पर्यटनमन्त्री आलेले दिए राजीनामा

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले राजीनामा दिएका छन्।

पार्टी अध्यक्ष माधव कुमार नेपाललाई राजीनामा बुझाइसकेका उनले आइतबार बेलुका मन्त्रालयमा पत्रकार सम्मेलन गरेर राजीनामा घोषणा गरेका हुन्। उनले आफूले पदबाट राजीनामा दिए पनि सांसदको भूमिकामा रहिरहने र विकृतिविरुद्ध मेरो खबरदारी निरन्तर रहने छ। 

'म यहाँबाट बिदा भएर सिंहदरबारबाहिर सांसदको भूमिकामा रहिरहने नै छु। विकृतिविरुद्ध मेरो खबरदारी निरन्तर रहिरहने छ। समयले मागेमा म सुधारका लागि नेतृत्वमा पुनः फर्किने नै छु', आइतबार आयोजति पत्रकार सम्मेलनमा आलेले भने। 

आफूले मन्त्रालयमा २६३ दिन बिताएको भन्दै उनले ति दिनहरु बितेको आफूलाई पत्ता नभएको बताए। उनले आफू आफ्नो कामबाट ९० प्रतिशत सन्तुष्ट रहेको बताए। जनताले आफ्नो काममको समीक्षा गर्ने उनको भनाइ थियो। उनले कागजमा मात्रै काम गरेकाहरु आफ्नो निगरानीमा पर्ने गरेको बताए। 'पिँधमा बस्नेहरुभन्दा टाकुरामा बस्नेहरु सधैं मेरो निगरानीमा परे', उनले भने।

काम गर्दा शक्ति केन्द्रबाट दबाब र प्रभाव आएको भए पनि आफूले त्यसअनुसार काम नगरेको उनको दाबी थियो। 

नेकपा एकीकृत समाजवादीले गत जेठ २२ गते नै आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने निर्णय गरेको थियो। तर, पार्टीको निर्णयलाई प्रधानमन्त्रीले कार्यान्वयन नगरेपछि  पार्टीमा बिबाद देखिएको थियो। यसबीचमा आलेसहितका १० सांसदहरुले पार्टी नेतृत्वलाई विभिन्न माग राख्दै ज्ञापनपत्र बुझाएका थिए। तर आलेसहितका ६ जनाले फिर्ता लिएका थिए। उनीहरुले मन्त्रीबाट राजीनामा नदिने अडान राख्दै आएका थिए। 

प्रकाशित मिति: : 2022-06-26 18:30:00

प्रतिकृया दिनुहोस्