राजनीतिक किचलोका कारण रतुवामाईको बजेट अन्योलमा

मोरङको रतुवामाई नगरपालिकाले बजेट ल्याउन सकेको छैन। स्थानीय तहले असार १० गते नगरसभामार्फत् आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था भएपनि रतुवामाईले राजनीतिक विवादका कारण बजेट ल्याउन नसकेको हो। 

नगरपालिकाले जनप्रतिनिधिहरूबीचको आन्तरिक विवादका कारण बजेट ल्याउन नसकेको हो। 

१७ वटा स्थानीय तह भएको मोरङका बाँकी १६ वटा स्थानीय तहले भने नीति, कार्यक्रम र बजेट ल्याइसकेका छन्। तर रतुवामाई नगरपालिकामा भने विवादका कारण नगरसभा अन्योलमा परेको छ। 

नवनिर्वाचित जनप्रतिनिधि आइसकेपछि नगरमा ३ वटा कार्यपालिकाको बैठक बसे पनि विषयगत समिति निर्माणमा सहमति जुट्न नसकेपछि बजेट अन्योलग्रस्त बनेको वडा–७ का वडा अध्यक्ष राम कार्कीले बताएका छन्। उनले नेपाली काङ्ग्रेसले समिति निर्माण गर्ने विषयका एकलौटी ढङ्गले गर्न खाजेपछि समस्या उत्पन्न भएको बताए। एमालेबाट निर्वाचित वडा अध्यक्ष कार्कीले अघिल्लो कार्याकालमा प्रमुखले एमालेप्रति गरेको ज्यादति यो कार्यकालमा पनि दोहोर्याउन खोजेको आरोप लगाएका छन्।  

बजेट निर्माण गर्न पालिका प्रमुख नागेश्वर सिंहले विषयगत समितिहरू निर्माण नगर्न आफूखुसी गरेपछि कार्यपालिका सदस्यहरूले विरोध गरेका थिए।
 
उपप्रमुख दमयन्ता चुडालले बजेट निर्माण गर्ने कुरामा प्रमुख एकलौटी ढङ्गले लागेको आरोप लगाएकी छिन्। उनले बजेटको निर्माणको विषयमा आफूलाई कुनै सूचना नदिएको बताइन्। 

‘बजेट निर्माण गर्नेबारे हामीसँग कुनै समन्व्य भएको छैन,’ उनले भनिन्, ‘सबै विषयगत समिति बनाएर बजेट निर्माणको विषयमा हामीले सूचना पाउनुपर्छ भन्ने विषयमा हामीले माग गरेका थियौं। त्यो विषयलाई बेवास्ता गरेको भनौं कि कौशलता नपुगेको भनौं हामीलाई सूचना आएको छैन।’

स्थानीय निर्वाचनमा उपमेयरमा गठबन्धन गरेको माओवादीलाई काङ्ग्रेसले धोका दिएपछि कार्यपालिकाको चुनावमा एमाले–माओवादी एक भएका थिए। रतुवामाईमा उपप्रमुखसहित ११ जना एमालेका सदस्य छन्। काङ्ग्रेससँग प्रमुखसहित ५ र माओवादीसँग ४ जना कार्यपालिका सदस्य छन्। माओवादी र एमाले मिल्दा कार्यपालिकामा १५ जना छन्। 

मेयरको अधिकार खोस्न खोजियोः प्रमुख सिंह

रतुवामाई नगरपालिकाका नगरप्रमुख नागेश्वर सिंहले विषयगत समिति आफूले निर्माण गर्न पाउनुपर्ने बताएका छन्। उनले एमाले र माओवादीले बहुमतको आडमा समिति निर्माण गर्न नदिएर मेयरको अधिकार खोस्न खोजेको आरोप लगाएका छन्। 

‘विषयगत समिति निर्माण गर्न ३ पटक कार्यपालिकाको बैठक बस्यौँ,’ उनले भने, ‘एमाले र माओवादी एक भएर मेयरको अधिकार खोस्न खोजेपछि बजेट नल्याएका हौँ।’

एमाले र मओवादीले बहुमतको दुरूपयोग गरेर विषयगत समिति बनाउने अधिकार प्रमुखबाट खोसेर उपमेयरलाई दिन खोजेको प्रमुख सिंहको भनाई छ।  

‘विषयगत समिति निर्माण गर्ने अधिकार मेयरको हो। यसमा बहुमत भनेर हुँदैन्,’ सिंहले भने, ‘कहिलेसम्म मलाई समिति निर्माण गर्न दिइदैँन तबसम्म बजेट आउँदैन्। मैले आफ्नै तरिकाले बजेट निर्माण गर्न पाउनुपर्छ। यो मेरो अधिकारको कुरा पनि हो।’

बजेट निर्माण र समिति निर्माणका विषयमा पुनः छलफल गर्न बोलाउँदा एमाले र माओवादीबाट निर्वाचित कार्यपालिका सदस्यहरू उपस्थित नभएको उनले बताएका छन्।

नेपाली काङ्ग्रेसबाट निर्वाचित रतुवामाई १० का वडा अध्यक्ष भूलबहादुर कार्कीले विषयगत समिति निर्माणमा एमाले बाधक भएको बताएका छन्। कार्यपालिका बैठकमा नियम संवत प्रमुखले लगेको प्रस्तावमा एमालेका सदस्यहरूले असहमति जनाएको उनको भनाई छ।

प्रकाशित मिति: : 2022-06-25 17:08:00

प्रतिकृया दिनुहोस्