म जिस्काइदिन्छु। उनीहरू लजाउँछन्। केटी मान्छेहरू लजाउँदा चाहिँ 'फूल'जस्ता देखिन्छन्। अँ, आँखामा प्रेमसँगै विद्रोहको ज्वारभाटा बोकेर हिँड्ने भेटिएमा पक्कै प्रेममा परिन्छ। तर, डर लाग्छ किनकि उडेको बताससँगै प्रेमीकाहरू छुट्छन्।
हजुरलाई म कस्ती लाग्छ ? उसले सोधी। भेटेको धेरै त भएको छैन, ठिकै लाग्छ भने। उसले धेरै कुरा जान्न खोज्दै थि मैले पनि भन्न मिल्ने जति सबै भने। केही बेर फेवातालको तिरैतिर हिँडेपछि मन्दिर दर्शन गर्न जाने कुरा भयो। मन्दिर दर्शन गरेर खाना खायौं अनि हाम्रो बेगनास ताल जाने कुरा भयो हामी त्यतै लाग्याैँ।
सहरको भीडदेखि अली पर सुन्दर शान्त अनि निश्चल छेउमै माछापालन गरिएको कति राम्रो बेगनास ताल। केहीबेर बेगनास तालको किनारमा बसेर माछा हेर्दै गफ गर्न थाल्यौं। उसले पोखराको बारेमा धेरै कुरा व्यक्त गरी मैले पनि केही कुरा गर्दै खाजा खाएर त्यहाँबाट पनि हामी बिदाइका हातहरू हल्लाउँदै फर्क्यौं।
साँझ परिसकेको थियो त्यसैले हामी छुटिनुपर्ने भयो। फेरि, भोलि भेटौंला नि है भन्दै उसले छुट्टिनलाई आफ्ना हातहरु अगाडि बढाइ। भोलि त मेरो अली काम छ पर्सी भेटौंला हुन्न भने। उसले हुन्छ भन्दै टाउको हल्लाई अनि हामी आफ्नो आफ्नो बाटो लाग्याैँ।
कामको व्यस्तताले गर्दा मैले उसलाई फोन गर्न पाएको थिएन। साँझपख मोबाइलमा उसको फोन आयो कता हुनुहुन्छ ? न फोन न मेसेज बिर्सिनु भयो कि के हो ? मैले हाँस्दै भने– छैन बिर्सिएको अलि काम भएर फुर्सद मिलेन सरी। भोलि त भेट हुन्छ नि हाम्रो भनी। किन हो, मलाई थाहा थिएन उसले मलाई नजिकको ठानेर बोल्छे या अरु कुनै। मैले भइहाल्छ नि किन न हुनु पोखरा घुमाउने साथी पाएको छु भेट्दिनँ होला त भने। हुन्छ बिहानै निस्किनु पर्छ चाँडो आउनु है भन्दै उसले फोन राखी।
एक झुप्पा चिसो हाबा झ्यालबाट छिर्दै मेरो शरीरलाई स्पर्श गर्याे म झसङ्ग भए झ्याल खुल्लै रहेछ उठेर बन्द गरेँ। मोबाइलबाट गीत बजिरहेको थियो। बन्द गर्दै बत्ती बन्द गरेर बिस्तारामा आएर पल्टिएँ।
भित्तामा टाँसिएको घडीको सुईले रातको १ बजिसकेको जानकारी दिँदै थियो। रातको समय वातावरण शान्त थियो। निदाउने कोसिसमा कोल्टे फेर्दै थिएँ, निन्द्रा पटक्कै लागेको थिएन। फेरि पनि उसैको सम्झनामा बहकिन थालेँ।
बिहानै पृथ्वीचोकमा उनको र मेरो भेट भयो। धपक्कै बलेकी उनी सारै राम्री देखिएकी थिइन। बिन्दवासिनी मन्दिर जाने भन्ने कुरा भयो। हामी त्यतैतिर लाग्याैँ। केहीबेरको बिन्ध्यवासिनी मन्दिरको दर्शनपछि। हामी महेन्द्रगुफा जाने भन्ने कुरा भएर त्यतैतिर लाग्यौँ। आहा ! कति चिसो गुफाभित्र रमाइलो गफ गर्दै त्यहाँबाट फर्केयाैँ, संँगै भएको चमेरो गुफा भने घुम्ने अवसर मिलेन।
