विवाहमा आमाले छाेरालाई स्तन चुसाउनु कति उचित ?

हेमन्त विवश

काठमाडौं
Breaknlinks
Breaknlinks

हिजोआज संस्कार र संस्कृतिका कुराहरूमा बेलाबखत बहस भइरहेको सुनिन्छ। मानव जीवनमा संस्कृतिको आफ्नै महत्व छ। साथै उत्तिकै उपयोगी पनि छ। हाम्रो समाजमा वर्षभरि नै कुनै न कुनै चाडपर्व परेकै हुन्छन्। केही न केही कार्यहरू भइरहेकै हुन्छन्। मेलमिलाप, सदभाव, भाइचारा कायम गर्दै मनोरञ्जन लिने हिसावले पूर्वजका पालादेखि नै चल्दै आएका हुन्, हाम्रा कैयौं संस्कार र संस्कृति। त्यही संस्कृति एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण हुँदै आइरहेको छ। समाजमा मान्छेले गुजार्ने गरेका विभिन्न अवस्थाहरूसँग जोडिन्छ, संस्कृति। माछालाई पानीको महत्व जति छ त्यति नै मानव जीवनमा संस्कृतिको महत्व रहेको छ। र त हाम्रा संस्कृतिका अधिकांश पाटाहरू अनुसरण गर्न लायक देखिन्छन्। तर, त्यहाँ यस्ता खालका पाटाहरू पनि छन् जो निकै असजिला र संस्कार र संस्कृतिका नाममा जवरजस्ति लादिएका जस्ता देखिएका छन्। त्यस्तै कुनै कालखण्डमा त्यो बेलाको परिवेश सामाजिक संरचना र समाजमा हुने गरेका गतिविधिअनुसार ठिकै ठानिएका क्रियाकलापहरू यतिखेर काम नलाग्ने अथवा अनुसरण गर्न नमिल्ने खालका पनि छन्। यस्तै म्याद सकिएको औषधि जस्तो काम नलाग्ने बनेको चलन हो, विवाहमा दुलहालाई स्तनपान गराउने चलन।

सोमबार बिहानैदेखि सामाजिक सञ्जालमा एउटा तस्बिर निकै चर्चाको विषय बन्यो। जुन तस्बिर थियो सुर्खेत बाबियाचौरको। जसमा घरबाट जन्ति प्रस्थान हुनुअघि दुलहाले आमाको स्तनपान गरेको दृश्य देख्न सकिन्छ। यो कुरा कैयौंको जिज्ञाशाको विषय बन्यो। त्यो क्षेत्रका केही व्यक्तिहरूले पुरानै चलन भएको कुरा बताए। जहाँ वर्षौ अघिदेखि यस्तो परम्परालाई अँगाल्दै आइएको र बीचमा एदाकदा त्यो चलन छुटेको कुरा पनि सुन्नमा आयो। जेसुकै भए तापनि सामाजिक संजालमा तरङ्ग ल्यायो, उक्त तस्बिरले।

त्यो चलन किन चलाइयो भन्ने कुरा खासै आउन सकेन। किनकि हाम्रा कतिपय संस्कृतिसँग जोडिएका चलनहरू यतिखेर आएर तर्कसङ्गत देखिदैनन्। विज्ञानसँग पनि मेल खान सकिरहेका छैनन्। यस्तो हुँदा के हुन्छ त ? एक खालको प्रश्न खडा भइदिन्छ। यसैक्रममा कवि तथा अध्येता केशव सिग्देल बताउँछन्,‘हामीले यस्ता केही कुराहरूको जस्टिफाइ गर्न नसक्दा पछिल्लो पिँढीका युवायुवतीहरूले संस्कृतिका महत्वपूर्ण पक्षप्रति पनि वेवास्था गरिरहेका छन् र पाश्चात्य संस्कृतितिर तानिइरहेका छन्। बिरालो बाँधेर श्राद्ध गर्ने खालको चलन अपनाउन खोज्दा यस्तै भइदिन्छ।’

सिग्देलकाअनुसार पश्चिमाञ्चलमा पनि थियो यो चलन। तर, त्यहाँ सल तथा पछ्यौरीको पर्दा हालेर आमाले दुलहालाई एकदुई चम्चा गाईको दूध खुवाउने गरिन्थ्यो। जुन कार्य सांकेतिक थियो। यो अलि शोभनीय पनि थियो। तर, एउटा लाठे छोरालाई सबैको सामु आमाले स्तनपान गराउनु र त्यो दृश्य क्यामेरामा कैद गर्नु बिलकुलै शोभनीय देखिँदैन। साथै यसले यसो गर्नुको पछाडिको कारणका बारेमा चित्त बुझ्दो जवाफ पनि दिन सकेको छैन।

