महाकाली सन्धि भएको २७ वर्षपछि नेपालले पानी पाउँदै

धान दिवसको दिन पारेर बुधबार महाकाली तेस्रो चरणको नहरमा परीक्षणका लागि पानी पठाइँदै

महाकाली सन्धि भएको २७ वर्षपछि नेपालले पानी पाउने भएको छ । भारतीय पक्षले सोमबारदेखि परीक्षणका लागि भन्दै महाकाली तेस्रो चरणको मूल नहरमा टनकपुर ब्यारेजबाट पानी छाडेको हो । भारततर्फ रहेको झन्डै १२ सय मिटर लम्बाइको नहरमा पानी छाडेको आयोजना कार्यालयले जनाएको छ ।

महाकाली सिँचाइ तेस्रो चरण आयोजना कार्यालयका इन्जिनियर शम्भु पण्डितले भारततर्फ बनेको मूल नहरमा पानी छाडेको बताए । ‘सोमबारदेखि भारतीय क्षेत्रमा पर्ने नहरमा पानी छाडिएको छ,’ उनले भने, ‘१५ असारदेखि नेपालतर्फ निर्माण भएको नहरमा पानी खसाल्ने तयारी छ ।’ धान दिवसलाई मध्यनजर गर्दै महाकाली तेस्रो चरणको नहरमा आएको पानीबाटै सिँचाइ गरेर उद्घाटनको तयारीमा रहेको उनले बताए । 

नेपालतर्फ नहर निर्माण भएको झन्डै १६ वर्षमा पानी आउन लागेको हो । ०६३ मा सरकारले ब्रह्मदेवदेखि पूर्वतर्फ नहर निर्माण सुरु गरेको थियो । नेपालतर्फ साढे १८ किलोमिटर नहरमा पानी परीक्षण गरिनेछ । ब्रह्मदेवदेखि मुसेपानीसम्म झन्डै १३ किलोमिटर नहर यसअघि नै निर्माण सम्पन्न भइसकेको छ । मुसेपानीदेखि बगुनसम्म साढे पाँच किलोमिटर नहरसम्मै पानी परीक्षण गरिनेछ । बुधबारदेखि नेपालतर्फको नहरमा पानी परीक्षण गरिने इन्जिनियर पण्डितले बताए ।

प्रकाशित मिति: : 2022-06-28 12:51:00

प्रतिकृया दिनुहोस्