खाजा खाएर हामी डेभिड् फल जाने भन्ने कुरा भयो त्यतैतिर लाग्याैँ। कति गहिरो खोँच कलकल पानीको आवाजमात्र सुनिने जमीन भित्रभित्रै कता हो कता बगिरहेको त्यो अविष्मरणीय क्षणमा कति रमाएका थियौँ, हामी। अब घुम्न बाँकी सराङकोटमात्र छ, उसले भनी। अली टाढा पर्छ जाने हो भन्दै उसले सोधी। मैले जाम न भन्दै हामी उतैतिर लाग्याैँ।
केवलकार चडेर हामी सराङकोट पुग्याैँ। आहा ! कति राम्रो पोखरा अग्लो स्थानबाट हेर्दा स्वर्गको टुक्रा जस्तै देखिने रहेछ। पोखरा त साच्चिकै को पोखरा पो रहिछ त्यसै भनेका रहेन रहेछन् भन्दै हामी रमाउन थाल्यौं। त्यहाँबाट देखिने सुन्दर चाँदीका घुम्टो ओढेझै देखिने हिमालको सुन्दर दृश्य हेर्दै पोखराको फेवातालमा नजर डुलाउँदै खाना खाने निधो गर्यौ। उसले सोधी पोखरा कस्तो लाग्यो मैले भनी दिए तिमी जस्तै राम्री ..ऊ लजाउँदै उठेर हात धुन गई।
मोबाइल बज्यो अफिसबाट फोन आयाे– बेलुकाको फ्लाईटमा काठमाडौं आउनु टिकट मेलमा पठाएको छु। सायद हाकिम आउने कुरा थियो भोलि त्यही भएर होला भन्दै फोन कट्यो। मैले उनलाई यो कुरा भने र हामी हतारहतार गर्दै सराङकोटलाई अर्को पटक आएपछि धेरै बेर बस्ने कसमका साथ त्यहाँबाट बिदाइ भयौँ।
उनी मलाई छोड्न एयरपोर्टसम्म आएकी थिइन। नचाहँदा नचाहँदै उनीसँग पनि छुटिनुपर्ने भयो। राम्रो सँग बस् है भन्दै बिदाइका हातहरू हल्लाउँदै उनी सँग पनि बिदा भएँ। जहाजले पोखराको एयरपोर्ट छोड्दै काठमाडौंको लागि उचाई बढायो, एकैछिनमा पोखरा विलीन हुँदै डाँडाकाँडा देखिए। सूर्यको मधुरो किरण जहाजभित्र पर्दै थिए। जहाजले काठमाडौँको एयरपोर्टमा सामीप्य तय गरिसकेको थियो। काठमाडौंमा ओर्लिएर उनलाई पुगेँ भनी जानकारी दिँदै फोन गरेँ, अनि सिधै अफिसतिर लागेँ।
केही कामले म व्यस्त भएँ उनलाई सम्झिन पाइनँ। केही दिनपछि उनलाई फोन गर्दा स्वीचअफ थियो, फेसबुकमा पनि ब्लक गरिछन्। जे जति कोसिस गरे पनि उनीसँग भेट भएन। बिस्तारै मैले पनि बिर्सिने कोसिस गरेँ।
समयको खेल हो। सम्बन्ध सधैं बनिरहँदैनन्। क्षणक्षणमा बदलिइरहन्छन्, ती। आज मेरो सम्बन्ध फेरिएको छ। उनी केबल मेरा सम्झनामा छिन्। आज मैले शुभ प्रभात वा शुभरात्रि भन्ने अर्कै आएकी छिन्। समयले कसैलाई नजिक बनाउँछ त कसैलाई टाढा तिमी आज म बाट टाढा भएपनि तिमीसँग पोखरामा बिताएका रमाइला दिनहरु भने मेरा मनमुटुमा सधैं यादगार बनिरहने छन्।