यसैक्रममा प्रज्ञाप्रतिष्ठानका उपकुलपति डा.जगमान गुरुङ बताउँछन्, यो खस आर्यहरूको चलन हुन सक्छ। तर, फ्राइडको मनोविज्ञानअनुसार एउटा वयस्क छोरो आमाप्रति र छोरी बुवाप्रति आकर्षित हुन्छन्। अथवा बुवा छोरीप्रति र आमा छोराप्रति आकर्षित हुन्छन्। जसलाई विपरित लिङ्गप्रतिको आकर्षणका रुपमा लिइन्छ। यहाँ एउटा बयस्क छोरो जो दुलाहा बनेको छ उसले आमाको स्तनपान गर्नु उचित ठानिदैन। यसलाई पुरानो चलन भनेर मान्यता दिनु उचित देखिदैन।

वरिष्ठ नाटयकर्मी तथा मादल वादक प्रेमदेव गिरी पनि आफ्नो बिहेमा स्तनपान गरेको र स्तनपान पछाडि आमाले मुरमा सुपारीको दाना राखिदिएको सम्झिन्छन्। तर, त्यतिबेला पर्दा हालिन्थ्यो अरुले देख्न पाउँदैन थिए।

त्यस्तै बागिना समूह सुर्खेतका संस्थापक अध्यक्ष तथा वरिष्ठ नाट्यकर्मी, तथा साहित्यका गणेशदत्त गौतम बताउछन्, यो निकै पुरानो चलन हो। पछिल्ला दिनमा हराउँदै गएको थियो। यतिखेर एकाएक सामाजिक संजालमा तस्बिर देखापर्‍यो। जसको कारण खोतल्दै जाने हो भने आमाको दूधको भारा तिर्ने अर्थात् आजबाट अर्की महिलाको अधिनमा जाँदैछस्। ममत्वलाई नबिर्सेस्। यदी ममत्वलाई बिर्सिस् भने आमाको ममता र स्तनपानको सदा ऋण रहिरहने छ भन्ने फिलिङ दिलाउन खोजिएको हुनुपर्छ।’

समाजका यी परिभाषा र कारणहरूले नयाँ पिँढीलाई चित्त बुझ्दो जवाफ दिन सकेका छैनन्। सिग्देलले भनेझैं यी मात्र बिरालो बाध्ने परम्पराबाट प्रभावित भए जस्ता देखिन्छन्।

‘विवाहमा त हाेइन ब्रतबन्धमा बिसान्तरको बेला जुम्लामा पनि बटुकलाई आमाको स्तनपान गराउँछन्, लेखक तथा सांस्कृतिक अध्येता जुम्लाका तुङ्गानाथ न्यौपाने बताउँछन्। न्यौपानेकाअनुसार बिसान्तर भनेको अर्ति उपदेश हो। ब्रतवन्धनका बेलामा सुदूरपश्चिममा गाइने फागका पंक्ति सम्झिदा आमाबुवाभन्दा बढी दिदीबहिनीको चिन्ता व्यक्त गरिएको देखिन्छ। जस्तै: 

वल्ली नङरी गयै बाला पल्ली नङरी गयै
माझकी नगरी बाला कभै जन गयै 
तै नगरी तेरी बैना हुन्नी 
तो देख्याले तेरी बैना धुरुधुरु रुन्नी

यी पंक्तिहरूमा आमाले नै जोगी भएर भिक्षा माग्न थालेको छोरालाई वल्लो सहरमा जानू पल्लो सहरमा जानू तर बीचको सहरमा कहिल्यै नजानू किनकी त्यहाँ तिम्री दिदीहरू छन् तिमीलाई जोगीको रुपमा देखेपछि तिनले आफूलाई सम्हाल्न नसकेर धुरुधुरु रुनेछन्।

यसरी ब्रतवन्धमा फाग/मागलका माध्यमबाट दिदी बहिनीको महत्व दर्शाउने आमाले छोराको विवाहमा दिदी बहिनी सम्झेको देखिदैन्। किनकी ती दुलही बनेर भित्रिने महिलालाई पनि नन्द आमाजुसँग गर्नु पर्ने व्यवहारको बारेमा कुनै पक्षबाट पनि बताइएको हुँदैन। बुवाको भूमिका पनि उत्तिकै महत्वपूर्ण छ। ती बुवालाई सम्झिने खालको चलन खासै देखिदैन।

