यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनको भाडा घटाएको छ।
इन्धनको मूल्य घटेसँगै विभागले आइतबारदेखि लागु हुने गरी सवारी साधनको भाडा घटाएको हाे।
यसअघि पटकपटक पेट्रोलियम पदार्थको भाडा बढ्दा भाडादर बढेको थियो। विभागले यात्रुबाहक सवारीसाधनमा यसअघि कायम भाडादरभन्दा पाँच दशमलव ४१ प्रतिशत भाडा कम गरेको छ।
अहिले डिजेल प्रतिलिटर रु २९ र पेट्रोल प्रतिलिटर रु २० कम भएकाले त्यसैका आधारमा भाडादर घटाउने निर्णय भएको विभागले जनाएको छ।
पहाडी बाटोमा चल्ने मालबाहक सवारीसाधनमा ६ दशमलव ९७ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारीसाधनमा सात दशमलव ६८ प्रतिशत भाडा घटाइएको छ।
वैज्ञानिक भाडा समायोजन प्रणालीमा इन्धनको मूल्य पाँच प्रतिशत वा सोभन्दा बढीले घटेमा वा बढेमा स्वचालितरुपमा भाडादर परिवर्तन हुने उल्लेख छ। पछिल्लो पटक गत असार ६ मा भाडादर समायोजन गरिएको थियो।