यसबाट सजिलैसँग भन्न सकिन्छ कि विगतमा सानै उमेरमा विवाह गर्ने चलन थियो। ७२ महिना अर्थात् ६ वर्ष पुगेपछि ब्रतवन्ध र विवाह गरिहाल्नु पर्ने एकखालको मान्यता थियो मध्य तथा सुदूरपश्चिमतिरको समाजमा। पर नसर्दै (मासकिधर्म नहुँदै) छोरीको कन्यादान गरेमा धर्म कमाइन्छ भन्ने थियो। ६/७ वर्षको उमेरसम्म पनि आमाको दूध चुस्ने गर्थे त्यतिखेरका बालबालिकाहरू। त्यसैले बिहे गर्न थाल्दा अब ठूलो भइस, परिपक्व भइस् अन्तिमपल्ट स्तनपान गर। अब उप्रान्त स्तनपान गर्न पाउने छैनस् भन्ने सन्देश नै हुनुपर्छ त्यतिखेरको त्यो चलन। त्यो सिकाउने चलन नभएर फकाउने तरिका पनि त हुनसक्छ। त्यसैले त्यसलाई चलन अर्थात् संस्कृति नै भनिहाल्नु त्यति सान्दर्भिक होला जस्तो लाग्दैन। एकछिन स्तनपान गर अनि घोडामा चढेर जाऊ हैं भनेर कतै कसैले आफ्नो छोरालाई फकाएको पनि त हुनसक्छ। जसलाई केहीले अनुकरण गरे र संस्कृतिको रुपमा देखापर्‍यो। तर, अहिले आएर २० वर्षभन्दा कम उमेरको विवाहलाई कानुनले नै मान्यता दिएको छैन्। जवान भइसकेपछि विवाह गर्न थालेको छोराले स्तनपान गर्नु त्यति सान्दर्भिक देखिदैन।

घर समाजले व्यक्तिलाई हुर्काउने क्रममा राम्रा कुरा सिकाए जस्तै हामीले पनि संस्कृतिका उचित र राम्रा पक्षलाई मात्र अनुसरण गर्नुपर्ने हुन्छ। बद्लिदो समयअनुसार संस्कृतिमा पनि परिवर्तन हुनु जरुरी छ। हिजोका दिनमा सतीप्रथा अनिवार्य चलन अन्तर्गत मान्य थियो। त्यस्तै नरबलि पनि थियो। छोरी बेच्ने अर्थात् धन खाने चलन पनि थियो। बद्लिदो समयअनुसार आज ती सबै निर्मूल भइसके। त्यसैले हाम्रा संस्कृतिका निर्मूल गर्न बाँकी केही पाटाहरू अझैं देखिन्छन्। जसलाई संस्कृति नभनेर विकृति भन्नु पर्ने हुन्छ।

प्रकाशित मिति: : 2022-06-28 16:40:00

प्रतिकृया दिनुहोस्

    कुनैपनि संस्कृतिको विशिष्ठ महत्व हुन्छ । यस विषयलाई हलुको ढङ्गले लिनु हुँदैन् । विवाहमा जाँदै गरेका छोरालाई आमाले दूध खुवाउनुभित्र गम्भीर रहस्य लुकेको छ । मैंले यसरी नै तिमीलाई दूध खुवाएर पालेका छौं । आमा दूधलाई कहिलेपनि नविर्सनु, आमाको सम्मान सदैव रहनु । अव, तिमी विवाह गर्न जाँदैछौं, ससुरालीमा मेरो मानमा आँच आउने खालका काम नगर्नुलगायतका विषयसँग जोडिएका छन् । महाभारतमा गान्धारीले ९९ पुत्रको मृत्युपछि दूयोधनलाई बुलाएर, तिमी गंगा स्नान गरी नाङ्गै मेरो सामुन्ने आउनु । त्यो आदेशको पालना गर्दै दूर्योधन नुहाएर नाङ्गै आइरहेको बेलामा कृष्णले आमाको नजिक कसरी नाङ्गै पुग्ने भनेर सम्झाएपछि केराको पातले गोप्य अङ्ग छोपेर गान्धारीसमक्ष उपस्थित भए । गान्धारीले आफ्नो आँखामाथिको कपडा हटाएर हेर्दा छापिएको अङ्गबाहेक शरीर चट्टानझैं बलियो भएको थियो । अन्ततः भीमसँगको गदा युद्धमा दूर्योधनको त्यही छोपिएको भागमा गदा प्रहार गरेर मारेको थियो । आमाको आदेशमाथि प्रश्न उठाउनु उचित होईन् । यस्ता संस्कृति मधेशमा पनि थियो । अचेल, हराउन थालेको छ ।

    • एक बर्ष अगाडि
    • prabhash Chandra jha